+

१२ बुँदे सम्झौता कार्यान्वयन गर, दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर!

६ फाल्गुन २०८२, बुधबार २३:५८

विजय थापा, अभियन्ता ।

नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच भएको १२ बुँदे सम्झौता कार्यान्वयनमा प्रधानमन्त्री सुशीला कार्कीको गैरजिम्मेवार, उदासीन तथा जनविरोधी क्रियाकलापप्रति हाम्रो अभियानको तर्फबाट गम्भीर ध्यानाकर्षण गराउँदै कडा आपत्ति प्रकट गर्दछौं।

सम्झौता कार्यान्वयन नगरी उल्टै हाम्रो नेतृत्व दुर्गा प्रसाईंलाई अपहरण शैलीमा फागुन ४ गते मध्यरातमा पक्राउ/गिरफ्तारी गर्नु लोकतन्त्र, नागरिक अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको खुला आक्रमण हो। यस प्रकारको दमनकारी, प्रतिशोधपूर्ण र अधिनायकवादी कार्यको हाम्रो अभियान घोर भर्त्सना गर्दछ।

आर्थिक–वित्तीय शोषण, उत्पीडन, अन्याय तथा राज्य संरक्षित अपराधबाट सताइएका भुइँमान्छेहरूलाई रुवाएर, झुक्याएर, भ्रममा पारेर गरिने षड्यन्त्रकारी कथित चुनावलाई हाम्रो अभियान पूर्ण रूपमा अस्वीकार गर्दछ। यस्तो परिस्थितिमा सम्पूर्ण जनसमुदायलाई जनविरोधी कथित चुनाव बहिष्कार गर्न हार्दिक अपिल गर्दछौं।

दुर्गा प्रसाईंलाई कैद गरेर गरिने चुनाव कुनै पनि मूल्यमा स्वीकार्य हुन सक्दैन।

दुर्गा प्रसाईंको अविलम्ब रिहाइ नभएसम्म हाम्रो अभियान शान्तिपूर्ण तवरमा सडक संघर्षमा रहेको स्पष्ट जानकारी गराउँदछ।

यसै क्रममा हाम्रो अभियानलाई बदनाम गर्न विभिन्न घुसपैठ गरिन सक्ने र हाम्रो नाममा उच्छृंखल/अराजक गतिविधि गराइ तोडफोड,आगजनी गरेर हाम्रो शान्तिपूर्ण आन्दोलन लाई  कमजोर पार्ने षड्यन्त्र हुन सक्ने सम्भावनाप्रति हामी सम्पूर्ण जनसमुदायलाई गम्भीर रूपमा सचेत गराउँदछौं। यस्तो कुनै पनि गतिविधिमा संलग्न व्यक्ति/समूहलाई हाम्रो अभियानले आफ्नो मान्यता नदिने स्पष्ट गर्दछ।

त्यसैले, दुर्गा प्रसाईंलाई रिहाइ नगरिएसम्म सम्पूर्ण शैक्षिक संस्था, यातायात व्यवसायी साथीहरू, तथा आम नागरिकलाई शैक्षिक संस्था तथा यातायातका साधनहरू सञ्चालन नगरी आन्दोलनलाई सहयोग गरिदिन विनम्र तर कडा अनुरोध गर्दछौं।

यदि सरकारले जनभावना र लोकतान्त्रिक मूल्यलाई पुनः अपमान गर्दै दमन जारी राखेमा त्यसबाट उत्पन्न हुने समग्र परिस्थिति, जनआक्रोश तथा परिणामको पूर्ण जिम्मेवारी सरकार स्वयं हुने स्पष्ट चेतावनी दिन चाहन्छौं।

मागहरू

१) दुर्गा प्रसाईंको अविलम्ब रिहाइ गर!

२) १२ बुँदे सम्झौता तत्काल कार्यान्वयन गर!

३) रास्ट्रघाति,जनविरोधी कथित चुनाव मान्दैनौं !