
टिप्पणी । उज्यालो नेपाल ।
भ्रष्टाचारको अन्त्य, शुसासन दिने शासकीय नेतृत्व र सामाजिक संजालको बन्देज खारेजी जस्ता सर्वस्वीकृत माग लिएर भदौं २३ गते सोमवार राजधानी काठमाण्डौं लगायत देशभरका शहरमा सुरु जेनजीको आन्दोलन संभवतः अब सकिएको हुनुपर्छ ।
२३ गते सरकारले गरेको आततायी दमनका कारण २४ गते आन्दोलन उग्र हुनु अस्वभाविक थिएन । परिणामतः काँग्रेस एमाले नेतृत्वको सरकार मंगलवारको सूर्यास्त अगावै सदाका लागि बिदा भयो । ईतिहासकै सबैभन्दा झुठ, दम्भी, गफाडी भ्रष्ट प्रधानमन्त्री केपी ओलीले सत्तात्याग गरेर सेनाको शरणमा भाग्नु पर्यो ।
अघिल्लो दिन १९ निर्दोष युवाको जीवनमा ताकी ताकी गोली हानेर हत्या नगरेको भए, केपी ओलीको सत्तायात्राको यो वियोगान्त अन्त्य नहुन सक्थ्यो । यहाँसम्म त जेनजीकै आन्दोलनको राप, ताप र चापको योगदान छ । यसमा जेनजी आन्दोलनकारी साधुवाद र बधाईका पात्र नै हुन ।
तर, प्रश्नहरु जीवित छनः
तर, मंगलवारको जेनजी प्रदर्शनले जुन स्तरमा सार्वजनिक सम्पत्ति खरानी बनायो, राजनीतिक दल, तिनका नेतामाथि भौतिक आक्रमण गर्यो अनि जसरी जेलहरु खाली गरायो, त्यसले भने आन्दोलनको लक्ष्य र प्राप्तीका आनका तान फरक परिस्थिति सृजना गरेको छ । स्वभाविकै हो, १९ जना युवाको ज्यानसंग साटिएको ओलीसत्ताको अन्त्यका लागि भएको आन्दोलनमा गीता पाठ गरिदैन्थ्यो । सामान्य क्षती प्राकृतिक नै हुन्थ्यो । तर, आन्दोलनले देश खरानी बनायो मात्रै हैन, जेल खाली गरायो ।
अदालतमा आगजनी गरयो, संसद भवन जलायो, ऐतिहासिक पुरातातिवक महत्वको सिंहदरवार जलायो । सिंहदरवारको आगोमा खरानी भएको सत्ताको हत्यारा मात्र थिएन, देशको अर्काईभ थियो । जसरी काँग्रेस एमाले सम्मिलित ओली सरकारको पतनमा १९ युवाको हत्याको कलंक लाग्यो, त्यसैगरी देशका साझा सम्पत्ति खरानी बनाउने कलंकको टीका त जेनजी आन्दोलनमाथि पनि लाग्यो नै । यो हुनुपर्ने भएन, नहुनुपर्ने दुष्कर्म भयो । यसमा जेनजीले गंभिर समीक्षा गर्नु नै पर्छ ।
ओली सत्ताले निर्दोष युवा मार्यो, जेनजीको आन्दोलनले ओली सत्ता ढाल्यो । अब भोलिका दिनमा १९ युवाको हत्या आरोपमा पदमुक्त ओली सत्ताका मतियारहरुलाई कानुनी कठघरामा उभ्याईनु नै पर्छ । यहाँसम्म जेनजी आन्दोलनकारीहरु सही छन, जितेका छन । यो जित रगतसंग साटिएको युवा पुस्ताको बलिदानको गाथा हो ।
रबिको रिहाई आन्दोलनको माग थियो की ?
तर, के अदालती प्रक्रियाबाटै जेलमा बन्दी रहेका रास्वपाका सभापति रबि लामिछानेलाई रिहा गर्नु जेनजी आन्दोलनको माग थियो ? अदालती प्रक्रियाबाट जेल परेका रबिले भोलि अदालतबाटै रिहा हुने मौका पाएमा कसैको टाउको दुख्नुपर्ने छैन । तर, सडक आन्दोलनको बलमा, बाहुबलको प्रदर्शनले, जेल घेरेर रबिले आफूमाथि लागेका आरोपबाट चुटकीका भरमा उन्मुक्ति वा सफाई पाएका हुन त ? के उसो भए अब रबि निर्दोष नै साबित भए त ? के यो सत्य हो र ?
सत्य त यो हो की रबि बन्दी नै हुन । उनले कथित गृहसचिव स्तरीय कागजात देखाउँदै कानुनी प्रक्रिया पुरयाएर छुटेको भन्दै दिएको सार्वजनिक वक्तव्यले नेपालको कानुनी शासनलाई गिज्याएको छैन त ? रबिले आन्दोलनको भेलमा आफूलाई निर्दोष प्रमाणित गराउदै लिएको उन्मुक्ति जेनजी आन्दोलनको कालो धब्बा हो । यो शुसासन र न्यायको वकालत गर्ने जेनजी मुभमेन्टमाथिको भद्धा मजाक पनि हो ।
अनि जेल खाली किन ?
अर्र्कोे महत्वपूर्ण कुरा, रबिको आडमा देशभरका जेल लगभग खाली गरिए । जेल जाने सबै दोषी थिए वा हुन्छन भन्ने जिकीर होईन नै, तर निश्चित कानुनी प्रक्रियाद्धारा कानुन अनुसार जेल बसेकालाई रबि छुटेकै आधारमा निस्कन दिने जुन प्रयाश भयो, यसले पनि त जेनजी आन्दोलनलाई प्रश्नको घेरामा राख्यो नी । राखेन र ? संसारमा यस्तो कहाँ हुन्छ, त्यो पनि शुसासनका लागि हुने आन्दोलनमा ?
रबिलाई नयाँ अन्तरिम सरकारले वा अबको अदालती प्रक्रियाले के गर्ला ? यो प्रतिक्षाकै विषय हो । तर, सडक आन्दोलनका बलमा, अदालतको आदेश अनुसारको कैदीबन्दीलाई यसरी छाड्ने नजिर गलत छ, गलत साबित हुनेछ । यो त मौकामा चौका हान्ने रबि, मौन समर्थन गर्ने जेनजी आन्दोलन जस्तो भएको छ ।
के अब रबिलाई कारगार खाली गराएको अभियोगमा अर्को मुद्धा लगाउने ढोका खुलेन ? कैदी फरार गराउने काण्डका नाईकेका रुपमा रबि भोलिका दिनमा कुनै पनि जनउत्तरदायी राज्य व्यवस्थामा अभिगोगका भागिदार नहोलान र ? रबिले जेलमै बस्नुपर्छ भन्ने कुतर्क गर्न पनि खोजीएको हैन, तर अदालतको बन्दी अदालतबाट मात्रै छुट्छन भन्ने त विश्वस्वीकृत कानुनी मान्यता हैन र ? कानुनी राज्यको वकालत गर्ने जेनजी मुभमेन्टले यो तथ्य अनदेख ागर्न मिल्ने छैन ।
रबिले दाबी गरे झैं उनी गृहमन्त्रालयको पत्रका आधारमा छुटेका हुन भने पनि, अदालतको आदेशले कैदमा जाने अनि गृहको पत्रका भरमा छुटने पनि कानुनी अभ्यास हो र ? संसारमा गृहमन्त्रालय कार्यकारी सरकारको एक ईकाई मात्र हो भने अदालत राज्यको अर्को जिम्मेवार निकाय हो । यसरी अदालतको क्षेत्राधिकारको विषयमा गृहले हस्तक्षेप गर्न पाउँछ त ? शुसासनको माग गर्दै आन्दोलनमा उत्रेको जेनजी आयोजकलाई सधै पछ्याईरहेने यी गम्भिर प्रश्नहरु हुन ।
यदि यसै हो भने त अब सिधै अदालतको अधिकार गृहमन्त्रालयमा र अदालतका श्रीमानहरुको अधिकार गृहसचिवमा सारिदिए भएन त ? अनि त्यसो गर्नु न्यायिक सर्वोच्चता र शुसानको मर्म र भावनानुरुप नै हुनेछ त ? खबरदार, जेनजी मुभमेन्ट, यहाँ को निस्कियो हैन, के थिति बसाउन खोजियो भन्ने त समीक्षा हुनै पर्छ, हुनैपर्छ ।
आक्रमण, प्रतिशोध, लुटपाट अपराध नै हुन
भदौं २४ को दिनाँकमा गरिएका सार्वजनिक सम्पत्तिमाथिको क्षती देशको ईतिहास, वैभव र धरोहरमाथिको अपुरणीय क्षती हो । आन्दोलनको व्यानरमा जेनजी अनि देशको सम्पाद र सम्पत्ति खरानी पार्ने जुन हर्कत भयो, यसको सोधभर्ना कसरी हुनेछ ? कस्ले गर्नेछ ? यो कसले, किन गर्यो ? यसबाट आन्दोलनको बदनामी भयो की भएन ? देशको क्षती भयो की भएन ? मकै पिसदा घुन पिसिएको रुपमा मात्र देशको सम्पदा र सम्पत्ति नष्ट भएको भनेर यी आपराधिक कर्मलाई ढाकछोप गर्न मिल्ने छैन, पाईने छैन ।
अनि काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतिमाथिको अभौतिक आक्रमणका जुन कारुणिक दृश्य देखिए, यसले पनि जेनजी आन्दोलनका दौरान भएका कमीकमजोरीको अर्को ठुलो संसारलाई उजागर गरेको छ । आफ्ना हजुरबा पुस्ताका देउवा माथिको आक्रमण भोलिका दिनमा छानबिनको मुद्धा हुनैपर्छ ।
देउवा जेनजीलाई यो स्तरको राजनीतिक स्वतन्त्रता दिने आन्दोलनका नायक हुन । उनका शासकीय भुलको बदलामा उनलाई विधि र थितिले दण्डित गर्ने हो, भीडले कुटेर घाईते बनाउने हैन । देउवा व्यक्ति होईन्न, संस्था हुन । उनको नीजि अधिकार कुनै पनि आन्दोलनले थिच्न, किच्न पाउदैन । काँग्रेसका शासकीय भुल होलान, छन, तर त्यसको सोधभर्ना देउवामाथिको भौतिक आक्रमण हुनु हुदैन्थ्यो । भैसकेपछि त्यसको छानबिन हुनुपर्छ । यसो भएमा मात्र जेनजी मुभमेन्ट प्रतिशोधी छैन, विवेकी छ भन्ने मान्यता स्थापित हुनेछ । हैन भने, यो त भुल भएकै छ । एक भुलले अरु भुलहरु थप्ने हो ।
देउवामाथिको साँघातिक हमला सभ्य युवापुस्ताका लागि अर्को कलंक हो, यो भीडको प्रतिक्रियामा सीमित राखिने घटना मात्रै हुन सक्दैन, बनाउनु हुदैन नै ।
भत्काएर मात्र, जलाएर मात्रै, लखेटेर मात्रै, हटाएर मात्रै आन्दोलनको प्राप्ती हुदैन । अबको बाटो के ? अबको कोर्ष के ? अबको नीति के ? अबको कार्यक्रम के ? नेता को ? नेतृत्व को ? त्यसको स्पष्टता बिना जनेजी आन्दोलनलाई प्रश्नहरुले छोडने छैन । यी प्रश्नहरुबाट भाग्ने छुट मुभमेन्टले पाउने पनि छैन ।
र, यी सबै धरातलीय यथार्थहरुको वीचमा पनि फेरि दोहोर्याएर भन्नै पर्छ, निरंकुश र हत्यारा ओली सत्ताको बिघटनमा जेनजीको योगदान स्तुत्य भए पनि खरानी भएको देशको सिंहदरवार, संसदभवन र अन्य कैयन संरचनाको भग्नावशेषले खोजिरहने छ हाम्रो ईैतिहास र वैभव । त्यसको सोधभर्ना कहिले, कसरी, कसले गर्ने ?
साथमा यो पनिः