+

चलचित्र ‘महाराजधिराज’को आपत्तिजनक सामग्री नहटाए प्रदर्शन गर्न नदिने मञ्चको चेतावनी

३ माघ २०८१, बिहीबार १४:१८

काठमाडौं । राष्ट्रिय सरोकार मञ्च नेपालले आगामी २०८२ सालमा प्रदर्शनको तयारी रहेको नेपाली चलचित्र महाराजधिराजका विषयवस्तुप्रति आपत्ति जनाएको छ ।

मञ्चले बिहीबार विज्ञप्ति जारी गरी चलचित्रमा नेपाली इतिहासमा गौरवशाली योगदान दिएका महाराजधिराजका पदवीको अपमानित तरिकाले तस्बिर सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको हो । मञ्चले यस्ता गतिविधिमा तुरुन्तै रोक लाउन माग गरेको छ ।

यस्तो छ मञ्चको विज्ञप्ति

विषयः हाम्रो सम्पदा र पहिचानको आत्मामा ठेस पुगेकोले घोर भत्र्सना तथा कारबाहीको दायरामा पर्ने चेतावनी।
उपरोक्त विषयमा आउँदो २०८२ सालमा प्रदर्शनको तयारी रहेको’ महाराजधिराज’ नामक चलचित्रमा केही संस्कारविहीन र सम्पदा तथा पहिचान बिरोधी निर्माण कम्पनी, निर्देशक र बिक्रेताहरुले नेपाली इतिहासमा गौरवशाली योगदान दिएका महाराजधिराजका पदवीको जुन किसिमको अपमानित तरिकाले तस्बिर सार्वजनिक गरेका छन् यसको राष्ट्रिय सरोकार मञ्च नेपाल लगायत सम्पुर्ण राष्ट्रभक्त तथा देशभक्त नेपाली संघसंगठन घोर भत्र्सना गर्दै नेपाल सरकार समक्ष यस्ता गतिविधिमा तुरुन्तै रोक लाउन अनुरोध गर्दछौँ। हाम्रो आत्मा सम्मानमा ठेस पुगेकोले घोर आपत्ति रहेको सहर्ष जानकारी गर्दछौं।

नेपाली चलचित्र देशको गौरव हो र कलाकार देशका गहना हुन्। कलाकारको माध्यमबाट देशमा हरेक कुराको सुचना, जनजागरण तथा कृतीहरुको विषय सहजै जनताको मन मष्तिस्कमा पुग्दछ। तर यदि कलाकारले कु–संस्कार रूपले संस्कृतिको प्रचारप्रसारमा आफ्नो प्रस्तुति दिन्छन् तब जनताले त्यही सत्य ठान्दछन् र त्यसैको अनुशरण हुन्छ र असभ्य समाजको निर्माण हुन पुग्दछ। हामी हाम्रो मौलिक सभ्यता, राष्ट्रिय पहिचान, गौरन्वान्वित राजसंस्था, धर्म–संस्कृति र राष्ट्र राष्ट्रियता मा आँच आउने कुरा कुनै हालतमा सह्य हुँदैन भन्ने जानकारी गराउँदछौं। नेपाली समाजमा अहिले पारपाचुके(सम्बन्ध बिच्छेद) बढ्नु, पहिरन असभ्य र बिकृतीजन्य हुनु र धर्मान्तरणको प्रमुख जड भनेको नेपालका गतिछाडा तथा पश्चिमा डलरमा बिकेका कलाकार र तिनका कलाकारिताले गर्दा हो। नेपालको मौलिक संस्कृती, सभ्यता र युगको इतिहास बोकेको धरोहरको धज्जी उडाउनु यो निन्दनीय मात्रै होइन सरासर कु–कृत्य हो।

नेपाली संस्कारमा विवाह र सिन्दुरको कति महत्त्व हुन्छ। तर केही कु संस्कारले भरिएको कलाकारले हाम्रो बिवाह र सिंदुर भनेको एउटा पासो हो श्रीमान श्रीमतीको नाता भनेको नारीको स्वतन्त्रताको बन्धक हो भन्ने खालको भ्रामक प्रचार गरेको प्रति नेपालका धार्मिक संघ–संगठन र नेपाली जनता किन मुकदर्शक बनेका छन? यस्ता कु–कृत्य गर्ने प्रमुख कलाकारहरु मध्ये प्रियन्का कार्की र दिया मास्के(समिक्षा अधिकारी र बिग्यानी पराजुली गायकद्वय, हर्क साउदको लेखन) अभिनीत ममी चलचित्र को सिन्दुरको धर्को पासो गलाको बोलको गित रहेको छ। त्यस्तै अर्को प्रदर्शनमा रहेको महाराजधिराज भन्ने सिनेमाको कलाकार मध्ये (पल शाह, निर्देशकत्रय टोपेन्द्र विष्ट, चक्रबहादुर केसी, रवी खड्का), प्रस्तुती विराज विष्ट, लेखन तथा निर्देशन परिक्षित सेन, गोविन्द साही डिस्ट्रिव्युटर लगायतका कलाकारहरुलाई चेतावनी स्वरूप यो भत्र्सना पत्र जारी गर्दै यस्ता अराजक गतिविधि झल्किने सामग्रीहरुप्रति हामी घोर निन्दा रहेको सुचित गर्न चाहन्छौँ। आगामी दिनमा यस्ता क्रियाकलाप नरोकिए सशक्त आन्दोलन सहित यस्ता निन्दनीय सिनेमाको प्रदर्शनमा समेत अवरुद्ध गर्ने कडा चेतावनी समेत दिन चाहन्छौं। जय कर्मनिष्ठ। जय मुक्ति अभियान। ॐ जय श्री शिव गोरख। जय राष्ट्र। जय राष्ट्रवाद ।

केन्द्रीय सचिवालय
राष्ट्रिय सरोकार मञ्च नेपाल