केशवप्रसाद भट्टराई ।
१. मे ११, २००५ मा दी न्युयोर्क टाइम्समा स्ट्यानली वाइसको एउटा विचारोत्तेजक लेख थियो । त्यसमा उनको प्रश्न थियो – नेपालको बर्बर माओवादी विद्रोह, भारतको हिंसाग्रस्त उत्तरपूर्वी क्षेत्र, चीनको भारतसँगको तीव्र ऊर्जा प्रतिस्पर्धा एवं पाकिस्तान, भारत र बंगलादेशका मुस्लिम अतिवादीबीच बढ्दो घनिष्टताको एउटै कारण के हो ?
वेइसको सक्षिप्त उत्तर थियो– पानी । त्यसपछि उनले थपे, हिमालबाट नेपाल र भुटान भएर बग्ने अनेकौं नदीहरूलाई दीर्घकालीन ऊर्जा विकास र उपयोग रणनीतिअनुरूप प्रयोगगर्ने हो भने यी नदीले सिंगो दक्षिण एसियामा स्थिरता र समृद्धि दिने सामर्थ्य राख्दछन्।
२. डिसेम्बर २१, २०१६मा अस्ट्रेलियाबाट प्रकाशित दी कन्भर्सेसनमा नेसनल युनिभर्सिटी अफ सिङ्गापुरकी एक वरिष्ठ अनुषन्धाता सेसिला टोर्टाजाडाको अनुषन्धानको निष्कर्ष थियो – एसियाका अल्प विकसित मुलुक भुटान र नेपालले एसियाकै मुहार परिवर्तन गर्न सक्छन् । हाल बेलायतको ग्ल्यास्गो विश्वविद्यालयकी पर्यावरणीय अध्ययन –अनुषन्धान विषयकी प्राध्यापक सेसिलिया टोर्टाजाडा अनुसार एसियाका अल्प विकसित मुलुक भुटान र नेपालले एसियाकै मुहार परिवर्तन गर्न सक्छन् । प्राध्यापक सेसिलिया टोर्टाजाडा अनुसार १९९७ र २००२ को वीचमा मात्रै भुटानले भारतमा निर्यात गर्ने विद्युतबाट भएको आय भुटानको कूल राष्ट्रिय आयको ४५ प्रतिशत थियो । उक्त आयकै कारण भुटानले मुलुकमा शिक्षा, स्वास्थ्य लगायतका औद्योगिक र व्यापारिक संरचनाहरूमा पर्याप्त लगानी गर्न सकेको, मान्मिसको जीवन स्तरमा व्यापक सुधार ल्याएको उनको निष्कर्ष छ । त्यसैकारण भुटानको प्रतिव्यक्ति आय नेपालको कुरै छोडौं पाकिस्तान, बंगलादेश र भारतको भन्दा बढी छ । नेपालको तुलनामा त्यो अढाई गुणा बढी छ । स्मरणीय छ, नेपालले आफ्नो कूल विद्युत उत्पादन क्षमताको दुई प्रतिशत आसपास मात्रै उत्पादन गरिरहेको छ र त्यो बिजुली पनि बजार नपाएर खेरा गैरहेको समाचार बेलाबेलामा हामी सुन्छौँ ।
हाम्रो बिजुलीको पहिलो ग्राहक भारत हो र दोस्रो बंगलादेश । उक्त दुई मुलुकलाई बिजुली बेचेर हामी हाम्रो अर्थतन्त्रलाई कायापलट गर्न सक्छौँ । तर भारतसँगको लामो समयदेखिको शंका र अविश्वासको सम्बन्ध, भारतसँगको सम्बन्धलाई राजनीतिकरण गर्ने, सत्ता स्वार्थको लाभ–हानीसँग जोड्ने हाम्रो अदूरदर्शी राजनीतिक र कूटनीतिक व्यवहार र त्यसैमा टेकेर भारतले अवलम्वन गर्ने गरेको मिचाहा प्रवृत्तिले नेपालका शान्ति, स्थिरता, विकास र समृद्धिका सम्भावनाहरूलाई छेकेर बसेको छ ।
३. बिजुली अत्यन्त ठूलो रणनीतिक महत्वको वस्तु हो । नेपालसँग बिजुली किन्दा दीर्घकालीनरूपमा त्यसको निर्वाध आपूर्ति हुने प्रत्याभूति भारत वा बंगलादेशले खोज्दछन् नै । बिना कुनै राजनीतिक, रणनीतिक वा कूटनीतिक आरोह अवरोह बिना शान्त र स्थिर नेपालले अन्तर्राष्ट्रिय कानुनको परिधि भित्र समेटिने दीर्घकालीन सन्धि सम्झौताले मात्रै भारत वा बंगलादेश आश्वस्त हुन् सक्दछन् । त्यसको आधारमा उनीहरूले आफ्नो दीर्घकालीन विद्युत आपूर्ति रणनीति निर्माण गर्दछन् । ठूलो कमिसनको लोभमा, कुनै राष्ट्र विशेषलाई खुशीपार्न मात्रै पनि हाम्रो राजनीतिक नेतृत्वले अर्वौँ डलर ऋण लिएर मुलुकलाई आवश्यक नपर्ने परियोजनाहरू संचालन गर्ने गरेको छ र ती परियोजना अन्तर्गत निर्मित पूर्वाधारमा भारतको रणनीतिक विमति र असहयोग रहने गरेको पनि प्रष्ट छ । सुरक्षा वा अन्य रणनीतिक कारणले कुनै राष्ट्र विशेषसँग ऋण लिएर ती मुलुकका कम्पनीहरुद्वारा निर्मित परियोजनाहरूबाट उत्पादित बिजुली “म किन्दिन “ भनेर भारतले भन्न सक्दछ क्ष्
शायद भनिरहेको छ । नेपालको विद्युत बजार वा नेपालको बिजुलीको ग्राहक भारत मात्रै वा भारत भएर मात्रै हुने अवस्थामा भारतको त्यस्तो संवेदनशीलता वा आग्रहलाई नबुझ्नु भनेको नेपालको विद्युत बजार गुमाउनु हो । व्यापार गर्छु भन्नेले ग्राहकको आवश्यकता र संवेदनशीलता पनि बुझ्नै पर्दछ । त्यसो नगर्नु भनेको नेपालको उन्नति, प्रगति र समृद्धिको बाटो छेक्नु हो ।
४. हामीलाई सवैलाई थाहा छ पानी जीवन हो । हाम्रो पृथ्वीको दुई तिहाई भाग पानीले ढाकेको भए पनि पिउने, सिंचाई वा अन्य घरेलु प्रयोजन, कृषि, पशुपालन ,औद्योगिक वा व्यवशायिक उद्देस्यको लागि आवश्यक पर्ने स्वच्छ पानीको पृथ्वीमा रहेको परिमाण तीन प्रतिशत मात्रै हो र त्यो तीन प्रतिशत मध्ये पनि एक प्रतिशत भन्दा अलि बढी अर्थात् १.२ प्रतिशत मात्रै मानवीय उपयोगमा आउने अवस्थामा छ । पानीको त्यो सानो भण्डारले विश्वको जनसंख्याको मागलाई धान्न सकिरहेको छैन । त्यसकारण पानी राष्ट्रहरू भित्र र राष्ट्रहरू माझ द्वन्द्व र तनावको वस्तु बनेको छ । प्रख्यात भारतीय विद्वान र रणनीतिक विश्लेषक ब्रह्म चेल्लानीका त्यस सम्बन्धमा बहुचर्चित दुई पुस्तक छन् – एउटा हो– वाटरः एसिया’ज न्यु ब्याटलग्राउण्ड (२०११) र अर्को,वाटर, पीस एण्ड वार (२०१४) । एसिया पानीको अत्यन्त ठूलो अभावग्रस्त महादेश हो । संसारको कूल जनसंख्या ८ अर्व हो र त्यस मध्ये झन्डै ३ अर्व भारत र चीनमा छन् । बंगलादेश र पाकिस्तानको जनसंख्या झन्डै ४० करोड छ । चीन, भारत, पाकिस्तान र बंगलादेशको पानीको श्रोत मूलत हिमालय क्षेत्र हो । यी मुलुकहरूका सवै ठूला नदीहरू हिमालय क्षेत्रको दक्षिणी र उत्तरी भाग हो । नेपालका सवै ठूला नदीहरूको मुहान पनि कुनैको तिब्बत र कुनै नेपालकै हिमालय क्षेत्र हो।
५. सिंचाई, खानेपानी र अन्य औद्योगिक र व्यवशायिक प्रयोजनकोलागि नेपाल र भारतले नदीहरूको एकीकृत जल विकास र उपयोग रणनीति विकास नगरी सुख्खै छैन । त्यसो नगरी नेपालमा दीर्घकालीन शान्ति, स्थिरता र समृद्धि सम्भव नै छैन । नेपालमा भारतका जल सरोकार छन् र अन्य रणनीतिक र सुरक्षा सरोकार छन् । ती सरोकारहरूलाई नेपालले कसरी सम्वोधन गर्न सक्दछ र त्यस वापत नेपालको सुरक्षा, स्थीरता, विकास र समृद्धिमा भारतको प्रतिवद्धता कसरी प्राप्त हुन्छ त्यस सम्बन्धमा दुई मुलुक वीच खुला वार्ता, समझदारी, सहमति, सम्झौता र सन्धि नहोउञ्जेल नेपाल यस्तै हो । भारतीय कम्पनीहरूले प्राप्त गरेका परियोजना निर्माण सम्झौता त्यही कारण समयमा सकिन्नन् । खर्बौं राशी खर्च गरेर, ऋण लिएर विद्युत उत्पादन गर्यो, खरीद गर्ने सम्भावित मुकुकसँग कुनै दीर्घकालीन सम्झौता छैन । बैंकको ब्याज तिर्ने आम्दानीकोपनि सुनिश्चितता छैन भने कसले लगानी गर्ने ? त्यसैले परियोजना सम्पन्न गर्न होइन, त्यहाँ अर्कोको प्रवेश छेक्न उनीहरुले परियोजना लिन्छन् । ओगटेर बस्छन् । यो चलिरहन्छ । भारतले आफ्नो राष्ट्रिय स्वार्थ र सरोकार अनुरूपको राजनीतिक परिवर्तन र राजनीतिक नेतृत्व नेपालमा खोजिरहन्छ । सवै ठूला शक्ति राष्ट्रहरूले त्यसो गरिरहन्छन् । त्यसको जति निन्दा, विरोध र आलोचना गर्न पनि सकिन्छ तर ठूला र शक्तिशाली मुलुकहरुका छिमेकी हुनुको हानीलाई लाभमा रुपान्तरणगर्ने कौशल साना राष्ट्रहरूले आर्जन गर्नै पर्दछ । त्यसो नगरे त्यसले नेपाललाई सधैँ अस्थीर बनाइरहने हो । नेपाल अल्प विकसित नै रहने हो । राजा र पंचायतले ३० वर्ष शासन गरे दलहरूले त्यो अवधि भन्दा पनि बढी शासन गरे । तर पनि नेपाल दक्षिण एसियाको अफगानिस्तान पछिको सवैभन्दा गरीव मुलुक ।
६. एउटा खानेपानी योजनालाई सम्पादन गर्न चौथाई सताव्दीमा पनि नसक्ने मुलुक हौँ हामी । (उदाहरण मेलम्ची) त्यति अवधिमा पूर्ण हुन नसकेका दर्जनौ सडक छन् , पुल छन् । टाढा जानुपरेन बाबुराम भट्टराईको कार्यकालमा सानो भूगोलको राजधानी भित्रको सडक विस्तारले अझै पूर्णता पाएको छैन । सडकहरू हिङ्गको हिङ्गकै अवस्थामा छन् । एउटा हवाई कम्पनी चलाउने राज्य क्षमता छैन १००–२०० किलोमिटरको दूरीमा उपयोग नै नहुने अन्तर्राष्ट्रिय विमानस्थलहरू हामीलाई चाहिएको छ । जहाँ चाहिन्छ त्यहाँ छैन , जहाँ चाहिंदैन त्यहाँ नभैभएको छैन । राजनीतिक नेतृत्व र सत्तारूढ दलहरूलाई ठूलो राशीको कमिसन त्यस्तै परियोजनामा आउँछ । आयोजनाको अवधि लम्ब्याउँदै गयो , बजेट थप्दै गयो, कमिसन बढ्दै गयो ।
७. नेपालको भूबनौटका कारण यहाँ बग्ने नदीहरूका माथिल्लो क्षेत्रमा ठूला ठूला जल भण्डारण क्षेत्र निर्माण र विकासगरेर सुख्खा याममा नेपाल, भारत र बंगलादेशमा नियमित पानी आपूर्ति हुने व्यवस्था सहित ती नदीहरूबाट हुने विद्युत उत्पादनमा भारत र बंगलादेशको लगानी आमन्त्रण गरेर र सो सम्बन्धी दीर्घकालीन सम्झौता माथि द्वारा उठाइएका सवालहरूका उत्तर हुन् । भारत विरोधको राजनीतिक र वौद्धिक शौख पालिरहेर आफ्ना कुण्ठा र आग्रहहरूलाई सुम्सुम्याउन त सकिन्छ, सुम्सुम्याइरहन पनि सकियो, गाली, निन्दा र आलोचनाको राजनीतिक र वौद्धिक लोभमा मुलुकलाई सधैँ अशान्त, अस्थिर, निर्धन र तन्नम बनाइरहन पाइयो । मुलुकका सभावना र अवसरहरू नष्ट गर्दै जाने अनि युवा र समर्थ पुस्तालाई विदेशमा दास सरहको जीवन जिउन पठाउने राजनीतिक शौख पालिरहन पनि पाइयो । तर सम्बन्धबाट उपलव्धि आर्जन गर्न त विश्वास र सद्भाव नै चाहिन्छ । त्यसैले असहमतिका क्षेत्रहरूलाई सहमतिमा लैजान पनि पहिला सहमतिका क्षेत्रहरूलाई पहिचान गरेर तिनमा सहमति कायम गर्दै असहमतिका क्षेत्रहरूलाई साँघुर्याउँदै तिनमा सहमति निर्माण गर्ने कूटनीति अवलम्वन गर्नु उचित होला नी होइन ?


