जेपी गुप्ता ।
दश बर्षभयो, एक दशक अघि म डिल्लीबजार जेलमा हुँदा एक भारतीय पत्रिकामा एउटा बृहद् सर्वेक्षणको समाचार पढेको थिएँ । संभवतः त्यस बेलासम्मको त्यो भारतकै सबभन्दा ठूलो सर्वेक्षण थियो। त्यस्तै लेखिएको थियो । संसारकै सबभन्दा प्रभावशाली अमेरिकन टेलिभिजन कम्पनी सिएनएन– आइबिएन (CNN-IBN) त्यसको आयोजक थियो। त्यस सर्वेक्षणका लागि दुई करोड मानिसले आफ्नो राय दिएका थिए । भारतका नाम चलेका तथा मान्य संस्था सरह दरिएका ख्यातिप्राप्त व्यक्तित्वहरूको जुरीले नौ सप्ताहसम्म घनिभूत छलफल गरेका थिए। बिषय थियोः महात्मा गान्धी पछि भारतका सर्वाधिक प्रभावशाली व्यक्तित्व को हुन् ? दुई करोड मानिस, अर्थात् नेपालको कूल जनसंख्याको वयस्क मानिस जतिको रायबाट दशजना अति प्रभावशाली व्यक्तिको नाम छानिएको थियो।
त्यस छनौटमा जवाहरलाल नेहरू, सरदार बल्लभभाई पटेल, बाबा साहेब भीमराव अम्वेडकर, मदर टेरेसा, इंदिरा गांधी, जेआडी टाटा, एपीजे अब्दुल कलाम, अटलविहारी वाजपेयी, लता मंगेशकर र सचिन तेन्दुलकरको नाम परेको थियो। यस मध्ये जुरीले अब एकजना छान्नु थियो । यो पक्कै सजिलो थिएन।
नेहरू– भारतको पहिलो प्रधानमन्त्री, धर्म निरपेक्ष, उदार लोकतन्त्र र प्रगतिका पथद्रष्टा र कर्ता दुबै थिए। आफ्नो समयका र पछि सम्मका तुलनीय व्यक्तित्व। पटेलले स्वाधिनता पछि अराजक भैसकेको भारतलाई स्थिरता दिए। पहिलो गृहमन्त्री भई लौह पुरूषको रूपमा पाँच सय राज्य–रजौटाहरूलाई भारतीय संघमा जोडेको श्रेय बोकेको व्यक्तित्व। अर्को अतुलनीय व्यक्तित्व। अम्वेडकर भारतीय संविधानका जनक हुन्। स्वतन्त्रोत्तर भारतका महानायक अर्को अतुलनीय व्यक्तित्व। मदर टेरेसा सद्भाव, दया, करूणाकी प्रतिमुर्ति । भारतीय भूमिबाट विश्वलाई प्रभावित गरेकी सर्वाधिक उल्लेखनीय–स्मरणीय । कसैसँग तुलना गर्न नसकिने। इन्दिरा गान्धी भारतका पूर्व प्रधानमन्त्रीहरूको श्रेणीमा पर्ने असाधारण नाम। देशभक्त र परमाणविक स्वप्न साकार तुल्याएकी दुर्गा अवतारमा चर्चा गरिएकी । एक देशको प्रधानमन्त्री भई अर्को स्वतन्त्र राष्ट्रको जननी। अद्वितीय प्रतिभा । जेआडी टाटा भारतीय औद्योगिकीकरणका जनक। औद्योगिकीकरणमा राष्ट्रवादको अन्तरघुलन गराउने भारत रत्न। देशको विकाशमा कुनैपनि राजनीतिज्ञको भन्दाबढी योगदान पुर्याएका व्यक्तित्व। एपीजे अब्दुल कलाम पिपुल्स प्रेसिडेन्ट। शिक्षा–विज्ञान र विकाशका सर्वाधिक ज्ञानी शिक्षक। भारतका मिसाइल म्यान अनि राष्ट्रपति। अटलविहारी वाजपेयी भूराजनीतिमा क्षेत्रीय सदभावका पक्षधर, महान संवाद–संवाहक र दुश्मनरहीत राजनेता। भारतीय सांस्कृतिक अस्मिताका अतुलनीय प्रवर्द्धक। लता मंगेशकर एक्लै हिन्दी र अन्य भारतीय भाषाका पचास हजार गीतहरूको गायिका। राष्ट्रिय धरोहर तथा नाइटिंगल अफ इंडिया नाम पाएकी। अनि सचिन तेन्दुलकर, बीसौं शताब्दीको भारतका युवाहरूको भगवान र महानायक। नव भारतीय राष्ट्रिय भावधाराका सबभन्दा बलियो सेतू। त्यो भारत नै थियो जहाँ एक से एक एकापसमा अतुलनीय व्यक्तित्वहरू थियो।
वास्तवमा हरेकका छुट्टाछुट्टै पहिचान र कालजयी योगदान भएको। सबै व्यक्तित्वहरू शत्रुबाट पनि प्रशंसित। यिनीहरू मध्येबाट छानिए–बाबा साहेब भीमराव अम्वेडकर । महात्मा गान्धी पछि भारतका सर्वाधिक प्रभावशाली व्यक्तित्व। अम्वेडकर नेहरू जस्तो शासक र स्वाधिनता आन्दोलनमा गान्धी पछिका नेता थिएनन् । उनि पनि नेहरूका मन्त्री थिए, तर पटेल जस्तो पहिचान उनको थिएन, माथि भनिएकाहरू मध्येका विशिष्टता भन्दा धेरै भिन्न रूपको मूल्यांकन अम्वेडकरको गरियो। जस्को सबैभन्दा मुख्य बिषय थियो–अम्वेडकरले भारतको संविधानको मस्यौदा गर्दा सन् १९४७ मा देख्दै नदिखएको तर, भारतको राजनीतिले आउने एकसय बर्षसम्म सामना गर्नुपर्ने समस्याको तेतीखेरै अनुमान गरेर उनले भारतीय संविधानलाई सामाजिक यथार्थको आधारमा लचकदार बनाएका थिए। त्यो संभाव्य समस्या थियो–“न्याय र समानताको अभावमा भारतीय समाजको बिखण्डनको अवश्यंमभावी संभावना।” भारत जस्तो सामाजिक–राजनीतिक र आर्थिक अन्तर विरोधाभाषयुक्त विविधता भएको देशमा एकताको सबभन्दा ठूलो आधारनै न्याय र समानतामा अडेको भारतीय राज्य व्यवस्थाको संरचना हुनेछ भन्ने कुरा अम्बेडकरले बुझेका थिए। सोही अनुरूप उनले भारतीय संविधानको संरचना गरे, र भारतीय संविधानमा सकभर सबै मुख्य जाति, समुदाय, भौगोलिक, धार्मिक आदि पहिचानको मान्यतालाई अकाट्य स्थान दिए।
आज भारतमा न्याय र समानताको मांग गरेर उठने गरेका सबैखाले समस्याहरूको समाधानको उपाय भारतीय संविधानमा छ र भारतीय संविधानले त्यस्ता समस्याहरूको समाधानका लागि राजनीतिज्ञहरूले मन बनाउनै पर्ने बाध्यात्मक अवस्था निर्माण गरेको ठहर जुरीले गर्यो र अम्वेडकरलाई, महात्मा गांधी पछि भारतका सर्वाधिक प्रभावशाली व्यक्तित्वमा छान्यो। अहिले पश्चिमा तथा अमेरिकीहरू प्रजातन्त्र नभएको समाजलाई सभ्य समाज भन्दैनन्। आजभन्दा ७२ बर्ष अघि अम्बेडकरले न्याय र समानता नभएको समाज भोलि सभ्य समाज बन्न नसक्ने भनेका थिए।
मैले यो सर्वेक्षण पढेको १० बर्ष भयो। यस बीच भारतमा पनि नयाँ चिन्तनको प्रभावकारी बिस्तार भएको छ। धर्म निरपेक्षता, अल्पसंख्यकका अधिकारहरूको प्रतिरक्षा, संसदीय प्रजातन्त्र, सर्वकालिक मानव अधिकारको प्रत्याभूति जस्ता बिषयहरूमा परिवर्तनको जोडदार चर्चा छ–शायद यदि आजको दिनमा जुरीले छान्नु परेको भए संभवत केही अरू नामहरू पनि आउने थिए होलान्। तरपनि अम्वेडकरलाई छान्नुको सिधा अर्थ थियो–उनले सामाजिक र राजनीतिक न्याय साथै मुलुकको संविधानका माध्यमबाट मुलुकबासीको पहिचानको मान्यतालाई अकाट्य रूपमा स्थापनालाई संविधानमा प्राथमिकता दिए। फलतः संसारका सबभन्दा बढी विविधता भएको भारतलाई तेस संविधानले स्थिरता दियो।
नेपालमा भारत बुझ्ने धेरै विद्वानहरू छन्। उहाँहरू सबैलाई थाहा छ–अहिले केन्द्र शासित गरेर त्यहाँ ३६ वटा प्रदेशहरू छन्। भारत स्वतन्त्र भएको बेला यो संख्या थिएन। सन् ५३ मा भारतमा १७ वटा पूर्ण प्रदेशहरू थियो, अहिले २९ पुगेको छ। शायद हामी सबैलाई थाहा होला कि भारतमा बढेको प्रदेश संख्या जन अपेक्षाको बिस्तारित रूप पनि हो। यहाँ यी कुराहरू लेख्दा म बडो संशयमा छु । यसको अर्थ नलागोस् कि म नेपालको बिपन्न आर्थिक अवस्था र अराजक राजनीतिक अवस्थालाई बेवास्ता गर्दै अझ ७ वटा भन्दापनि बढी प्रदेशहरूको पक्षमा छु। कदापि पनि होइन। अपितु यति मात्र भन्न चाहन्छु कि के हाल रहेका ७ वटा प्रदेशमै, यसैको नामाकरण समेतका बिषयमा मुलुकबासीका पहिचानको अपेक्षालाई पुरा गर्न सकिन्नथ्यो ?


