डा. युवराज संग्रौला ।
तथ्य विनाको ज्ञान धेरै पोखियो, देशमा । यो देशको लोकतन्त्र र अर्थतन्त्र बिगार्नमा नेताको टांङ्गमुनि बस्ने, आफूले जानेको थोरै कुरा बोली र बान्की मिलाएर आफ्नो आत्म प्रशंसा गर्ने र नेताहरूमा ‘झुट्टो’ जानकारी (मिसइन्फर्मेसन) भर्ने विद्वान र सत्य र तथ्य बाहिरको अर्धजानकारी (स्युडो नोलेज) बोकेको जमातको भूमिका धेरै ठूलो छ । यो गरिव जमातको ब्यहोरा गजब हुन्छ ।
१. यो एक दिनमा एक दर्जन सेमिनार र भेला भ्याउँछ । कहिले पनि समयमा आउँदैन । छापिएको दिंदा विद्युतीय र विद्युतीय दिँदा छापिएको प्रति माग्छ । बिषयमा कुरा गर्दैन । आफूले जानेको ओकल्छ । बैठक भताभुङ्ग पारिदिन्छ । आफूले जानेको अनुसन्धान गरेको भन्दै आफ्ना कुन्ठा ओकल्छ र सबै भताभुङ्ग पारिदिन्छ । कुरा गाग्राको थियो ऊ गाग्रोको बखान लगाउँ । आफ्नो बिचारद्वारा अरुले सिर्जित बस्तुलाई राम्रो पार्न सहयोग गर्दैन, जसले गरेको हो त्यसलाई मूर्ख प्रमणित गर्न राग ओकल्छ । यो अरु सबैको विरोध गर्छ र आफूलाई उत्तम देखाउन आफ्नो बृतान्त बोल्छ । ऊ यस्तो तरिकाले प्रस्तुत हुन्छ कि उनै मार्क्स, माओ, आइन्सटाइन, न्युटन र सी जिन्पिङ्ग हो । यो जमात सानादेखि ठूला सबै नेताको चाकरी गर्छ । आफ्नो फाइदाका लागि झुट्टो कुरा त गर्छ नै अरुको कुरा लगाएर थाक्दैन । ऊ हिजो जुन संस्थामा हाकिम भएको थियो र केही नगरी बाहिरिएको थियो, ऊ त्यही संस्थाको विरोध गर्छ, त्यहाँ भ्रष्टाचार भएको बखान गर्छ ।
२. अर्धचेतले ग्रस्त अर्को जमात छ । त्यो गोरुले दूध दिन्छ भनेर गफ गर्छ । त्यो भावनाका कुरा गर्छ, अर्काको खेदो गर्छ । त्यो कहिल्यै रक्सी खाएर सुरुवाल नमुत्नेलाई भलो देख्दैन तर रक्सीखान छोडेकालाइ देवता मान्छ । त्यो भ्रष्टाचार गर्छ तर बासी मिठाई लिएर मन्दिर जान्छ। त्यो हिंसात्मक हुन्छ तर प्रेमप्रसाद मरेपछि खातामा पैसा हाल्छ (यस भनाइले मानवताबादी लाई जनाउँदैन)। यो सबै कुरा स्वीकार्छ तर केही कुरामा विश्वास गर्दैन। यो क्रान्तिकारी पनि हो र निरासावादी र अनस्तित्ववादी दुबै हो ।
यस्ता मानिसले राज्यका हरेक अंङ्ग समातेको छ। राज्यका हरेक अङ्गमा यस्ता मानिस भरिएका छन् । यी मानिस नेताका छेउछाउ बस्छन् । तर कुनै ओजिलो काम गर्नुपर्यो भने भाग्छन् । जब अर्कोले मेहनत गरेर काम गर्छ, त्यसको खेदो गर्न टुपुल्लुक पुग्छ । यसले अरुका सिर्जना चोर्छ। यस्ता जमातमा कहिले काहीँ झुक्किएर पुगियो भने यातना महसुस हुन्छ। यो लगाम समातेर बसेको हुन्छ। यसलाई परिवर्तन नगरी नयाँ कुरा गर्न सकिन्न, तर यसलाई परिवर्तन गर्न फलामका चिउरा चपाउनु जस्तै हो । चिनियाँहरु भन्न्, ‘सुन्दर र प्रष्ट चित्र बनाउने हो भने खाली कागजमा बनाउनु पर्छ।’ लाउजु भन्छन्, ‘नयाँ कुरा सिक्ने वा गर्ने हो भने दिमागलाई खाली गर ।’ हाम्रा ज्ञानीहरुले भनेका छन्, ‘अरुलाई जान्नु जानकारी हो, आफूलाई जान्नु बुद्धि हो।’
देशमा अहिले फोहोर कुरा बोलेर गाली गर्ने, कानुन हातमा लिएर अराजकता मचाउने, युटुबे साथीहरू खुसी पार्ने, विद्वताका नाम बौद्धिक चोरी गर्ने, चर्को भाषण गर्ने, र रक्सी खाएर चिच्याउनेको मेला लागेको छ । देशमा बितण्डा मच्चिएको छ। व्यापार विदेशीको हातमा, बैंक ठेकेदारका हातमा, राजनीति व्यापारीका हातमा, इमान्दार उद्यमी भ्रष्टका फन्दामा र किसान बिचौलियाका हातमा तड्पिनु पर्ने अवस्था छ। अब सचेत मानिसले आफ्नो राष्ट्र खोज्ने बेला भएको छ।


