ठाकुर पोखरेल ।
बिषय प्रवेश-:
‘यिनले गठबन्धन बनाउन र ताेड्न, सम्झाैता गर्न र धाेका दिन, भागवन्डा गर्न र खान, खान नपाए छिनाझपटी गर्न, एकअर्कालाई चिथाेर्न, काेपर्न र सत्ताेसराप गर्न जे जति समय लगाउँछन, त्यसकाे १ प्रतिशत मात्रै देश, जनता र अर्थतन्त्रका समस्या, विकास, सुशासन र संमृद्वि सवालमा लगाई दिएकाे भए ? कस्ताे बन्थ्याे हाेला देश ? कस्ताे हुन्थ्यो हाेला,स्वयं यिनीहरुकै सम्मान ?’ -डम्बर खतिवडा
राजनीतिक विश्लेषक डम्बर खतिवडा को स्टाटससँग सहमत हुदै हाम्रो देशमा विगत ३३ वर्ष देखि राज्यसत्ता संचालन गर्दै आएका पुराना दलका गतिविधि बाट जेजति दुर्दशा भोग्नुपरेको छ त्यसकै वारेमा यथार्थ चित्रण गर्ने कोशिस गरेको छु। सर्वप्रथम नेपालका कम्युनिष्टहरु र यीनले गरेको राजनीतिक कुसंस्कार – आन्दोलनमा थुप्रै नेता आए। गुट उपगुट पनि बने। तर गुट उपगुट जे जति भए पनि नेपाली कम्युनिस्ट नेताहरुको मनोविज्ञान सबैको एकै खाले छ। नियत पनि उस्तै,मनसाय पनि उस्तै मिल्छ। जनताको सपना माथि राज गर्नु। कम्युनिस्टहरु सामुहिकता र वर्गीयताको कुरा सुन्दा आकाश-पातालै जोडिदिने जस्तो कुरा गर्छन्, जनमानसमा होत ! ठिक हो भन्ने गराउँछन्। भयो पनि पटक पटक जनताले सत्तामा पुर्याए पनि। कम्युनिष्टहरु निजत्वको अत्यधिक विरोध गर्दछन। तर, जब नाफा नोक्सानको कुरा आउँछ, सामुहिकता, वर्गीयताको कुरा सबै बिर्सिन्छन्। निजी स्वार्थमा रमाउन थाल्छन्। परिवार, श्रीमती, छोराछोरीको वरिपरि घुम्छन्। नियुक्ति, बढुवा, सरुवा र ठेक्कापट्टामा समेत छानी छानी आफ्नै नातागोताका मान्छेहरू भन्दछन् । त्यहाँ कुन विचार, पद्धतिले काम गरेको हो ? अबसर मिलेपछि संगठन र पद्दती ! कुनै रुपरेखा मान्दैनन्, देश राष्ट्र र राष्ट्रियताको मामिलामा असाध्यै देखाउने दाँत र चपाउने दाँत फरक फरक भएका नेपालका कम्युनिष्टहरु ”कम्युनिष्टरुपी कम्बल ओढेर घिउ खान असाध्यै माहिर रहेछन्”
त्यस्तै दोस्रो चर्चित पार्टी नेपाली कांग्रेस- लोकतान्त्रिक समाजवादको सिद्धान्त घोषितरूपमा बोकेको कांग्रेस नै त्यो दल हो, जसले विश्व बैंक र आईएमएफको लहलहैमा लागेर राज्यमातहत मात्र सञ्चालन हुनुपर्ने स्वास्थ्य र शिक्षाजस्तो आधारभूत सेवालाई २०४८ सालपछि आफू सत्तारुढ हुँदा व्यापकरूपमा निजीकरण गर्यो र नाफाखोर व्यापारीका हातमा छोडिदियो। यसैका कारण २०५० को दशकदेखि नेपालमा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा धनीको मात्र पहुँच सम्भव हुन गयो भने गुणस्तरहीन शिक्षा र स्वास्थ्य मात्र गरिबको भागमा पर्यो। डा. गोविन्द केसीको पटकपटकको अनसन वास्तवमा कांग्रेसले प्रारम्भ गरेको शिक्षा र स्वास्थ्यमा निजीकरण वा व्यापारीकरणको नीतिविरुद्ध नै केन्द्रित देखिन्छ। परन्तु यतिखेर वैज्ञानिक समाजवादको सिद्धान्त बोकेको नेकपा नेतृत्वको सरकार तिनै डा. गोविन्द र उनले अघि सारेका स्वास्थ्य र शिक्षामा राज्यको मात्र एकल दायित्व हुनुपर्छ र त्यसमा गरिब समुदाय र दुुर्गम क्षेत्रको पनि समतामूलक पहुँच सम्भव बनाइनुपर्छ भन्ने समाजवादी एजेन्डाको हुर्मत लिन कस्सिएर लागेको देखिएको छ भने निजीकरणको सर्वोच्च वकालत गर्ने मसिहा कांग्रेस भने व्यक्ति डा. गोविन्दको जीवनरक्षाका लागि सडक र सदन तताइरहेको थियो। समकालीन नेपाली राजनीतिको घोषणा, वचनबद्धता र व्यवहारको यो भन्दा ठूलो घटिया विडम्बना र विरोधाभास अरू के हुन सक्छ ? यसरी हेर्दा नेपाली कांग्रेस लाई कसरी लोकतान्त्रिक परिपाटीको पार्टी भन्ने ?
पूँजीवाद र नेपाली कम्युनिष्टहरु
कुनै बेला पूँजीवादको चर्को विरोध गर्ने कम्युनिस्टहरु आज आफैँ पूँजीवादी भएका छन्। यदि राज्यको कानून बलियो र पारदर्शी हुन्थ्यो भने सबैभन्दा धेरै पद भ्रष्टहरु कम्युनिष्ट हरु नै प्रमाणित हुने थिए । शिक्षा, स्वास्थ्य लगायत सामाजिक सुरक्षाको निजीकरणको विरोध गर्ने अभियन्ता आज आफैँ स्कुल, स्वास्थ्य लगायत व्यापारिक प्रतिष्ठानका मालिक बनेका छन्। ठूला व्यापारिक घरानामा रूपान्तरित भएका छन्। पैसाले राजनीतिलाई औंलामा नचाउन सक्ने भएका छन्। जनताको नाममा राजनीति गरेको भन्न रुचाउने कम्युनिस्टहरु अहिले महलमा बस्छन् र राजसी जीवन बिताउँछन्। आनीबानी, खानपान र बोली व्यवहार श्री ३ जंग बहादुर राणाको नक्कल गर्छन्। तर, पनि भोका र नाङ्गा जनताको हितमा गुड्डी हाँक्न छाड्दैनन्। शहीदहरुको फोटा बैठक कोठामा टाँसेर गुन लगाएको सम्झिन्छन्। न शहीदका टुहुरा छोराछोरीका आँशुले उनीहरुलाई पोल्छ। न शहीदका सपनाले उनीहरुलाई दुख्छ।
निजी सम्पत्तिका लोभीहरु कम्युनिस्ट पार्टीका नेता हुन सक्दैनन् भनेर चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले भनिरहेको बेला नेपालका कम्युनिस्टहरु भने धन सम्पत्ति जोड्न मरिहत्ते गरेर लागेका छन्। सबै इमान जमान, आदर्श र विचारलाई रछ्यानमा फालेर दायाँबायाँ नहेरी दौडिरहेका छन्।
सबैलाई थाहा छ, नेपालका कम्युनिस्टहरूले बाटो बिराएकै छन्। जनताको मन दुखाएर गरिने राजनीतिले भलो गर्दैन भन्ने कुरा हाम्रा महान कम्युनिस्टहरूले बुझ्नै पर्दछ। अन्यथा इतिहासले कसैलाई माफी दिने छैन। चेतना भया। नेपाली कांग्रेसको घोषित सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो। घोषणा औधि राम्रो छ, परन्तु व्यवहारमा भने राष्ट्रियताको सिद्धान्त घोषितरूपमा बोकेको कांग्रेस नै त्यो दल हो, जसले आफू शासनमा रहँदा कोसी र गण्डक सम्झौतामार्फत नेपालका दुई ठूला नदीको पानीमा नेपालकै स्वामित्व र नियन्त्रण नरहने गरी भारतलाई सुम्पने काम गर्यो। यी दुई सम्झौताका कारण केही वर्षअघि मात्र कोसी बाँधले हजारौं हेक्टर खेतीयोग्य जमिन तथा घर बस्ती डुबाएर अनगिन्ती नेपालीलाई बिल्लीबाठमा पारेको घटना सारा नेपालीको सम्झनामा ताजै छ। वर्षा लाग्नेबित्तिकै कोसी र गण्डक बाँधले पैदा गर्ने डुबानको कहर अहिले पनि नेपाल र आम नेपालीले भोगिरहेकै छन्। घोषणामा राष्ट्रियताको सिद्धान्त बोकेको कांग्रेसले नै नेपाललाई कागत, छालाजुत्ता, कपडा, इँटा टायल, चिनी, चुरोट, गाडीका टायरलगायत थुप्रै वस्तुमा आत्मनिर्भर बनाइरहेका र विदेशी मित्रशक्तिले अनुदानमा बनाइदिएका कारखाना कौडीको भाउमा व्यापारीलाई बेचिदिएको उदाहरण पनि हाम्रैसामु छन्।
नागरिकले कस्ता नेता चाहिरहेका हुन्छन् ?
ती मानिस महान् हुन्, जो जे बोल्छन्, त्यही गर्छन् र जो गर्छन् त्यही बोल्छन्। ती मानिस असल हुन्, जसको बोली र व्यवहारका बीचमा सबैभन्दा कम खाडल हुन्छ। ती मानिस खराब हुन्, जो एकथोक बोल्छन् तर व्यवहारमा त्यसको ठीक उल्टो गर्छन्। नेपाल भने अहिलेसम्म एकथोक घोषणा गर्ने तर त्यसको ठीक विपरीत वा ज्यादै थोरै कुरा मात्र व्यवहारमा लागू गर्ने खालका नेताहरूको बाहुल्य भएको देश हो। नेपाल बिग्रिएकै ठूला घोषणा तर पातलो र उल्टो कार्यान्वयनले हो। बोली र व्यवहारमा ठूलो विरोधाभास नेपाली राजनीतिको राष्ट्रिय रोग बनेको छ। यो रोगको उपचार नभएसम्म हाम्रो देश उँभो लाग्न सक्ने अवस्था छैन ।
लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र चुनौतीहरु -:
बाहिरी विम्ब देखिँदा काङ्ग्रेस, एमाले र एमाओवादी वीच वैचारिक भिन्नता देखिए पनि सत्ता संचालन प्रवृत्तिमा किन्चित फरक देखिएन। यस्तो विरोधाभास नेपालका पुराना विरासत बोकेका काङ्ग्रेस र आफुलाई वामपन्थी भन्ने कम्युनिष्ट हरुले- जनता माझ असाध्यै झुट्टा आश्वासन दिएर राजनीतिक धरातल निर्माण गरेको पाइन्छ। भ्रष्टाचार बेथिति र अनियमितताका मुख्य कारक र मतियार नै काङ्ग्रेस-एमालेको जग र गुरुयोजनामा माओवादी पार्टी समेत थपिएको देखिन्छ भन्ने कुरा माओवादी जनयुद्धले उठाएका दर्जनौं महत्वपूर्ण मुद्दाहरू सम्बोधन नगरी उही पुरानै कार्य शैलीका दलसँग मितेरी गाँसेर नवधनाढ्य बन्ने होडबाजीमा राज्यसत्ताको भरपुर फाइदा उठाउँदै आएको कुरा घाम झै टट्कालो भएकै छ। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक/समावेशी संसद, बिषय विज्ञहरुबाट मन्त्री बनाउने, जातिय क्षेत्रिय बैरभाव हल गर्ने सामर्थ्य राखेर हजारौं बलिदानी र लाखौं होनाहार युवा-युवतीहरुको भविष्य (शिक्षा,स्वास्थ्य,रोजगारी र पारिवारिक दायित्व) अन्धकार बनाएको होइन ? अरबौ राष्ट्रिय धनसम्पत्ति सखाप बनाएको होइन ? ”सपार्न नसक्नेले बिगार गर्नु हुदैन” के त्यही काङ्ग्रेस एमाले कै फोहोरी राजनीति मै मिसिनु पर्ने थियो भने किन रक्तपात मच्चाउने हजारौं मानवीय क्षेति गराएको ? राजनीतिको भरपुर फाइदा दिनुपर्ने / दिलाउनु पर्ने मानवीय पक्षमा नै होइनर ?
हो गणतन्त्र संघियता धर्म निरपेक्षता तत्कालीन माओवादी युद्धकै परिणाम हो। यदि तत्कालीन माओवादी युद्धले सशस्त्र जनक्रान्ति नगरेको भए गणतन्त्रको लागि अरु पार्टी तयार थिएनन्। तर, काङ्ग्रेस एमाले र राजाको सकरात्मक तथा नकारात्मक प्रभावको कारण पनि लोकतान्त्रिक गणतन्त्र आएको हो ! गणतन्त्र स्थापना हुनुमा पूर्व राजा ज्ञानेन्द्रको पनि महत्वपूर्ण भूमिका छ ! यसको अर्थ राजालाई पुनः स्थापना गर्नु पर्छ भन्ने होइन, मृत्यु वरण गराइ सकेको व्यवस्था तिर अब सोच्न पनि सकिन्न, राजसंस्थाले पुनः स्थापना हुने सपना नदेखे हुन्छ। एकाईसौ शताब्दीको जनचेतना वैज्ञानिक युग हो, अबको समाजलाई वंश परम्परा बोक्ने कुनैपनि इन्टिच्युशन चाहिदैन। नयाँ पुस्ता र एकाइसौं शताब्दीको जनचेतना लाई राजाको कुनै पनि आवश्यकता पर्दैन। मात्र तात्कालिन राजा ज्ञानेन्द्रले अन्तिम लडाइ अर्थात् उनलाई सनक चढेको भए नेपालमा मानवीय क्षेति र राज्य व्यवस्था के हुन्थ्यो होला ? कल्पना गरौ त ! तत्कालीन राजा ज्ञानेन्द्रको संयमित मानवीय र राष्ट्रिय भावनाको उच्च मुल्यांकन गर्न सक्नुपर्छ। त्यसैले गणतन्त्र ल्याउने पहलमा ज्ञानेन्द्र शाहको पनि महत्वपूर्ण भूमिका हो। थियो भन्ने कुरा नकार्नु हुदैँन।
राजनीति वर्तमान र अग्रगामी कार्यदिशाका लागि हुनुपर्छ
‘राजनीति’ गर्नेले जहिले पनि नागरिक सर्वोच्चता हुने गरी सर्वसाधारण जनतालाई केन्द्रमा राखेर आफ्नो पार्टीको निति र घोषित कार्यक्रम बनाउनु पर्दछ । पार्टीको विचारहरू लाई धर्म शास्त्र जस्तो कहिल्यै बदल्न नमिल्ने हुनु हुदैन। तर,नेपालका काङ्ग्रेस र कम्युनिष्ट पार्टीहरुले देश, राष्ट्र र राष्ट्रियताको हितका काम गर्न नसक्नुको मुख्य कारण व्यक्ति विशेष लाई केन्द्रमा राखेर नागरिकहरुलाई पाखामा पार्दै आए । काङ्ग्रेसले वि सं २००३ मा स्थापना भएको विचार लाई बोकिरहेको भन्दै ‘विशेश्वर प्रसाद कोइराला’ र अझ कम्युनिष्टहरुका त नाम झनै बबालै नौटंकी ! सन् १८०४८ को कम्युनिष्ट मेनिफिष्टो बाट सुरु गरेर अठारौं र उन्नाइसौं शताब्दी तिर फर्केर माक्स, एङगेस, लेलिन, स्टालिन, माओत्सेतुङ ! वाद ! आदर्शका कुरामा त कम्युनिष्टहरु धेरै माहिर भेटिन्छन् । पछिल्लो परिवर्तन २०४६ देखि मात्र हेर्दा पनि ३३ वर्ष यसरी नै नेपाली समाजलाई भुलभुलैयामा राख्दै आएका छन्। नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलाल (२००६) पछि ७३ वर्ष देखि उही पुरानै रटान !
यस्तो राजनीतिक अवस्था सधैं रहनु हुदैँन, अब धेरै धैर्य धारण गरिरहनु हुदैँन, कोर्ष करेक्सन गरौ, बदल्नु पर्ने बिषय र अबस्था माथि बहस छलफल गरौ/काम नलाग्ने कुरा बदल्नु पर्दछ। नेपाली समाजको बनावट अनुसारको राजनीतिक दल र नेपालको आफ्नै मौलिक ढाँचामा समुन्नत (समाजवाद) लोकतन्त्रको अभ्यास गर्दै सुशासन सहितको समृद्ध नेपाल निर्माणका लागि वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नुपर्ने बस्तुस्थिति बनेको हुदाँ वर्तमान संविधानका आधारभूत कुराहरु प्रति प्रतिबद्ध रहेर उक्त संविधानमा अधुरा,अपुरो भएका बिषयहरुमा सुधार गर्दै संघियता र सुशासन लाई बलियो बनाउने राजनीतिक दल निर्माण गर्ने हाम्रो चाहना हो। संघियता, गणतन्त्र, लोकतन्त्र, धार्मिक स्वतन्त्रता र सुशासन कायम राख्दै ‘समृद्ध नेपाल खुसी’ नेपाली समाज आजको राजनीतिक एजेण्डा बन्नुपर्छ। भ्रष्ट, दलाल र राज्यसत्ताका नितिगत भ्रष्टाचार लाई सदाका लागि बिदा दिने तयारी साथ बिल्कुलै नयाँ वैकल्पिक कांग्रेस,एमाले र माओवादी केन्द्र हेर्दाखेरि अलग सिद्धान्तका हुन कि भन्ने देखिन्छन् ! तर,सत्तामा पुगेपछि सत्ता संचालन गर्ने प्रवृत्ति किञ्चित भिन्न छैन’
राजनीतिक शक्ति निर्माण गर्न लागौ । सबैको जय होस्


