+

प्रजातन्त्रको सफलता र सवलता नेतृत्वको दूरदृष्टि र संस्कारमा निर्भर गर्दछ

६ श्रावण २०७९, शुक्रबार ०६:४०

केशवप्रसाद भट्टराई ।
वीपी कोइराला विश्वको प्रजातान्त्रिक आन्दोलनका सम्मान, गौरव र प्रवक्ता हुन् । उनको उल्लेख विना नेपालको मात्र होइन एसियाको प्रजातान्रिक आन्दोलनको इतिहास पनि अधुरो हुन्छ । साहित्यमा समेत विशिष्ट योगदान भएका उनी विश्वको समाजवादी आन्दोलनका पनि एक नायक हुन् । उनको जीवन, संघर्ष र आफ्ना मूल्य र विश्वासहरूको रक्षाका सवालमा उनको अविराम यात्राले स्वयम् विश्वको प्रजातान्त्रिक आन्दोलनलाई गौरवान्वित बनाएको छ । उनको ४० औँ वर्ष स्मृति दिवसको अवशरमा हार्दिक श्रद्धा सुमन सहित मेरो एउटा आलेखका केही पछिल्ला केही अंशहरू सामयिक होला भन्ने सम्झिएर राखेको छु ।

संसारका समुच्च साहित्य, कला, दर्शन, ज्ञान, विज्ञान र प्रविधिको क्षेत्रका उपलव्धिहरु प्रजातन्त्र भन्दा महान छैनन् । प्रजातन्त्र माथि जति आक्रमण र प्रहार हुन्छ त्यति अन्य कुनै प्रणाली माथि हुदैन । किन कि प्रजातन्त्रले नै त्यो अधिकार दिएको हुन्छ । जतिसुकै अनुचित र अन्यायपूर्ण प्रहार भए पनि उत्तेजित भएर प्रतिकार गर्ने विशेषाधिकार प्रजातन्त्रलाई उपलव्ध छैन । आफ्ना हरेक कार्य र निर्णयलाई विधिसम्मत र न्यायपूर्ण बनाउनै पर्ने तर प्रजातन्त्रका विरोधीहरुले यो वा त्यो नाउँमा जुन सुकै उपाय अवलम्वन गर्ने छुट पाउने कारणले प्रजातन्त्र समय–समयमा कमजोर देखिन्छ । एकातिर स्वयम प्रजातन्त्रका विरोधीहरुको पनि सर्वोत्तम सुरक्षा प्रजातन्त्रले गरिरहनु पर्ने अर्कोतिर त्यस्तो सुरक्षाको उपभोग गर्दै उनीहरुले प्रजातन्त्र माथि निरन्तर प्रहार गर्न पाइरहने अवस्थाले प्रजातन्त्रलाई कमजोर बनाइरहेको भने हुन्छ । तर प्रजातन्त्रले म यसो गर्दिन भन्न पाउँदैन । त्यसो भनेको दिन प्रजातन्त्र, प्रजातन्त्र पनि रहदैन । संसारको कुनै प्रजातन्त्र पूर्ण छैन । सबै अभाव युक्त छन । यसको एउटै स्वरुप र परिभाषा छैन । एउटै मन्त्र, उपदेश र सूत्र छैन । प्रजातन्त्रको कुनै धाम र केन्द्र पनि छैन । यसका कुनै अवतार पुरुष छैनन् । कुनै अकाट्य विधि र पद्धति छैन । प्रजातन्त्रको कुनै गीता, बाइबल वा कुरान छैन ।

शासन प्रणालीको अपूर्णतालाई अङ्गिकार गर्दै निरन्तर सुधारको लागि सामूहिक प्रयत्न गर्न पर्याप्त स्थान प्रदान गर्ने, परिवर्तन सँगै आफूलाई अनुकूल संयोजन र सन्तुलन गर्ने प्रणालीले नै प्रजातन्त्रलाई जीवित र शक्तिशाली वनाएको हुन्छ ।

राजनीतिक स्थीरता र सुशासन सुनिश्चित गर्ने उपयुक्त शासकीय स्वरूप राजसँस्थाको उपस्थितिमा बेलायतले संसदीय प्रणाली विकाश गर्यो । स्वतन्त्र भारतका पहिला राष्ट्र–प्रमुख भारतका पछिल्ला ब्रिटिश गभर्नर जनरल लर्ड माउन्टबेटन नै थिए – त्यसैले भारतले संसदीय प्रणाली अवलम्बन गर्यो, नेपालमा राजा थिए र संसदीय प्रणाली यहाँको राजनीतिक आवश्यकता थियो क्ष् बेलायत र भारतको अभ्यासको प्रभाव पनि नेपालमा पर्यो । तर संसदीय प्रणालीले नेपालमा राजनीतिक स्थीरता नदिएकै हो । कहिले कहीं राजा र बाह्य शक्तिहरुको खेलो–फड्को रह्यो होला । विपक्षको सत्ताकांक्षाको अनुचित दवावले पनि काम गर्यो होला तर मूलतः सत्तापक्ष भित्रकै विभिन्न नेता र सांसदहरुको अराजक राजनीतिक व्यवहार र महत्वाकांक्षाका कारण नेपालले राजनीतिक स्थीरता पाएन । राजनीतिक सुधार, सुशासन, र आर्थिक विकाश, संवृद्धि निर्माण र ब्यापक रोजगारीका अवशर निर्माण गर्नमा भन्दा सांसदहरु वीचको खेलो–फड्को मै र मन्त्री बन्न चाहनेहरुको महत्वाकांक्षालाई सुम्सुम्याउनमा नै प्रधानमन्त्रीले सबै समय लगाउनु पर्ने, सांसदहरुको किन वेच हुने र त्यसको लागि विदेशी राजनीतिक ÷आर्थिक सहयोगसम्म गुहारिने अभ्यास भित्र स्थीरता र सुशासन वाहियात नारा सिबाय केही रहेन । फलतः संसद उत्तम नीति र कानून निर्माणको थलो नभएर सत्ताको सट्टा बजारको केन्द्र मात्र बन्न पुग्यो । संसद र सरकार दुवै असफल हुन पुगे । देशले गर्व गर्ने न राम्रो सांसद पायो न मन्त्री र प्रधानमन्त्री । भारतमा नेहरु लगातार १६ वर्ष प्रधान मन्त्री रहे । इन्दिरा गान्धी लगातार १२ वर्ष प्रधान मन्त्री रहिन । मनमोहन सिंह लगातार १० वर्ष प्रधानमन्त्री रहे , नरेन्द्र मोदी सात वर्षदेखि प्रधानमन्त्री छन् । तर इन्दिरा गान्धी र राजीव गान्धीको वीचमा र राजीव गान्धी र नरसिंह रावको भारतले राजनीतिक अस्थीरताको कहालिलाग्दो अवस्था बेहोर्यो र संसारको सबै भन्दा ठूलो प्रजातन्त्र र जनसंख्याको आधारमा संसारको दोश्रो ठूलो देश त्यही अस्थीरताको अवधिमा टाट पल्टने अवस्थामा पुग्यो । नियतिले कसैलाई काम गर्ने समय दिन्छ र त्यो समयमा गरेन भने नगर्ने पत्रु प्रमाणित गरिदिन्छ ।
बलिया संस्थाहरुः वलियो प्रजातन्त्र
प्रजातन्त्र भनेको अल्प संख्यकहरुको पूर्ण सुरक्षा र सम्मान गर्ने बहुमतको शासन हो । ड्यानी रोड्रिकका अनुसार यस्को लागि दुई प्रकृतिका सवल र सक्षम संस्थाहरु चाहिन्छन् – पहिलो जन भावनालाई बोक्ने प्रतिनिधि मूलक संस्थाहरु जस्तो राजनीतिक दल, संसद, स्वायत्त स्थानीय शासन, र निर्वाचन प्रणाली र दोश्रो सरकारलाई अधिकारको दुरुपयोग गर्नबाट रोक्ने नियन्त्रणकारी संस्थाहरु जस्तै स्वतन्त्र र सर्वोच्च न्यायालय, स्वतन्त्र प्रेस, संवैधानिक र अन्य नागरिक संगठनहरु । विकासोन्मुख देशहरुमा सरकार र राजनीतिक दलहरु सत्तामा पुग्न र टिक्न जे र जस्तो सुकै अस्वस्थ्य राजनीतिक र भ्रष्ट क्रियाकलाप गर्न र प्रेस तथा न्यायपालिकाको स्वतन्त्रता माथि अंकुश लगाउन पछि नपर्ने र जनताका न्युनतम आर्थिक अपेक्षा पनि पुरा हुन नसक्ने अवस्थामा स्वच्छ छविका इमान्दार अधिनायकवाद तर्फ सर्वसाधारण जनताको लगाव बढ्ने अवस्था स्वतः निर्माण हुन जान्छ । तर यो अवस्था स्वयममा आत्मघाती हो र संसारका सबै देशमा ली कुवान यु, पार्क चुंग ही र देंग सियाओ पेंग जन्मन सक्दैनन क्ष् अपवाद नियम हुदैनन् । हुन सक्दैनन ।

त्यसैले प्रजातन्त्रका विकृतिहरुको अन्त्यको लागि छोटो अवधिको पनि अधिनायकवादी विकल्पले अपवादको अवस्थामा बाहेक राष्ट्र र जनता समक्ष झन् ठूलो त्राषदी खडा गरेको छ । तर यसो भन्दैमा प्रजातन्त्र भ्रष्ट र असक्षम भयो भने कसैले त्यस्तो विकल्पलाई निषेध गर्न पनि सक्दैन । प्रभावकारी र बलिया प्रजातान्त्रिक संस्थाहरु रातारात निर्माण हुँदैनन् र शक्ति र सत्तामा रहेकाहरु त्यस्तो सँस्था निर्माण गर्नमा रुचि पनि राख्दैनन् । तर यदि राजनीतिक प्रतिपक्षी बलियो छ र ऊ शक्तिमा रहेको दललाई त्यस्ता निष्पक्ष र प्रभावकारी सँस्था निर्माणमा दवाव दिन सक्छ भने एक त त्यस्तो सँस्थाले सरकार र अन्य शक्तिशाली वार्ग र समूहहरुको अधिकारको दुरुपयोगबाट सर्वसाधारण जनता र स्वयम प्रतिपक्षको रक्षा गर्दछ र आज सत्तारुढ दल भोली प्रतिपक्षमा पुगेको अवस्थामा उसैको पनि रक्षा गर्दछ – “धर्मो रक्षति रक्षित . . . ।
 पर्यावरण सुरक्षा र निश्चित स्तरको आर्थिक विकासले मात्र प्रजातन्त्रलाई धान्न सक्छ

हाम्रा पूजा विधिहरूमा मात्रै होइन पितृकार्यहरूमा समेत हामीसुर्य, चन्द्र, ग्रह, नक्षत्र , पृथ्वी, आकाश, जल, नदी, समुद्र, पर्वत, वृक्ष,वनष्पति, औषधिसवैलाई तर्पण दिन्छौँ, पुजा गर्दछौं । पृथ्वी, नदी प्रकृति आदिलाई माता मान्दछौँ । तर व्यवहारमा ??? समस्या त्यहीं छ ।
हाम्रो विकाश नीति र पर्यावरण सन्तुलनका बीच तालमेल नभएको अवस्थाले वातावरण सम्वन्धि विविध खाले विकराल समस्याहरु विश्वव्यापी रुपमा देखापरिरहेका छन । यदि सबै विकासोन्मुख राष्ट्रहरुले पनि विकसित देशहरुले अवलम्वन गरेकै पर्यावरणीय पद चिन्ह अवलम्वन गर्ने हो भने त्यसको लागि हामीलाई अरु नौ वटा पृथिवीले पनि पुग्दैन भनेर यू.एन.डी.पी.ले २००७÷२००८को मानव विकाश प्रतिवेदनमा भनेको छ । नौ वटा प्रिथिवीले पनि आवश्यकता गर्न नसक्ने आर्थिक विकाश र वृद्धि नीतिले विनाश, आन्तरिक र वाह्य युद्ध र प्राकृतिक विभीषिकालाई मात्र आमन्त्रण गर्दछ । तर वातावरण संरक्षणको साथै प्रजातान्त्रिक स्थिरताको लागि पनि एउटा निश्चित स्तरको आर्थिक विकाश अत्यावश्यक छ । एकजना पोलिश मूलका अमेरिकी अध्येता आडम प्रेजेवोर्सकीका अनुसार १००० डलर भन्दा कम प्रतिव्यक्ति आय हुने मुलुकमा प्रजातन्त्र संधै संकटग्रस्त रहन्छ । १००१ देखि ३००० डलर बीचको प्रतिव्यक्ति आय हुने मुलुकमा अलि स्थीर हुन्छ । ३००१– ६०५५ को बीचको आय भएका मुलुकमा धेरै हदसम्म प्रजातन्त्र स्थीर र गतिशील हुन्छ र ६०५५ भन्दा माथि प्रति व्यक्ति आय भएका मुलुकमा प्रजातन्त्र असफल भएकै छैन । त्यसकारण पर्यावरण संरक्षण, प्रजातान्त्रिक स्थिरता र आर्थिक विकाश अन्योन्याश्रित छन ।
 स्वतन्त्र नागरिक समाज र सवल तथा सफल प्रजातन्त्र
स्वतन्त्र नागरिक समाज प्रजातन्त्रको आधार शक्ति हो । नेपाल यस्तो देश हो जहाँ स्वतन्त्र न्यायालयमा काम गर्ने न्यायाधीश देखि संवैधानिक प्रकृतिको मानव अधिकार आयोगका पदाधिकारी सम्म कुनै दल विशेषसंग निकट रहेकै कारण दलहरुको भागवण्डामा परेर पदमा पुग्दछन् । प्रजातन्त्रलाई दलहरु जत्ति आवश्यक हुन्छन दलीय आग्रहबाट मुक्त व्यक्ति र नागरिक र कानूनी संगठनहरु पनि त्यत्तिकै आवश्यक हुन्छन् । फिलिप मोहरका अनुसार प्रजातन्त्र स्वतन्त्र नागरिक समाजमा आधारित हुन्छ र प्रजातन्त्र र नागरिक समाजको स्वतन्त्र कार्य संचालनको लागि सरकारको नियन्त्रणबाट मुक्त आर्थिक साधन र श्रोतहरु आवश्यक हुन्छन । तर प्रजातन्त्र र स्वतन्त्र नागरिक समाजको विकाशको आधार भनेको स्वतन्त्रता र समानताको एउटा उत्तम सन्तुलन हो ।
निष्कर्ष
प्रजातन्त्र मानव सुख, प्रगति र सम्वृद्धिको आधार हो, त्यसैले यो सबै नागरिक, सरकार र अन्य राज्य अंगहरुको व्यक्तिगत र सामूहिक जिम्मेवारी हो । जव सम्म प्रजातन्त्र मानिसको विश्वास र संस्कृतिको अंग बन्न सक्दैन यस्को सफलता पनि सुनिश्चित हुँदैन । यस्को लागि राज्य, सरकार र राजनीतिक दलहरुले आफ्ना हरेक महत्वपूर्ण निर्णयहरुमा जनमत बुझ्ने नियमित र वैज्ञानिक प्रणाली अवलम्वन गरेर र सो अनुसार निर्णयमा सुधार र परिमार्जन गर्ने स्वचालित अभ्यास अवलम्वन गर्नु पर्दछ । प्रजातन्त्रका राम्रा अभ्याश जहाँबाट पनि सिक्न सकिन्छ तर आफ्नो परिवेश र संस्कृति अनुसारको प्रजातन्त्र आफैंले विकाश गर्नु पर्दछ । र अन्तमा प्रजातन्त्रको सफलता र सवलता नेतृत्वको दूरदृष्टि, स्वच्छ छवि, नेतृत्व क्षमता, चरित्र र संस्कारमा निर्भर गर्दछ । त्यस्तो नेतृत्व आफ्नै समाज र राष्ट्रले विकास गर्नु पर्दछ ।
समाप्त