— ठाकुर पोखरेल ।
६० वर्षे लम्पसार नेतृत्वका चुरिफुरी बाट अब देशमा सुशासन र समृद्धिको यात्रा पुरा हुदैन !
– सर्वमान्य राजनीतिक पद्दति, राजनीतिक स्थिरता र सुशासन हामी नेपाली जनताले देखेकै छैनौ भन्दा कुनै फरक पर्दैन।
– दूरदर्शी र क्षमतावान नेतृत्व नेपाली जनताको तिर्सनामा मात्र सीमित भयो।
– वृद्ध बा हरुले राजनीतिक मूलधारबाट कहिले सन्यास लिने छन् भन्ने कुराको अत्तोपत्तो छैन।
युवासँग हाम्रो चाहना -:
”खुला सोच, विनम्रता, सहन्शिलता सहित युवाले आफ्नो जिम्मेवारी निर्वाह गर्न जरुरी छ । अबको युवा नेतृत्वलाई अहिलेका नेतृत्वले गरेका गल्ती दोहोर्याउने छुट कदापि हुनु हुदैन।” विश्वमा आफ्नै अस्तित्व बोकेका र लामो इतिहास कायम राखेका राष्ट्रहरू मध्येको नेपाल पनि एक हो। लग भग ५००० वर्ष पुरानो सामरिक ऐतिहासिक महत्व बोकेको र संसार लाई नै कला र सभ्यता वारे सवल पाठ सिकाएको मुलुक अब ति विश्वका सुशासन र सम्पन्न देशहरूमा हरुवा, चरुवा , नोकर सप्लाई गर्ने ! नराम्रो शब्द तर यथार्थमा भन्नुपर्दा मानव विक्री गर्ने देशमा रुपान्तरण भएको छ ! शीर्षस्थ नेतृत्वले युवालाई आन्दोलन, संघर्ष, तोडफोड, सभा–सम्मेलन, शक्ति प्रदर्शन, प्रतिरोधजस्ता कामहरुमा केवल एउटा साधनको रुपमा प्रयोग गर्छन् तर युवाहरुको नेतृत्व विकासको सवालमा पछाडि पार्ने दुष्प्रयास एवं कुचेष्टा गर्छन् । खोला तर्न प्रयोग गरेको छडी खोला तरेपछि किनारामा अलपत्र फाल्ने बानी नै परेको छ । भाषण र गफ जति नै राम्रो गरे तापनि अधिकांश शीर्ष नेताहरुलाई युवा वर्गको आलोचनात्मक चेत मन पर्दैन । बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चात् पनि नेताहरुले विकास र परिवर्तन भनेको पहिलो दलका पहिलो लाइनमा रहेका व्यक्तिका लागि मात्र हो भन्ने बुझे।”
अथाह स्रोत साधन माथि दरिद्रता -:
समृद्धिको बाटो कुरेर बस्न बाध्य छ । अथाह स्रोतसाधन हुँदाहुँदै पनि हाम्रो समृद्धिको सपना पूरा हुन सकेन जबकि विश्व समुदायमा हामीसँगै आधुनिक इतिहासमा प्रवेश गरेका कोरिया, सिंगापुर, मलेसिया, भारत जस्ता राष्ट्र समृद्धिका मामिलामा निकै अगाडि बढिसक्दा हामी समृद्ध राष्ट्र त परै जावस्, समाजका हरेक पक्षमा समस्याग्रस्त राष्ट्रका रूपमा खडा भएका छौं । हाम्रो देशमा अथाह स्रोत साधन भएर पनि दरिद्रता बन्न बाध्य छौं।
सर्वमान्य राजनीतिक पद्दति र स्थिरता हामी नेपाली जनताले देखेकै छैनौ । दूरदर्शी र क्षमतावान नेतृत्व हामी नेपाली जनताको तिर्सनामा नै सीमित भएको छ । हाम्रो विकासका पूर्वाधार निर्माण, स्तरीय जीवनशैली, सुविधायुक्त गाउँबस्ती, स्वच्छ सफा सहर, स्तरीय शैक्षिक र स्वास्थ्य संस्थाका सपना त सपना मै सीमित भएका छन् । हाम्रा अनगिन्ती सम्भावनाहरू उपयोग हुन नसकेर थन्किएका छन् । संसारका अन्य देशको तुलनामा सभ्यताको यति लामो इतिहास बोक्दा बोक्दै पनि समाज विकासको दृष्टिकोणबाट किन नकारात्मक छ नेपाल ? आखिर के कारणले सम्भव हुन सकेन त वर्षौंदेखि समृद्ध नेपालको परिकल्पना ? यो प्रश्नको बारेमा बहस हुन अझै बाँकी छ । यतिबेला नेपालमा संगठित एवं परिपक्व युवा नेतृत्वको खाँचो र खडेरी यहीँनेर देखिन्छ ।
स्वामी विवेकानन्दले भनेका थिए– कुनै पनि देशको समृद्धि त्यो देशको युवा शक्तिले निर्धारण गर्दछ । युवा नै देशको शक्ति हो। त्यो भनाइ मै सत्यता पाइन्छ भने कतै नेपालले वर्षौं देखि युवा शक्तिलाई आज सम्म पनि मुलुकको समृद्धिमा लगाउन नसक्नु नै हामी नेपालीले दुर्भाग्य भोगिरहेको कारण होइन ? विश्व इतिहासका घटनाक्रम केलाउँदा दोस्रो विश्व युद्ध पछाडि मात्र देशहरू विकास हुँदै समृद्ध राष्ट्रका रूपमा स्थापित भएका छन् । अझ सन् १९५० बाट बिकास र समृद्धिको युगले तिब्रता पाएको हो । जनसंख्या थोरै भएको राष्ट्र, पहिलो विश्व युद्धमा करिब साढे दुई लाख र दोस्रो विश्व युद्धमा करिब ४ लाख नेपाली युवाहरूलाई विदेशी झन्डामुनि गोर्खा सैनिकका रूपमा पठायौं।
तथ्याड्कलाई हेर्दा विश्व युद्धमा गोरखाली फौज ३५५ हताहतीमा परे, बचेका ६५५ मध्ये अधिकांश विदेशमै हराए ! यसको कारण आजसम्म कुन चाहिँ पार्टी र तीनका नेतृत्व बाट खोजियो ?
यसरी संसारका हरेक देशमा युवा शक्तिलाई परिचालन गरी देश विकास र चुनौतीहरु सामना गर्ने सामर्थ्य राखेका मुलुक असाध्यै सम्पन्न र सहासिक अवस्थामा पुगिसकेका छन् । आज भन्दा ४० वर्ष अघि नेपालमा त राजनीति र विकासमा लाग्ने युवा शक्ति नै थिएनन् । यीनै राजनीतिक दलका ठेकेदारहरुले हामी युवालाई नै परिवर्तनका संवाहक मान्छौं, युवालाई नै समृद्धिको मेरुदण्ड मान्छौं, अनि फेरि तिनै युवाको पसिना बाहिर बेचेपछि कसरी सम्भव हुन्थ्यो त समृद्ध देशको परिकल्पना ? युवा आफ्नै देशमा जागरुक र क्रियाशील भएमा त्यो राष्ट्र विकास नभएको कुनै अपवाद छैन । आज पनि दैनिक हाम्रा १५०० युवा बिदेसिन बाध्य छन, ४५ लाख युवा विदेशी सकेका छन् । देशमा भएका अधिकांश युवा सजिलै देश छोडेर जान तयार हुन्छन् । विदेश बस्न पाउनुलाई सबैभन्दा ठुलो सफलता मान्छन् । नेपाललाई आज पनि विदेशीका लागि जनशक्ति उत्पादन गर्ने थलो बनाइँदै छ । आज सानो उमेरदेखि नै एउटा बालकलाई उसको अस्तित्व यो देशमा नभई बाहिर देखाइन्छ, विद्यालय जाँदा उसको कार्यस्थल यहाँ नभई विदेशमा खोज्न सिकाइन्छ । हामी श्रमको सम्मान गर्न आफ्नै देशमा किन नसकेको ?
निष्कर्षमा युवा शक्ति लाई सत्तामा:-
मूलत: विगतदेखि वर्तमानसम्म आइपुग्दा जनमुक्ति, जनजीविका अनि राज्य स्वाधीनताका लागि निरंकुश शासनका दानवीय छायालाई परास्त गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको विशाल राजमार्ग निर्माण गर्ने कार्यमा नेपाली युवाहरूले प्रदर्शन गरेको वीरता विश्वकै लागि अनुपम एवम् ऐतिहासिक सन्देश बन्न पुगेको थियो। अब वैकल्पिक राजनीति मार्फत जनजीविका सुधार्न, सुशासन, समृद्धि हुदै समुन्नत समाजवाद का लागि युवाहरुले पुराना दलहरुका वृद्ध लम्पट नेताहरुलाई परास्त गर्न अग्रपंक्तिमा राजनीतिक चेतना सहित उभिनुपर्छ। चुनाव मार्फत विदा दिनैपर्छ ।


