जेपी गुप्ता ।
प्रदेश–१ को नाम अब ‘कोशी प्रदेश’ भयो । पहिलो संविधानसभाको ‘राज्यको पुनर्संरचना एवं शक्तिको बाँडफाँट समिति’ मा लामो तथा बृहत छलफल भएको थियो। म स्वयं पनि त्यहाँ उपस्थित रहेको एक साक्षी हुँ। त्यस समितिमा स्वीकारिएको प्रदेश रचनाका मूल आधारहरू मध्ये ‘सामर्थ्य’ लाई पहिले नै सात प्रदेशको निर्धारण सँगै इन्कार गरियो। थोरै आश रहेको ‘पहिचान’ को मान्यतामा ‘मधेस’ नामाकरण एक अपवाद हो। यस अपवाद बाहेक अब कोशी नामाकरणले पहिचानको मान्यतालाई पूर्णतः समाप्त पारियो। पूर्वका लिम्बुवान, किरात, मध्यका ताम्सालिंग, त्यस पश्चिमका मगरात अनि सुदूर पश्चिमका खसानले मिलेर, संघीयता बिरोधीहरूका पिछलग्गु भई मधेसलाई शत्रु ठाने। भारतका दलाल भनिरहे।
मधेस भित्रका थारू, मुसलमान र दलितले पहिचानका उन्माद अनि एमाले–काँग्रेसको मलजलमा मधेसलाई इन्कार गरे। अहिले यिनका चाहनाहरू आक्कल झुक्कल पूर्व–पश्चिम राजमार्गका पुलहरू चिनाउने साइनबोर्डमा खुईलिएको अक्षरमा देख्न सकिन्छ।
मधेसका अभियन्ताहरू च्यातिएको, मुजामुजा परेको बजरंगी लंगौट जत्रो आकारको ‘मधेस प्रदेश’ पाएर सत्ताको चास्नीमा लतपतिएका छन्। बाँकी लिम्बुआन, किरात, ताम्सालिंग, मगरात तथा दलितहरूले त कुनै बेला पहिचानको जुलुसमा सहभागी रहेको स्मृति याद गर्नु बाहेक के पाए त ? यस मध्येका धेरै अभियन्ताहरू त आज भोली एमाले, काँग्रेस र माओवादी नेताहरूको आठपहरीया जस्तो ड्यूटी गरेको मात्र देखिन्छन्।
मेरो आलोचना गर्नोस्। सत्तो सराप गर्नुस्। सत्य यही नै हो, तर्क जे दिनोस् !


