रञ्जनकुमार दाहाल ।
कहिले काटिने होला यो डाँडा खै ! कस्तो हतार नलागेको ? आगामी जनवरीमा शुरु हुने भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल को ठूलो छेकबार यो डाँडा कहिलेसम्म काटिन्छ ? अर्को कुरा, पोखरामा अन्तर्राष्ट्रिय उडान अनुमतिको आव्हान गर्न ढिला भएन ? पोखरा अन्तराष्ट्रिय विमानस्थल र भारतीय शहरहरू जोड्ने योजना के के छन्, भारतसित असीमित उडान सम्झौता गरियो त ? चीनको २०० वटा अन्तर्राष्ट्रिय विमानस्थलसित जोडिन र प्रतिहप्ता उडान संख्या लिमिट हटाउन के के प्रगति भयो ? पोखरा विमानस्थल भारत र चीनका तीन अर्ब जनसंख्याको लागि नै बनेको हो भनेर हामीले कहिले बुझ्ने? सन् २०१९ मा चीनबाट विदेश घुम्न जाने १५ करोड ५० लाख चिनियाँहरु थिए ।
त्यसैगरी ५ करोड भारतीय विदेश घुम्न गएका थिए । त्यो २० करोड विदेश घुम्ने चिनियाँ र भारतीयहरु मध्ये १ प्रतिशत मात्र पोखरा ओराल्ने योजना हुने हो भने पोखरा र देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने थियो । संगै लाखौं नेपालीको पसिना बगेर सिंचित धर्ती अरबका विदेश घुम्ने पर्यटकलाइ पोखरा ल्याउने कुनै योजना बन्यो कि बनेन ? अरबियन मुलुकबाट सीमित सख्यामा आएका पर्यटकले कति खर्च गर्छन हेर्न मन लागेको छ भने मलेसियाको पेनाङ र इण्डोनेशियाको बाली टापुहरु हेर्न जानुहोस् ।
अरेबियनहरु हिन्दु राष्ट्र घुम्न जादैनन् भन्ने भ्रम पनि राखिन्छ। तर, इण्डोनेशियाको बालीमा नेपालको जस्तै हिन्दूहरुको जनसंख्या अनुपात बढी छ । पोखरामा सौखिन अरवियन र चिनियाँ पर्यटकहरुको लागि योजनाहरु तयार पार्न सकिन्छ कि सकिंदैन ? होमस्टे को सोचले मात्र ति पर्यटकहरु पोखरा आउदैनन् । एरपोर्ट तयार भएर पनि भैरहवा एरपोर्टको जस्तो प्रयोगविहीन भएर टुलुटुलु हेर्न नपरोस् भनि यत्तिको प्रश्न राखें । समयमै सोचौं !


