+

नेपालको त्यतिखेरको अन्तर्राष्ट्रिय व्यक्तित्वको स्तर के हो ?

१० श्रावण २०७९, मंगलवार ०३:४१

केशवप्रसाद भट्टराई ।
बंगलादेशको इतिहासको त्यो क्षणमा हेनरी किसिन्जर र राष्ट्र सङ्घका लागि चीनका राजदुत र पछि विदेश मन्त्रीका वीचको वार्तामा नेपालको सन्दर्भको अर्थ के होला ?
१. १९६२को चीन भारत युद्धमा समस्त उत्तरपूर्व भारतलाई झन्डै पूर्ण नियन्त्रणमा लिएको चीनियाँ फौज भारतीय कम्युनिस्ट पार्टीहरूको प्रेरणा र प्रोत्साहनमा कलकत्ता सम्म आइपुग्ने आशंका भारतीय सेना र सरकारलाई थियो । त्यसैले प्रधानमन्त्री नेहरूले अमेरिकी राष्ट्रपति केनेडी समक्ष चीनियाँहरूसँग लड्न अमेरिकी लडाकु विमान, क्षेप्याश्त्र सहितको अमेरिकी सेना माग गरेर पठाए । बेलायत र क्यानडासँग पनि त्यस्तै माग भयो ।

केनेडीले तत्काल क्षेप्याश्त्रहरू बाट सुसज्जित अमेरिकी लडाकु विमान पठाए । विमान वाहक युद्ध पोत ( जंगी बेडा पनि बंगालको खाडीमा प्रवेश गर्यो । त्यसको लगत्तै चीनले एकतर्फी युद्ध विराम घोषणा गर्यो। उत्तर पूर्वी भारतबाट पछि हट्यो तर लद्दाखको अक्साइ चीनको ३८ हजार बर्ग किलोमिटर क्षेत्र आफ्नो नियन्त्रणमा नै राख्यो । उक्त क्षेत्र भएर तिब्बत र सिञ्जियाङ्लाई जोड्ने राजमार्ग गएको छ । त्यही राजमार्गले तिब्बत र सिञ्जियाङ्लाई चीनको बाँकी भूभागसँग जोड्दछ । त्यही बाटो बनाउन पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरको पाँच हजार बर्ग किलोमिटरको भूभागलाई पाकिस्तानले चीनलाई दिएको छ । भारत चीन सम्बन्धमा यी दुई सवाल जटील र चुनौतीपूर्ण रहेका छन् ।

२. १९६२को त्यही युद्धदेखि नेपालको कालापानीमा भारतीय सेना छ ।

३. १९६२को एक दशक भित्रै १९७१मा शक्ति राष्ट्रहरूको सम्बन्धमा आनका तान फरक पर्यो । ६२को युद्धमा सोभियत सङ्घ चीनको पक्षमा थियो । तर बंगलादेश युद्धमा भारत र सोभियत सङ्घ एक पक्षमा थिए र चीन र अमेरिका अर्को पक्षमा । अमेरिकाले बारम्बार उत्तर तिरबाट भारतमाथि आक्रमण गर्न चीनलाई उक्साई रह्यो । भारतमाथि रणनीतिक दवाव निर्माण गर्न सातौँ जंगी बेडालाई बंगालको खाडीमा पनि पठायो । तर भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी टस मस भइनन् । उनलाई सोभियत सङ्घको बलियो आड थियो । सोभियत सङ्घले चीनसँगको सीमानामा आणविक क्षमता सहितको ठूलो सैन्य शक्ति तैनाथ गरेको थियो । हिन्द महासागरमा पनि उसले आफ्ना लडाकु पानी जहाज र पनडुब्बी पठाइसकेको थियो ।

४. पाकिस्तानको विभाजन र स्वतन्त्र राष्ट्रको रूपमा बंगलादेशको उदयलाई रोक्न आफूहरूको बुतामा नरहेकोमा त अमेरिका र चीन विश्वस्त थिए । अब उनीहरूको लक्ष पश्चिम पाकिस्तानको सुरक्षा थियो । पाकिस्तानसङ्ग एक हप्तालाई पुग्ने तेल पनि थिएन । कराची बन्दरगाहको तेल भण्डारलाई भारतले ध्वस्त पारिसकेको थियो । उसका सवै विमान र ट्यांक बेकार हुने अवस्थामा पुगेका थिए । अमेरिकाले इरान र जोर्डानसँग रहेका अमेरिकी लडाकु विमान र हतियार पाकिस्तानलाई दिन आग्रह गरेका थिए । पश्चिम पाकिस्तानमाथि आक्रमण गरेर उसको सैन्य क्षमता ध्वस्त पार्ने र पाकिस्तान नियन्त्रित काश्मिरको दक्षिणी भागलाई पुनः आफ्नो नियन्त्रणमा लिने भारतको रणनीतिक लक्ष रहेको अमेरिकाको विश्वास थियो । त्यही क्रममा अमेरिका र सोभियत सङ्घवीचको वार्ताको परिणामस्वरूप भारत पश्चिम पाकिस्तानमा आक्रमण नगर्न र पाक नियन्त्रित काश्मिरलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयाश नगर्न सहमत भएको थियो ।

५. सो भन्दा अघि डिसेम्बर १०, १९७१मा अमेरिकी राष्ट्रपति निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जर ( पछि विदेश मन्त्री) र राष्ट्र सङ्घका लागि चीनका राजदुत र पछि विदेश मन्त्री हुवाङ् हुवा वीच लामो वार्ता भएको थियो । सो वार्ताको क्रममा हामीले केही गर्न सकेनौ भने इन्दिरा गान्धीले बङ्गलादेशलाई भुटान र पाकिस्तानलाई नेपाल जस्तै बनाउने छिन भनेर उल्लेख गरेका छन्

(स्रोत अमेरिकी विदेश मन्त्रालयद्वारा दक्षिण एसिया संकट शीर्षक अन्तर्गत त्यस्ता वार्ता र पत्राचारहरुको संकलन खण्ड ११ को दस्तावेज नं २७४)
६. मेरो जिज्ञासा पाकिस्तानलाई नेपाल जस्तै बनाउने भनेको के हो ? नेपालको त्यतिखेरको अन्तर्राष्ट्रिय व्यक्तित्वको स्तर के हो ? के थियो ? स्मरण रहोस त्यतिखेर नेपालमा राजा महेन्द्र शासनमा थिए । यसबारे विज्ञ र विद्वानहरूको केही व्याख्या र टिप्पणी छ होला, हुनु नै पर्दछ ।
परराष्ट्र मन्त्रालय सम्हालेका मन्त्रीहरू छन्, सचिवहरू छन् , राजदुतहरू त छँदै छन् , अझ दल पिच्छे नै राम्रै संख्यामा छन् । उनीहरूले पक्कै बुझेका छन् , त्यसको व्याख्या गरेका ÷ जानेका छन् । यो अज्ञानी त्यो जान्न चाहन्छ ।