+

अहिलेको योग्यतम प्रधानमन्त्री शेरबहादुरजी नै हो !

१८ मंसिर २०७९, आईतवार ०६:०४

ऋषि कट्टेल ।

अब चुनाव सकियो । उदयपुर, सुनसरी, स्याङ्जा, दोलखा, वाजुरा र इलाम का ६ सिटवाहेक संसदवादी दलहरु बीच खासै विवाद पनि देखिएन । दुवै गठवन्धनले प्रष्ट बहुमत ल्याएन । सबैभन्दा ठूलो दल काँग्रेस हुने भयो । यसैको निम्ति एमाले विभाजनदेखि पाँच दलीय गठबन्धन बनेको कुरा राजनीतिको सामान्य ज्ञान भएका जो काहिले बुझेकै कुरा हो । यसको निम्ति आफूलाई कम्युनिष्ट हुँ भनेर नथाक्ने सदाबहार नेता मोहनबिक्रम सिंह, कामरेडका उपाधिले विभूषित पुष्पकमल दाहाल र निष्ठा र आदर्शको माला पहिर्याउने नेता माधव नेपालको अथक मेहनतको महिमा अपरम्पार छ ।

विश्व प्रतिक्रियावादको मुख्य दलाल र देशको सामन्ति दलाल तथा नोकरशाही पूँजीवादको मुख्य प्रतिनिधि नेपाली काँग्रेसलाई प्रतिगमनको भास्य तयार गरेर सत्ताको बागडोर सुम्पने र त्यसैको जुठो पुरो खाएर जीउन रम्ने यी नामधारी कम्युनिष्टहरुलाई इतिहासले कठघरामा त उभ्याउने नै छ । आउँदा दिनहरुमा यसबारे बृहत बहस हुनेनै छ । अब आजको विषय तर्फ लागौं ।

नेपालमा प्रधानमन्त्री हुने व्यक्तिमा केही अन्तरनीहित गुणहरु हुनैपर्दछ । १) विदेशी प्रतिक्रियावादीको मुख्य दलाल २) हिंसा र प्रतिहिंसाको योजनाकार ३) सांसद खरिद बिक्री गर्ने कलामा निपूर्ण । ४) घरेलु प्रतिक्रयावादी सत्ताको सवभन्दा भरपर्दो पात्र । ५) कमिसनखोर र भ्रष्ट । ६) निष्ठा आदर्श र राजनीतिक चरित्रबाट च्यूत आदि ।

काग्रेस भित्र केही र बाहिर अरु तीनजना जतिले आफूमा उपरोक्त योग्यता पुगेको दावी गरिरहेका छन् । तर मेरो विचारमा यी सबैमा योग्यतम पात्र शेरबहादुर नै हुन् । किनकी उनको विगत र वर्तमानले यसको पुष्टि गरेको छ । यसका केही उदाहरण छन् ।

१) उनले माहाकाली सन्धीदेखि एमसीसीसम्म पास गराएर आफूलाई अब्बल दर्जाको विदेशी दलाल प्रमाणित गरेका छन् ।

२) हिंसा र प्रतिहिंसाको लागि माओवादीलाई युद्धमा धकेल्नेदेखि टाउकाको मोलसम्म तोक्न सक्ने हिंसाको उच्चतम कला उनले देखाइसकेका छन् । अहिले पनि अमेरिकी साम्राज्यवादलाई भित्रायाएर नेपाली जनतालाई हिंसामा धकेलेर कत्लेआम गर्ने योजना वनाउँदैछन् ।

३) अहिले संसद अल्पमतको छ । सांसद किन्ने, सुरा सुन्दरी प्रयोग गर्ने, बैंकक र हङकङका होटलहरुमा शयर गराउन सक्ने कलामा उनले विद्यावारिधी नै गरेका छन् ।

४) उनी प्रतक्रियावादका वर्गीय मित्र मात्र हैनन् आवश्यक पर्दा प्रतिगमनको सच्चा सिपाही पनि हुन् । ज्ञानेन्द्रलाई सत्ता सुम्पेर उनले आफ्नो योग्यता प्रमाणित गरिसकेका छन् ।

५) राजनीतिमा लागेर सवैभन्दा धरै सम्पति जोड्ने क्षमतावान मान्छे पनि उनै हुन् । एउटा पत्रिकाले दिएको जानकारी अनुसार अहिले उनीसँग केवल ४५ अर्बको सम्पत्ति छ । जवकी उनका निकतम प्रतिद्वन्द्वीसँग २५ अर्ब भन्दा बढी छैन भन्छन् पत्रपत्रिकाहरु ।

६) यसमा संसदमा प्रतिद्वन्द्वीता गरिरहेकाहरुमा समान योग्याता देखिएपनि अरु देखावटी कुरा गर्न जान्दछन् उनी खुला छन् ।
रामचन्द्र गगनहरुले यी योग्यता निर्माण गर्न अलि मेहनत गर्नुपर्ने देखिन्छ । त्यसकारण अहिलेको योग्यतम प्रधानमन्त्री शेरबहादुरजी नै हो ।

ताजा अपडेट