+

जनताले राजा माने, अब मान्ने पालो दल र नेताको

२६ फाल्गुन २०८१, सोमबार ०७:५९

 टिप्पणी । भन्नेले जे सुकै भनुन तर राजा ज्ञानेन्द्र शाह आईतवार पोखराबाट काठमाण्डौं फर्कदा एअरपोर्टदेखि निर्मलनिवाससम्मको स्वागत र्यालीमा जनसहभागिता ऐतिहासिक रहयो । हजारौंले स्वतःस्र्फूत राजालाई स्वागत गरेको देखियो । कुनै राजनीतिक दल वा समुह विशेष आयोजक नरहेको स्वागत र्यालीमा सहभागि समर्थकहरु संख्याको दृष्टिले ऐतिहासिक रेर्कड हो ।

यो जनसहभागिताले राजा जनताका प्रिय छन भन्ने प्रमाणित गरेको छ । काठमाण्डौंका लागि उडनु पूर्व पोखरामा पनि राजाले ठूलो जनसहभागिताका वीच बिदाई लिएका थिए । यस अघि करीब एक महिना उनले पश्चिमान्चलका जति जिल्लामा धार्मिक तथा अन्य भ्रमण गरे, त्यहाँ पनि अपार जनसहभागिता रहेको स्पष्ट छ ।

यसबाट राजाको पक्षमा जनलहर ह्वात्तै बढेको प्रमाणित हुन्छ । २०६५ जेठ २९ गते नारायणहिटीबाट रानी कामेललाई साथमा लिएर नागार्जुन रवाना हुदा राजासंग बिदाईको हात हल्लाउने संख्या सानो थियो । त्यतिबेला उनले गणतन्त्र कार्यान्वयनको लागि मार्ग प्रसस्त गरेर दरवार खाली गरिदिएका थिए । अहिले गणतन्त्रको करीब डेढ दशकमा उनै राजा गद्धी र श्रीपेच बिना नै जनजनका मनमा बस्न सफल भएको २०८१ फागुन २५ को स्वागत र्यालीले प्रष्ट पारेको छ ।

राजाको पक्षमा देखिएको यो जनलहर राजालाई पनि संवैधानिक रुपमा कुनै न कुनै स्थान दिनुपर्छ भन्ने जनआकाँक्षा मुखर भएको तथ्य पनि हो । जनताले चाहेरै पहिलो संविधान सभाको जनादेशको जगमा दरवार खाली गरिदिएका राजालाई अहिले जनताले नै दरवारमा भित्र्याउन चाहेको स्पष्ट छ । राजा वा राजसंस्थालाई गणतन्त्रले वा यो संविधानले चिन्दैन भनेर अब वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रका हिमायतीहरुलाई सुख वा छुट हुने छैन ।

एकदिनको र्याली वा प्रदर्शन मात्रैले राजसंस्था फर्कीहाल्छ भन्ने पनि हैन । राजनीतिक दलहरु वीच राप्रपा, राप्रपा नेपाल लगायतले भने झैं राजासंग नयाँ परिस्थितिमा नयाँ खालको सहमति र सहकार्यको रोडम्याप बनाउन अब गणतन्त्रवादी सबै दलहरु तयार हुनुपर्ने वातावरण बन्दै गएको छ । राजालाई दिनहुँ भाषणमा गाली मात्र गरेर राजाप्रतिको जनताको भरोसा र विश्वास कमजोर भैरहेको छैन, झन झन बढिरहेको छ । यो तथ्यलाई गणतन्त्रवादी सबै दलहरु, शीर्ष नेताहरुले आत्मासमीक्षा गर्न आवश्यक देखिन्छ ।
सबैभन्दा ठूलो समय नै हो । एक समय थियो, राजा एक्लै नागार्जुन जादा जनता हेरिरहे । जनताको मानवसागरले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपाललाई पुर्यायो । अहिले डेढ दशकमा समयले पल्टा खाएको छ, फेरि जनताकै मानवसागर सडकमा आएर राजा ल्याउँ, देश बचाउँ भनिरहेको छ । जनताको शक्ति अहिले राजाको पक्षमा फर्केको छ । यो कटु सत्यलाई गणतन्त्रवादीहरुले मन, वचन र कर्मले स्वीकार गर्न सक्नुपर्छ ।

अब कस्तो राजसंस्था, कुन विधि र बाटोबाट राजसंस्था भन्ने लगायतका सवालमा गणतन्त्रवादीहरु र राजसंस्था वीच सिधा कुरा हुनुपर्छ । संवाद, छलफल र विमर्श अनि निर्णय हुनुपर्छ । नेपालले हरेक राजनीतिक परिवर्तनमा अब आफैं निर्णायक हुने योग्यता र नजिर स्थापित गर्न सक्नुपर्छ । नेपालले अहिलेकै शासक दल, शासन प्रणालीबाट अग्रगमनको बाटो लिन सक्दैन । यसतर्फ सम्वद्ध सबैले बेलैमा होश पुरयाएर निर्णय गर्नुपर्छ ।

राजा वा राजसंस्थालाई निषेध हैन, संवैधानिक रुपमा विशेष स्पेश दिन दलहरु तयार हुनुपर्छ । गणतन्त्रवादीहरु सहमत हुनुपर्छ । शीर्ष नेताहरु राजासंग बृहत सहमति र सहकार्यका लागि तयार हुनुपर्छ । राजालाई चुनाव लडेर आउ भन्ने भाषणले जनताको राजसंस्थाप्रति देखिएको मोहको सम्वोधन हुदैन । जनताले राजालाई नागरिक तहबाट अनुमोदन गरिसके । अब राजनीतिक र संवैधानिक रुपमा पनि अनुमोदन गर्ने पालो दलहरुको हो । गणतन्त्रवादीहरुको हो । किन की जनता नै सार्वभौमसत्ताका मालिक हुन । जनता नै परिवर्तनका स्रोत हुन, कुनै पनि शक्तिलाई स्थापित वा बिस्थापित गर्ने जनता जनार्दन नै हुन ।

थप यो पनिः

२०६४ को परिदृश्यमा देश

सत्तामा रहेका पार्टीले प्रदर्शन गरेका शासकीय शैलीका कारण नै राजावादीको चलखेल बढेको होः प्रचण्ड

जनआक्रोश बढ्नुको कारण राजनीतिक नेतृत्व नै हो