काठमाडौं । उद्यमी एवं लेखक जीवा लामिछानेको संस्मरण ‘अक्षत अन्टार्कटिका’ लोकार्पण भएको छ। बुधबार प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको एक कार्यक्रममा लेखक लामिछाने र लेखक एवं पत्रकार वसन्त बस्नेतले कृतिको लोकार्पण गरेका हुन् ।
लोकार्पणपछि पत्रकार बस्नेतले लेखक लामिछानेसँग संवाद गरेका थिए। संवादका क्रममा लेखक लामिछानेले पृथ्वीको सबैभन्दा रहस्यमय एवं कौतुकमय स्थानको भ्रमण गर्ने पहिल्यैदेखि इच्छा रहेको र त्यो गत वर्ष सम्भव भएपछि कृति लेखिएको बताए ।
उनले भने, ‘म घुम्न रुचि भएको मान्छे हुँ। यसअघिका नियात्रामा घुमेका ठाउँको सपाट वर्णन गर्ने गरेको थिएँ । तर अक्षत अन्टार्कटिकामा फरक प्रयोग गरेको छु। नियात्रालाई पनि आख्यानीकरण गर्ने प्रयास गरेको छु। यसलाई पाठकले पक्कै फरक स्वादका रूपमा मन पराउनुहुनेछ।’
हिँवैहिउँको महादेश अन्टार्कटिकामा चिसो मात्रै नभएर सौन्दर्य पनि रहेको लेखक लामिछानेले सुनाए। कृतिमा वैश्विक चिन्तन, मानवीय सम्बन्ध र सरोकारलाई हार्दिकतासहित अभिव्यक्त गरिएको छ ।
१२ दिनको अन्टार्कटिका यात्रापछि लामिछानेले लेखेको ‘अक्षत अन्टार्कटिका’लाई फाइन प्रिन्टले प्रकाशन गरेको छ। यसअघि उनका ‘सरसर्ती संसार’ र ‘देश–देशावर प्रकाशित छन्।


