जेपी गुप्ता ।
कुरो सानो हो । तर मनमा गहिरो गरी लाग्यो । अमृत अर्याल मेरा मोरंग कलेजकालिन साथी भएर लेखेको होइन, अपितु मोरंग जिल्लामा काँग्रेसको कित्ताबाट सर्वाधिक लोकप्रिय र सदैब जनसम्पर्कमा रहने नेता हुन् भनेर अधिकांशले मानेको हुनाले पनि लेखेको हुँ ।
मोरंगको ५ नम्बर निर्वाचन क्षेत्रका उनी यसअघि निर्वाचित सांसद थिए । यसपछिको निर्वाचनमा उनी पराजित भएपनि सबभन्दा बलियो प्रतिद्वन्द्वी उनी नै थिए । यस पश्चात उनी निरन्तर ५ नम्बर क्षेत्रका मतदाताका सम्पर्कमा रहेका हुन् । काँग्रेसको १४औं महाधिवेशनको क्रममा ५ नम्बर क्षेत्रमा अधिकांश निकायहरूमा सर्वसम्मत ढंगबाट पार्टी प्रतिनिधि चयन भयो। उनी नेकाका निर्वाचित केन्द्रीय सदस्य पनि हुन् । यो त केही बिवरणहरू भए। यसले देखाउँछ कि आउने संसदीय निर्वाचनमा मोरंग ५ नम्बर क्षेत्रमा उनी विजयी हुनका लागि काँग्रेसका सर्वाधिक संभावना भएका नेता हुन्।
अब मैले भन्न खोजेको कुरा, हिजो मात्र कसैले मोरंग ५ नम्बर संसदीय क्षेत्रबाट अमृत अर्याल नेकाको उम्मेदवार हुने निश्चित छ भनेर फेसबुकमा लेखेका थिए । धेरैले यसको स्वागत गर्दै प्रतिकृया जनाएका थिए। आज स्वयं अमृत अर्यालले फेसबुकमा लेखेका छन् कि ‘मोरंग ५ नम्बर मा उनी नेकाको उम्मेदवार हुने पार्टीले कुनै आधिकारिक निर्णय गरिसकेको छैन।’
अमृत अर्यालको यति भनाईका लागि मैले प्रतिकृया स्वरूप केही लेख्नु जरूरी थिएन। लेखे यस कारणले कि, अहिले काँग्रेसले स्वीकारेको चुनावी गठबन्धनका लागि मोरंग ५ नम्बर क्षेत्र उपेन्द्र यादवको पार्टी जसपाले हत्याउने निश्चित छ। यस्तो आम बुझाई छ। यहाँबाट उपेन्द्रले पनि चुनाव लडेका थिए। जयराम यादव यहीबाट प्रदेश सभा सदस्य छन्। यही क्षेत्रको भरमा गत स्थानीय निर्वाचनमा उपेन्द्रका छोरा गठबन्धनका तर्फबाट महानगरपालिकामा उपमेयरको उम्मेदवार थिए। अपमानजनक रूपमा पराजित भए। अब संसदीय चुनावमा जसपाले यही क्षेत्रको माग गर्नेछ। यसर्थ, अमृतले बुझेको हुनुपर्छ कि गठबन्धनको इज्जतका लागि उनले शहीद हुनुपर्नेछ। उनी आत्मबल, साहस तथा लोकप्रियताको धरातलीय यथार्थताको आधारमा “म उम्मेदवार हुन्छु नै” भन्न सकेका छैनन्।
अमृतका पिता जी मुलुकका प्रजातान्त्रिक आन्दोलनका स्तुत्य सेनानी थिए। स्वयं दशौं पटक जेल जीवन बिताए। उनका जेठो दाई बिनोद अर्याल काँग्रेस नेतृत्वको सशस्त्र कारबाहीमा आफ्नो साख्य बैनी ज्वाईलाई(उनी प्रहरीमा थिए) हरिपुर काण्डमा गोली हानी मारे, बिनोद अर्याल बिमान अपहरण काण्डका नायक पनि हुन्। अमृतका माईलो दाइ मदन अर्याल राष्ट्र बैंकका कर्मचारी थिए। गिरिजाबाबुको भनाईमा परी विराटनगरको राष्ट्र बैंकबाट काठमाण्डू जान लागेको ३६ लाख नेरू बारे उनैले जानकारी गराए अनुसार बिमान अपहरण भयो। उनी बर्षौं जेल परे, जागिर गयो, आजीवन दुखःमा छन्। साईलो दाई मुन्नु अर्याल ८ बर्ष भारत निर्वासनमा रहें, भारत बंगालको आसनसोल निर उनी उपर गोली प्रहार गरियो। बाँचे जीवित छन्। अमृत स्वयं पटकौं जेलमा रहे। सुशील कोइरालाका भाइ अशोक कोईरालासंगै उनलाई पनि डंडामा कपडा बेरी, सो कपडामा धुलो खुर्सानी लगाएर उनको पनि गुदद्वारमा पसाईयो। यसमा पिडीत एक जना बादल दंगाल बौलाएर मरे। अर्का पनि मरे। अमृत र अशोक कोईराला धेरै साथीहरूको सान्तवनाका कारण बाँचे, अशोक कोइरालाको मृत्यू भयो। अमृतको कथा म लेख्दैछ। म भुक्तभोगी हुँ, थुनामा थिए, यस खुर्सानी काण्डमा पिडीत पारिएक फेरि थुनामा पुर्याइँदा त्यहाँ अमृतलाई माया गर्ने, भरोसा दिने मसंगै थिएँ मोरंगको थुनामा।
यो अमृत जो जनप्रिय पनि छ। चुनाव जितेर सिद्ध गरेको छ कि फेरिपनि जित्न सक्छु। मोरंगको आफ्नो पुस्तामा सर्वाधिक लोकप्रिय पनि छ। संघर्ष र त्यागको लामो ईतिहास पनि छ। काँग्रेसको बहालवाल केन्द्रीय सदस्य पनि हो, जो काँग्रेसको नीति निर्माण पनि गर्ने तहमा छ–त्यो मानिस अमृत आजको काँग्रेसमा यति भन्ने सहास राख्दैन कि “म संसदीय निर्वाचनमा मोरंग ५ नम्बर बाट उम्मेदवार हुन चाहन्छु।” कसैले फेसबुकमा शुभेच्छा सहित लेख्दछ अनि अमृत आत्तिएर खण्डन गर्दछ कि मेरो बारेमा पार्टीले आधिकारिक निर्णय गरेको छैन।
त्यो काँग्रेस जसको थियो, अहिले शेरबहादुर जीको समयमा यस्तो भएको छ।


