वीरगंज । श्रीरामको जन्मोत्सव रामनवमीको अवसरमा आज बिरगंजमा भव्य शोभा यात्रा निकालिएको छ । वीरगंजको सब भन्दा पुरानो राममन्दिर बिरगंज महानगरपालिका स्थित घडीअर्वाबाट सुरु गरिएको शोभा यात्राले वीरगंजको नगर परिक्रमा गरेको थियोे । उक्त शोभा यात्रामा वीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह, मन्दिरका पुजारीहरू, धार्मिक संघसंस्थाका प्रतिनिधि र नगरबासीहरूको उल्लेखनीयरुपमा सहभागिता रहेको थियो ।
यात्रामा भजन-कीर्तन, धार्मिक झाँकी तथा श्रद्धालुहरूको उत्साहपूर्वक सहभागिताले वातावरण भक्तिमय बनाएको थियो । रामनवमी, जसलाई राम जयन्ती पनि भनिन्छ, भगवान् रामको जन्मदिवसका रूपमा मनाइन्छ । नवमीका दिन रामचन्द्रको जन्म भएको धार्मिक विश्वास रहिआएको छ। उनलाई भगवान् विष्णुको सातौँ अवतारका रूपमा पूजिने गरिन्छ ।
आज देशभरका राम मन्दिरहरूमा विशेष पूजा, रामायण पाठ, गीता वाचन, भजन–कीर्तन र व्रत बस्ने कार्यक्रमहरू आयोजना गरिएको छ । श्रद्धालुहरूले घरघरमा समेत भगवान् रामको पूजा आराधना गरी रामनवमी पर्व उल्लासपूर्वक मनाइरहेका छन् । धार्मिक शास्त्रअनुसार भगवान् रामले आफ्नो जीवनमा आदर्श, नैतिकता र मर्यादालाई सर्वोच्च स्थान दिएको बताइन्छ, जसका कारण उहाँलाई मर्यादा पुरुषोत्तम उपाधि दिइएको हो।





