काठमाडाैँ । ‘महजोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा महजोडीका नामले स्थापित उनीहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रूपमा सहकार्य गरिरहेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टीभी शृंखलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रूपमा परिचित छन् ।
महजोडीका रूपमा उनीहरूको सहकार्यले आज १४ वैशाखमा ४५ वर्ष पूरा भएको छ । करिब आधा दशकसम्म निरन्तर रूपमा जोडी बनेर दर्शकको मन जित्न सक्नु र आफ्ना लागि एउटा सम्मानित पहिचान स्थापित गर्न सक्नु नै उनीहरू दुईको इमानदारीको उदाहरण हो ।
यो ४५ वर्षको सहकार्यमा महजोडी बनेर काम गर्दा दुवै कलाकारले नामसँगै दाम पनि कमाए । तर, जति लाभ हुन्छ, त्यति नै लोभ बढ्ने सम्भावना पनि हुन्छ । यसको प्रभाव पनि यो जोडीले हावी हुन दिएनन् । फलतः सहकार्यको झण्डै आधा दशक कलासाधनामा समर्पित भई दर्शकसहित आमनेपालीको मन जित्न महजोडी सफल भएको देखिन्छ ।
यसै सन्दर्भमा अभिनेता आचार्यले आफूलाई भाग्यमानी पुस्ताका रूपमा बुझेका छन् । किनकि कलाकारिताको दौरानमा उनीहरूले प्रविधिगत र राजनीतिक धेरै परिवर्तनलाई नजिकबाट बुझ्न पाए । ‘हामीले रङ्गमञ्चमा प्रहना गर्यो, क्यासेट बनायौँ, टेलिभिजनका लागि शृंखला बनायौँ, चलचित्रमा पनि काम गरायौँ, त्यस कारण पनि म र मदन दाइ भाग्यमानी पुस्ता बन्न पुग्यौँ । हामीले सबै माध्यममार्फत आफ्नो कामलाई देखाउने मौका पायौँ । अहिले पनि हामीले पुराना कामलाई अत्याधुनिक प्रविधिमा रूपान्तरण गरेर ‘डिजिटल’ रूपमा उपलब्ध गराएका छौँ,’ अभिनेता आचार्यले भने ।
उनले महजोडीले यो यात्रा पार गर्नुमा आपसी सम्बन्ध, पारिवारिक हार्दिकता र दर्शकको माया रहेको बताए । ‘दर्शकले हामीलाई एकसाथ हेर्ने इच्छा नराख्नुभएको भएँ हामीले यत्रो यात्रा पार गर्न सम्भव थिएन । अनि हामीलाई परिवारले सधैँ सहयोग गरेर अगाडि बढ्न मद्दत गर्यो । हाम्रो सम्बन्धमा उनीहरू हावी भएनन् । यसका साथै हामीले गरिरहेको कामले दुवै नाम दियो, एउटा स्थान बनायो । एकअर्कासँग कहले आरिस (इगो) राखेनौँ, सधैँ दर्शकको भावनाअनुरूप प्रस्तुत भइरह्यौँ’, अभिनेता आचार्यले भने ।
यसैगरी, अभिनेता श्रेष्ठले मिलेर काम गरेमा त्यसले सफलता दिने बताए । उमेरका हिसाबले ७५ वर्ष पुगेका अभिनेता श्रेष्ठले चलचित्रसहित विज्ञापनमा अझै सक्रिय भई काम गरिरहेका छन् । उनले कामका सिलसिलामा कहिले त्यसको लाभ–हानि हाबी हुन नदिएको बताए ।
उनले भने, ‘हामी कहिले पैसाको पछाडि लागेनौँ, काममै केन्द्रित भयौँ । त्यसले हामीलाई नाम र दाम दुवै दियो । फेरि दुवैको नाम र काम एउटै छ, त्यस कारण पनि हामीले सोच्नुपर्ने केही थिएन । हामीमा इमानदारी छ, सद्भाव छ, सदैव एकअर्काको राम्रो भएको हेर्न र सुन्न चाहन्छौँ, त्यसैले यति लामो समयसम्म महजोडीका रूपमा यात्रा तय गर्न सकेका हौँ ।’
उनले स्वास्थ्यले साथ दिएसम्म आफूहरू एकसाथ काम गरिरहने बताए । पछिल्लो समय दुवै जनाले एकसाथ चलचित्र ‘महापुरुष’मा काम गरेका थिए । त्यसपछि अभिनेता आचार्यले ‘महाजात्रा’, ‘भूठान’ र ‘हरिबहादुरको जुत्ता’ मा अभिनय गरिसकेका छन् । यस्तै, अभिनेता श्रेष्ठले पनि ‘पहाड’ र ‘परान’ नामक चलचित्रमा काम गरेका छन् । छुट्टिएर चलचित्रको छायांकन गर्दा होस् वा भोजमा, जहाँ जाँदा पनि एकलाई देखेपछि अर्कालाई खोज्नु स्वाभाविक छ । ‘मलाई हरिजी खोइ भनेर सोध्नुभयो भने यहीँ त छन् नि, मभित्रै छन् भनेर भन्ने गरेको छु । कार्यक्रममा मात्र होइन, चलचित्रको छायांकनमा पनि सोधिरहनुहुन्छ,’ अभिनेता श्रेष्ठले भने ।
कम्पनी ‘मह सञ्चार’मा २०६० सालदेखि जोडिएका निर्देशक प्रदीप भट्टराई पारिवारिक सदस्यझैँ देखिन्छन् । सामान्य सहयोगीका रूपमा शृंखलामा काम गर्न जोडिएका निर्देशक भट्टराईले धेरै शृंखलामा मुख्य सहायक निर्देशक र केही शृंखलामा निर्देशक नै भएर काम गरे । चलचित्रकै सन्दर्भमा ‘शत्रु गते’ र ‘महापुरुष’ मा महजोडीलाई निर्देशक भट्टराईले निर्देशन गरेका छन् ।
‘उहाँ दुई मेरा लागि जीवित भगवान् झैँ हुनुहुन्छ । उहाँहरूको कर्मजस्तो छ, व्यवहार पनि त्यस्तै छ । मलाई त कर्म सिकाउने गुरु नै उनीहरू हुनहुन्छ, मैले जे भने पनि उहाँहरूका लागि शब्द कम नै हुन्छ, मलाई एउटा छोराकै रूपमा माया गर्नुहुन्छ,’ निर्देशक भट्टराईले भने ।
महजोडी एकसाथ नदेखिँदा सधैँ प्रश्न गर्ने गरिएको निर्देशक भट्टराईले देखेसुनेका छन् । टेली शृंखलामा काम गर्दा होस् वा चलचित्रमा दुई एकसाथ नदेखिँदा प्रश्न तेर्सिनु स्वाभाविक हो । र, उनीले महजोडीलाई ‘दुईमै एक र एकमै दुई’ देखेका छन् । जहाँ ‘म’ त्यहाँ ‘ह’ पनि हुने बुझाइ निर्देशक भट्टराईको छ । त्यस कारण महजोडीलाई शीर्ष भूमिकामा लिएर गज्जबको चलचित्र बनाउने रहर उनको छ ।
‘उहाँहरूको क्षमतासँग म नजिकदेखि परिचित छु, त्यसैले एउटा गज्जबको चलचित्र बनाउने रहर छ । कथा पनि सोचिरहेको छु, किनकि उहाँहरूप्रति दर्शकको अपेक्षा बढेको छ, म आफैँ पनि अभिनय गराउनकै लागि गराउने पक्षमा छैन । त्यस कारण उहाँहरूलाई पर्दामा देखाउन पाउँदा म पनि दर्शकझैँ खुसी हुन्छु,’ निर्देशक भट्टराईले भने ।
हास्य कलाकारका रूपमा चिनिएका महजोडी अहिले आफूलाई फरक भूमिकामा प्रस्तुत गरिरहेका छन् । अभिनेता आचार्यले अभिनय गरेको ‘भूठान’ मा एक दृश्यमा मात्र हाँसेको देख्न पाइन्छ । ‘बलिदान’पछि पूर्णतया गम्भीर भूमिकामा अभिनेता आचार्य प्रस्तुत भएका छन् । यसअगाडि अभिनेतामा हुने नवरसमध्ये हास्यरस हावी हुँदा उनीहरू हास्य कलाकारका रूपमा बढी प्रस्तुत भएका निर्देशक भट्टराईले बताए ।
‘उहाँ दुई नै पूर्ण कलाकार हुनुहुन्छ । हामीले शृंखलामै केही फरक र भिन्न काम गरेका छौँ । मैले उनीहरूमा अभिनेतामा हुने सबै गुणलाई देखेको थिएँ, त्यही भएर नै ‘महापुरुष’ चलचित्रमा केही भिन्न रूपमा प्रस्तुत गरेँ । अहिले दर्शकले पनि बिस्तारै बुझ्दै हुनुहुन्छ, उहाँहरू सबै किसिमका भूमिका गर्न सक्ने लोकप्रिय एवं सर्वस्वीकार्य कलाकार हुनहुन्छ,’ निर्देशक भट्टराईले भने ।
गत वर्ष मात्र महजोडीले विदेश र नेपालमा ‘मह जात्रा’ गरेका थिएँ । आउँदो समयमा पनि सँगै काम गरी सहकार्यलाई निरन्तरता दिने पक्षमा उनीहरू छन् । छोटो समयमा नाता–सम्बन्ध टुट्ने अहिलेको जमानामा वरिष्ठ कलाकार श्रेष्ठ र आचार्यको दोस्ती र सहकार्यले ४५ वसन्त पार गर्नु एकअर्काप्रतिको इमानदारी र सम्मान नै हो ।


