-रमेश मल्ल
आजको राजनैतिक परिवर्तनलाई उल्टाउन, टुंगोमा पुग्न थालेको शान्ति प्रक्रियालाई बिथोल्न र देशलाई अन्तहिन अन्तरकलह र द्वन्द्वमा धकेल्न केहि तत्वहरु न्वारान देखिको बल लगाएर लागि परेका छन।
भुकम्प, कोभिड १९ हुँदै रसिया – युक्रेन युद्धका कारण विश्वव्यापी संकटको रूपमा देखा परेको आर्थिक मन्दी र संकटबाट नेपाल पनि अछुतो रहेको छैन । मुलुक अप्ठ्यारो परेको बेला राजनैतिक दल, राष्ट्रिय शक्ति र संस्थाहरुको राष्ट्रप्रतिको दायित्व बढ्न जान्छ। उनीहरुबिचमा सहकार्य र न्युनतम मुद्दामा राष्ट्रिय सहमति अनिवार्य बन्न पुग्दछ।
आज सम्माननीय प्रधानमन्त्री राष्ट्रप्रतिको पुरापुर इमानदारी र जिम्मेवारीका साथ राष्ट्रिय सहमति निर्माण गर्दै मुलुकलाई अगाडि बढाउने ढृढ इच्छाशक्ति लिएर अगाडि बढिरहनु भएको छ। जनतामा परेका जनजिविकाका समस्या सम्बोधन कसरी गर्ने भनेर प्रधानमन्त्रीज्यु निरन्तर छलफल र कर्ममा कृयाशिल हुनुहुन्छ।
कृषि क्षेत्रका समस्या, वित्तीय क्षेत्रमा देखिएको समस्या, चर्को व्याजदर र त्यसले व्यवसाय र जनतामा पर्न गएको असर आदि जस्ता यावत समस्याको समाधान कसरी दिने भन्नेबारे नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र निजि क्षेत्रका प्रतिनिधिहरुसंग समेत प्रधानमन्त्रीज्युले निरन्तर छलफल गरिरहनु मात्र भएको छैन केही स्थानमा पोलिसी ब्रेक गरेर भए पनि जनतामा देखिएको वेचैनी र संकटलाई निवारण गर्ने कोसिस पनि गरिरहनु भएको छ। यसको सकारात्मक प्रभाव र परिणाम हामीले देख्ने नै छौं ।
तर एकथरी प्रतिगामी तत्वहरुलाई प्रधानमन्त्रीज्युले राष्ट्र र जनताको लागि गरेको पहल मन परेको छैन र षड्यन्त्रका अनेक ब्युहरचना गरिरहेका छन। आज मुलुकको शान्ति बिथोल्ने, अराजकता सिर्जना गर्ने र व्यवस्थालाई नै चुनौती दिने उद्देश्यले गरिएका गतिविधिप्रती सावधान रहन आवस्यक रहेको छ। यस्ता अबान्छित गतिविधि नियन्त्रणमा सहयोग गर्नु सम्पुर्ण देशभक्त, प्रगतिशील र लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरुको कर्तव्य हुन पुगेको छ।


