+

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१६ श्रावण २०८३, शनिबार ०७:३५

काठमाडौं। अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्ला जोड्ने प्रमुख राजमार्ग तथा मुख्य सडकखण्डहरूमा सवारी आवागमन गम्भीर रूपमा प्रभावित भएको छ।

नेपाल प्रहरीले आज बिहान ५:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको र केही मुख्य राजमार्गहरूमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

बाढी र पहिरोको उच्च जोखिमका कारण काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गतको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

यसैगरी, ललितपुर र मकवानपुर जोड्ने कान्तिलोकपथमा पनि सुरक्षाका कारण बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्मका लागि सवारी सञ्चालन पूर्ण रूपमा बन्द गरिएको छ।

देशका अन्य हिमाली तथा पहाडी जिल्लाहरूमा पनि सडक अवरुद्ध हुने क्रम बढेको छ। इलाम नगरपालिका-९ स्थित मेची राजमार्गमा भीषण वर्षाका कारण बाटो हिलाम्मे भएपछि सवारी आवागमन ठप्प भएको छ। उता सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा ठूलो पहिरो खसेकाले उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।

त्यस्तै, नदी कटानका कारण पनि मुख्य सडकहरूमा क्षति पुगेको छ। दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामासाँघु-रामेछाप सडकखण्डमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात ठप्प भएको छ भने रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित पासाङ ल्हामु सडकखण्डमा त्रिशूली नदीले सडक कटान गर्दा उक्त बाटो पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहने भएकाले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित निकाय वा प्रहरीसँग सडकको ताजा अवस्थाबारे जानकारी लिन र पूर्ण सतर्कता अपनाउन नेपाल प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ।

ताजा अपडेट