सबै जनालाई नमस्कार !
म देवी खड्का नेपालबाट । मेरा लागि यो अवसर प्रदान गर्नुभएकोमा हृदयदेखि धन्यवाद ।
२०५२ साल फागुन १ मा माओवादीले राज्यविरुद्ध हतियारसहित विद्रोह गर्यो । यो कम्युनिष्ट आन्दोलनमा मेरो ठूलो दाइ पनि सहभागी हुनुभयो । गाउँमा दाइलाई खोज्दै आएका प्रहरीले दाइलाई त भेटेन्न, तर मलाई गिरफ्तार गरेर लगे । म १७ वर्षकी थिएँ ।
मलाई गिरफ्तार गरेको दिनदेखि नै फलामको सिक्रीले बाँधेर प्रहरी हिरासतभित्र यातना दिन सुरु गरे । खुट्टा माथि टाउको तल पार्दै बेहोस् नहुँदासम्म पालैपालो कुटे । उनीहरुले ‘दाइ कहाँ छ ? हतियार कहाँ छ ? भन’ भन्दै यातना दिन्थे, जुन मलाई थाहा नै थिएन । अर्को, दिनदेखि चरम यातना दिन सुरु गरे ।
शरीरमा नुन खुर्सानी लगाउने, चुरोटले पोल्ने, सम्वेदनशील अंगमा टोक्ने गर्न थाले । २१ कात्तिक २०५५ को साँझ यातना गृहमा प्रहरीहरुले मलाई सामूहिक बलात्कार गरे । ४ जनासम्मले बलात्कार गरेको याद छ, त्यसपछि म बेहोस् भएछु । होसमा, आउँदा शरीरबाट रगत बगिरहेको थियो । हात खुट्टा चलाउनै सकिन । अहिले मात्र थाहा पाएँ, त्यस दिन मलाई १७ जनाले बलात्कार गरेका रहेछन् ।
३५ दिनसम्म मलाई बेपत्ता पारे । मानव अधिकारवादीकोे पहलमा मलाई जेल चलान गरियो । अदालतले निर्दोष सावित गरेपछि सरकार मलाई छोड्न बाध्य भयो । गाउँ पुगेँ । मेरो आमाले त्योबेला भन्नुभयो, ‘बदनाम भएर बाँच्नु भन्दा उतै मरेको भए हुने ।’
घटना थाहा पाएपछि गाउँलेहरु मसँग बोल्नु त परै जाओस्, म हिँडेको बाटो समेत हिँड्न छाडे । अनि बाँच्नुभन्दा मर्नु बेस ठानेँ । आत्महत्या गर्न डोरी बोकेर घर छेउको जंगलमा पुगेँ । पासो लगाएँ तर मलाई यातना दिने प्रहरीले भनेको कुरा याद आयो, ‘तँ….पछुताई पछुताई पत्रु भएर मर्नेछेस्…. ।’
अनि घाँटीमा लगाएको पासो खोलेँ । गाउँमा मेरो लागि बस्ने बास थिएन । म जाने कत ? अनि सोचेँ, मलाई जे आरोपमा बलात्कार गरे, त्यहीँ बनेर बदला लिन्छु । आत्महत्या होइन, शहीद बनेर मर्छु भन्ने आँट लिएर माओवादी आन्दोलनमा सहभागी हुन पुगेँ ।
घटनाबारे जानकारी गराउन भन्दै माओवादी पार्टी र केही मानव अधिकारवादीहरुले काठमाडौंमा मलाई बोलाएर पत्रकार सम्मेलन गरे । त्यसपछि समाज र महिला अधिकारवादीहरुले ममाथि नै लाच्छना लगाउँदै लेखे, ‘माओवादीका चरित्रहीन महिलाहरुको कारण प्रहरी अफिसरहरु बदनाम भए ।’
जहाँ लडाई हुन्थ्यो, म त्यहाँ सबैभन्दा अगाडि जान्थेँ । कि मर्छु कि मार्छु । तर त्यो हुन सकेन ।
२०६३ सालमा शान्ति सम्झौता भएपछि नेपालमा द्वन्द्व टुंगियो । शान्ति सम्झौता भएको पनि १७ वर्ष बितिसकेको छ । शान्ति सम्झौतापछि युद्धमा भएका धेरै घटनाको बारेमा राज्यसँग अभिलेख छ तर युद्धमा बलात्कृत महिलाारे कही कतै उल्लेख गरिएन । यसमा अन्तर्राष्ट्रिय समुदायको पनि ध्यान पुग्न सकेन भन्ने गुनासो छ ।
म पनि बोल्न प्रयास गरिन । बलात्कृत महिलाको बारेमा कोही त बोल्छ होला भन्दै म पनि कुरेर बसेँ । सन् २००८ (२०६४ साल)मा चुनाव भयो । म पनि संविधानसभा सदस्यमा निर्वाचित भएँ । मेरो हत्या गर्ने योजना सहित बाटोमा पिछा गर्दै आएको पुलिसको भ्यानले मलाई हान्यो । घटना भएको वरपरका मानिसले मलाई अस्पताल लैजानुभयो ।
मलाई बाँच्नु थियो, छोरी सानी थिइन्, उनलाई बचाउनु थियो । अनि मैले संसदमा बोलेँ, मलाई बलात्कार गर्नेहरुलाई आममाफी दिएँ । त्यसपछि ममाथि पुलिसको निगरानी हुन छाड्यो । धेरै वर्षसम्म बोल्ने साहस र आँट दुबै आएन ।
मनको घाउ निको भयो भन्ने सोच्थेँ तर होइन रहेछ, झन बल्झँदै गयो । अनि यो मुद्दाबाट भाग्नु नै उपयुक्त लाग्यो । तर केही वर्ष यता यो मुद्दा नउठाउँदा पनि गाह्रो हुन थाल्यो । मैले आफ्नो कथामा आफैलाई पीडितबाट ‘सर्भाइबर’ त बनाएँ, तर म जस्ता धेरै दिदी बहिनीहरु अझै मौन छन् ।
नेपाल सरकारले मेरो र म जस्ता महिलाहरुको इतिहास मेटाउन खोजेको महशुस हुन थाल्यो । इतिहासमा महिलाहरुको योगदान मेटाउँदा कति दुःख लाग्छ भन्ने कुरा यहाँ आउनु भएका सबैले महशुस गर्न सक्नुहुन्छ । पछिल्लो २ वर्षदेखि युद्धको समयमा बलात्कारमा परेका दिदी बहिनीहरुलाई भेटेँ ।
द्वन्द्वकालमा मानव अधिकार उल्लंघनका घटनावारे छानबिन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी)मा ३१४ मुद्दा दर्ता भएका छन् । सामाजिक बहिष्करणमा पर्ने डरले धेरै दिदी बहिनीहरुले यस्ता मुद्दा दर्ता गर्नुभएको छैन ।
आठ महिनाअघि हामीले काठमाडौंमा दुई दिने राष्ट्रिय सम्मेलन गर्यौँ । १७ जना महिलाको हस्ताक्षर सहित ९ बुँदे मागपत्र तत्कालीन विद्रोही कमाण्डर तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वर्तमान प्रधानमन्त्री शेरवहादुर देउवालाई एकै ठाउँमा राखेर बुझायौँ । मागमा अन्तरिम राहतदेखि न्यायको मुद्दा उठाएका छौँ ।
विद्रोही पक्ष र सरकारी पक्षबाट बलात्कारमा परेका महिलाहरु एकै पटक यसरी आउँछन् भन्ने उहाँहरुले सोच्नु पनि भएको थिएन । पहिलो पटक सरकारले सार्वजनिक रुपमा नीति कार्यक्रमा युद्धमा बलात्कार भएका महिलाहरुको लागि राहतको व्यवस्था गरेको छौँ भनेर सम्बोधन गरेको छ । तर आयोगमा दर्ता भएका फाइल नखोल्दा त्यही राहत पनि लिन सकेका छैनौँ ।
राज्यले शान्ति सम्झौता भएको १७ वर्षपछि सार्वजनिक रुपमा स्वीकार गर्यो, कि द्वन्द्वको बेलामा दुबै पक्षबाट महिला बलात्कृत भएका थिए । अगाडिको लडाइँ लड्नको लागि यो हाम्रो लागि ठूलो उपलब्धी थियो । यसले हाम्रो लडाइँको ढोका खोलिदियो । हामीले हालसाल मात्रै ‘सर्भाइभरहरु मात्र रहेको संस्था दर्ता गरेका छौँ ।
त्योबेला नेपालमा शान्ति सम्झौता गर्दा धेरै अन्तर्राष्ट्रिय समुदायहरु सहभागी थिए । अन्तर्राष्ट्रिय जगतले सहयोग गर्दा कुनै पनि देश वा त्यो देशमा अधिकारको क्षेत्रमा कार्यरत निकायहरुले पीडितको पक्षमा परिणामुखी काम गरेका छन् वा छैनन् भन्ने कुराको समयमै समीक्षा गर्नुपर्छ र आंशिक जिम्मेवारी लिनुपर्ने हुन्छ ।
अब पनि नेपाली महिलाहरुको न्याय र दीर्घकालीन शान्तिको यात्रामा साथ दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु । साथै अन्य देशका बलात्कार पीडित दिदी बहिनीहरुसँग काम गर्न पाउँदा निकै उत्साहित छु । यहाँबाट मैले धेरै कुरा सिक्ने छु । जबसम्म यौन हिंसाविरुद्ध उचित सम्बोधन हुँदैन, तबसम्म दण्डहीनता कायम रहिरहन्छ । हाम्रो समाजमा शान्ति कालमा पनि यौन हिंसा भईरहन्छ । विश्वमा नै दण्डहीनतालाई अन्त्य गर्न यस्ता खालका उच्चस्तरिय बैठकले नीतिगत रुपमा धेरै काम गर्नु सक्छ ।
धन्यवाद ।
(द्वन्द्वकालमा हुने यौन हिंसा रोकथामवारे बेलायतको लण्डनमा आयोजित सम्मेलनमा खड्काले गरेको सम्बोधन ।


