काठमाडौं। नेपाली कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको आधिकारिकता विवाद र १५औं महाधिवेशनको कार्यतालिकासँग सम्बन्धित दुई फरक मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त मुद्दाहरूको सुनुवाइ तोकिएको हो।
बिहीबार समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको यो मुद्दामा आज विपक्षीका तर्फबाट बहस सकिएसँगै अदालतले फैसला सुनाउने सम्भावना छ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो। विशेष महाधिवेशनमार्फत गगनकुमार थापा सभापति र विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भएको समितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि देउवा पक्ष अदालत पुगेको हो।
देउवा पक्षले उक्त विशेष महाधिवेशन विधानसम्मत नभएको र निर्वाचन आयोगले गलत प्रक्रियाबाट आएको समितिलाई मान्यता दिएको जिकिर गरेको छ।
आजको इजलासमा गगन थापा-विश्वप्रकाश शर्माका तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्दै छन्। यसअघि देउवा पक्ष र सरकारी वकिलको बहस सकिइसकेको छ।
कांग्रेसको अर्को मुद्दा १५औं महाधिवेशनको कार्यतालिका कार्यान्वयन रोक्न माग गर्दै परेको रिटसँग सम्बन्धित छ। नयाँ कार्यसमितिले अघि बढाएको महाधिवेशनको प्रक्रिया र कार्यतालिकामाथि प्रश्न उठाउँदै परेको यो रिटमा पनि आजै सुनुवाइ भइरहेको छ।
आजको सुनुवाइपछि सर्वोच्चले दिने आदेशले नेपाली कांग्रेसको भविष्य र आगामी राजनीतिक दिशा तय गर्ने देखिन्छ। यदि अदालतले निर्वाचन आयोगको निर्णयलाई सदर गरेमा गगन थापा नेतृत्वको समितिको वैधानिकता थप बलियो हुनेछ। तर, यदि अदालतले अन्तरिम आदेश जारी गर्दै आयोगको निर्णय रोकिदिएमा कांग्रेस पुनः कानुनी र राजनीतिक अन्योलको भुमरीमा फस्ने देखिन्छ।
कांग्रेसका कार्यकर्ता र राजनीतिक वृत्तले सर्वोच्चको यस फैसलालाई निकै चासोका साथ हेरिरहेका छन्। अदालतको निर्णयले पार्टीभित्रको शक्ति सन्तुलन र १५औँ महाधिवेशनको भविष्य सुनिश्चित गर्नेछ।


