सम्पादकीय ।
भ्रष्टाचार अन्त्य र शुसासनको माग गर्दै प्रदर्शनमा उत्रेका जेनजी पुस्तामाथि बर्बर दमन गर्ने सत्ता र शासकको दुखान्त अन्त्य भैसकेको छ । प्रधानमन्त्रीबाट केप ीओलीले गुपचुप दिएको राजीनामासंगै अब देश नयाँ राजनीतिक कोर्षमा प्रवेश गरिसकेको छ । १९ कलीला निर्दोष जीवनको रगतसंग साटिएर दलतन्त्रको दुखद अवशान भएको छ । काँग्रेस, एमालेको कथित दुईतिहाई दम्भको सत्ता ढलेको छ । संसारलाई लज्जित पार्नेगरी भदौं २३ मा निर्दोष युवामाथि बर्बर दमन गरेर गोली वर्षाउने निरंकुशताको जरो ढलेको छ । अब हिजोको अतिवाद हारेको छ । दम्भ र घमण्ड हारेर भागेको छ । देशमा अब युगिन परिवर्तनको श्रीगणेश भएको छ ।
त्यसैले अब बाँकी नेपालको रक्षा, राष्ट्रिय सम्पतिको रक्षागर्ने दायित्व प्रदर्शनकारीहरुकै हो । कतिसम्म भने ढलेको सत्ताका सारथिलाई पनि रक्ष ागर्ने अब नयाँ पुस्ताले हो । जेनजी पुस्ताले हो । ईतिहासमा तिनले उनीहरुको पापकर्म अनुसारको सजाँय एउटा सभ्य राज्यको चरित्र र विशेषताबाट पाउने छन । अब उनीहरुमाथि भौतिक आक्रमण गर्नु हुदैन । हारेर, थाकेर, भागेर जानेहरुमाथि आक्रमण गर्नु हुदैन ।
त्यसैले, अहिले प्रदर्शनका क्रममा जे जति राष्ट्रिय सम्पतिमा आगजनी र तोडफोड भैरहेको छ, त्यो अविलम्व रोकिनुपर्छ । देशको सबैको साझा सम्पति नष्ट गर्ने क्रम रोक्नैपर्छ । नेताहरुको नीजि सम्पतिमाथि मात्र हैन, सार्वजनिक सम्पतिमा भैरहेको तोडफोड र आगजनी अविलम्व रोक्नैपर्छ ।
अब संयम हुने र विवेक प्रयोग गर्ने पालो जेनजीपुस्ताको हो । प्रदर्शनकारीको हो । जे जति आक्रमण र क्षती भयो, भयो । अब थप क्षती हुन दिनु हुदैन । नेताहरुमाथिको अमानवीय भौतिक कारवाही पनि रोकिनुपर्छ। प्रतिशोध र बदलाको भाव वा व्यवहार अब प्रदर्शनकारीका तर्फबाट हुनु हुदैन । प्रदर्शनकारीहरुका नाममा वा जेनजीका नाममा लुटपाट, आगजनी र तोडफोड वा भौतिक आक्रमण रोक्ने र रचनात्मक बन्ने समय हो अब ।
जेनजीका प्रतिनिधि १९ युवाको कत्लेआम गर्ने हत्यारा ओली सत्ताको दर्दनाक पतनपछि देशले नयाँ कोर्ष पक्रन समय लाग्छ । सत्ता र व्यवस्था नै ढलेको यो शून्यता र संक्रमणको समय हो । यसबेला संयमता, शान्ति र एकता प्रदर्शन गर्न जेनजीका पुस्ताका सबैको कर्तव्य हो । यो सबै प्रदर्शनकारीहरुको पनि दायित्व हो । तोडफोड, विनास आक्रमण्ण मात्रै यो प्रदर्शनको चरित्र हुनु हुदैन । अब सबैवीच शान्ति र अमनचयन हुनुपर्छ । भातृत्व र एकता हुनुपर्छ । शान्ति, सहकार्य र एकताका लागि संयम हुनु पूर्व शर्त हो ।
निरंकुश काँग्रेस एमालेको ओली सत्ता ढाल्नु एउटा उपलव्धी हो । विजय हो र शाहदत प्राप्त गर्ने १९ युवाको आत्मालाई सम्मान हो । तर आन्दोलनको काम ढाल्ने मात्रै हैन । ढालेपछि उठाउन सक्ने हिम्मत, जाँगर र योग्यता पनि देखाउनुपर्छ । विजयोत्सवको बेलामा विनासको लिला मच्चाउनु हुदैन । विनासकै मात्रै लिला मच्चाउनेहरुलाई पनि आयोजकहरुले रोक्नुपर्छ । प्रतिशोध र बदलाभावको हैन, अब संयम र धैर्यता देखाउनुपर्छ । अब बाहुबल हैन, आवेग हैन, विवेक , अशान्ति हैन, शान्ति, प्रतिशोध हैन, क्षमा, हिंसा हैन, शान्ति, एकता र सहकार्यका लागि सबैपक्ष तयार हुनुपर्छ । यही हो देशको खाँचो, अहिलेको संक्रमण अन्त्यको असली साँचो ।
थप यो पनिः
जेनजी आन्दोलन बन्यो जनआन्दोलनः नयाँ अन्तरिम सरकार नै अबको निकास
‘जेन–जी’ लाई बालेनको सन्देशः हत्याराको राजीनामा आइसकेको छ, अब संयमित हुनुहोला


