+

छौ कोही ज्यूँदा राजनीतिमा ? कि सवै उस्तै ?

२८ श्रावण २०७९, शनिबार ०३:३९

केशवप्रसाद भट्टराई ।

१. न्याय र विवेकको मन्दीर, प्रजातन्त्रको मर्यादा र गरिमा,राज्य व्यवस्थाको सुषुम्ना नाडी भनेको अदालत । त्यो अदालत कसरी चलेको छ त्यसको सर्वोच्च केन्द्रका लगातार तीनजना प्रधान न्यायाधीशहरू उदाहरण हुनुहुन्छ ।

२. सार्वभौम जनतालाई प्रतिनिधित्व गर्ने सर्वोच्च विधायिकाका लगातार दुई जना प्रमुखहरू सम्बन्धित दलको मुखियाको छाँया मात्रै बनेर कार्यकाल एक किसिमले भुक्तान गरे । संसदका हाकिम त्यस्ता भए पछि अन्य जागिरेहरू हरू कस्ता हुने ? मुलुकका सवैभन्दा गतिछाडा,अस्थीर, अराजक, झूठ र भ्रमका हेडक्वाटरका कार्यकर्तालाई प्रजातन्त्रको प्रतीक र प्रतिनिधि सँस्था सुम्पिए पछि त्यो सँस्था कस्तो हुनु ? यति विवेकहीन, दृष्टिहीन र सडक छाप उत्ताउलो र अराजक संसद शायद यस अघि थिएन ।

३. जसले सरकारको वैधानिक नेतृत्व गरिरहनुभएको छ–अपवादमा मात्र उहाँ सरकारको प्रमुख हुनुहुन्छ भन्ने कुराको सङ्केत मिल्दछ । त्यही उहाँको योग्यता र ल्याकत हो । उहाँ केही गर्नुहुन्न , उहाँ बाहेकका कसैले गर्ने नगर्ने केही गर्न बाँकी राख्दैनन् ।

४. मुलुकमा पार्टी व्यवस्था छ तर आफ्नो दलको विचार,मूल्य,नीति र कार्यक्रमको बलमा चुनावमा जनता माझ परीक्षा दिन जाने हुती भएका दल नै छैनन् । द्रव्य,पद, सत्ता र सुविधाका भोका कायर र नालायकहरूको भीड मात्रै बनेका छन् दलहरू ।

५. सरकारमा रहेपनि शक्तिशाली र प्रतिपक्षमा रहेपनि एउटा शक्तिशाली एउटा दल छ तर उसले सरकारमा रहँदा पनि भए गरेका गलत अभ्यास र कार्यप्रति अनुत्तरदायी हुने र जिम्मेवारी नलिने विशेषाधिकार प्राप्त छ । काम भन्दा कुराको शक्ति हजार गुणा बढी हुन्छ भन्ने विश्वासनै उसको सवैभन्दा ठूलो राजनीतिक पूँजी बनेको छ । सरकारमा भए एउटा कुरा नभए अर्को कुरा । कतिखेर बोलेको हो र कतिखेर बोलेको होइन , कसरी बुझ्नु ?

. मुलुकमा भए मध्येका उत्कृष्ट जनशक्तिहरू मेडिकल, इञ्जिनियरिङ्ग, निजामती प्रशासनमा छन् तर ती जहाँ जहाँ कार्यरत छन् त्यहाँ तिनको उत्कृष्टता, योग्यता र क्षमता प्रदर्शन हुँदैन,भैरहेको छैन । पेशागत दक्षता र श्रेष्ठता सावित गरेर भन्दा दलका निर्लज्ज व्यक्तिहरुको, मंत्री र सत्ताधारी हरूको सेवा तहल गरेर आफ्नो पेशामा दाम, धाक र रवाफ आर्जन गर्ने पेशागत क्षेत्रका व्यक्तिहरूको भारले बोकेर मुलुकका तमाम सेवा र उत्पादक क्षेत्र प्राणहीन भैरहेको छ ।

. दशकौं देखि राजधानीको फोहोर व्यवस्थापन गर्न नसक्ने सरकारहरू, अढाई दशक देखि राजधानीबासीलाई पानी खुवाउने यौटै खानेपानी परियोजना सम्पन्न गर्न नसक्ने सरकारहरू,

. एउटै परियोजना १०– २०– ३० वर्षसम्म लम्ब्याएर, तन्काएर, शुरुको लागत इस्टिमेट भन्दा १०, २० ५० गुणा बढी राज्यको खर्च गराएर त्यसैबाट सात पुस्तालाई खान, मोज गर्न, र राजनीति धान्न पल्केका दुषित र पतितहरू

. यी सवैलाई यसरी यो विधिबाट ठेगान लगाउँछु र त्यो ठेगान लगाउने गरी चुनाव जित्ने, सरकार संचालन र राज्य व्यवस्थामा हस्तक्षेप गर्छु, माथिका विकृति र अव्यवस्थालाई अन्त्य गर्न सकिन भने अर्को पटक जनता सामू आउन्न भनेर जनता माझ प्रस्तुत हुने कुनै व्यक्ति र दल छौ ?

१०. संसार भरीका जनता हामी जस्तै हुन् । जनताले योग्य नेतृत्व पाए भने उनीहरूको उर्जा, उत्साह, क्षमता र विवेकले राष्ट्र उठाउने बल र शक्ति उत्पादन गर्दछ । आफैँ केही गर्दैनन् । नदी र खोलाका पानी जस्तै हुन् जनता बगेर गइदिने । नहरमा लगेर खेतमा प्रयोग गरे हराभरा बनाइदिने । बाँध बनाएर उर्जा उत्पादनमा प्रयोग गरे अथाह विद्युत शक्ति बनेर प्रवाहित हुने । त्यसैलाई चाहिने हो नेतृत्व !