काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीमा एकदिवसीय र टि-२० का लागि छुट्टाछुट्टै कप्तान तोकेको छ । आगामी घरेलु शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गर्दै क्यानले वैशाखमा हुने संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको टी-२० र ओमान सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि फरक-फरक कप्तान तोकेको हो।
अब नेपालको टी-२० टोलीको नेतृत्व आक्रामक अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गर्नेछन् भने एकदिवसीय (ओडीआई) टोलीको कप्तानी रोहित पौडेलले नै सम्हाल्नेछन्। आगामी अप्रिल २० र २१ मा यूएईविरुद्ध टी-२० शृङ्खला हुनेछ ।
यसका लागि दीपेन्द्रको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ। टोलीमा कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा र लोकेश बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्लले स्थान बनाएका छन्। वैकल्पिक खेलाडीका रूपमा प्रतिस जिसी, नारायण जोशी र रसिद खानलाई राखिएको छ। एकदिवसीयका कप्तान रोहित टि-२० टोलीमै छैनन् ।
अप्रिल २५ देखि मे ५ सम्म हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिएको छ । टोलीमा आसिफ शेख, भीम सार्की, सोमपाल कामी, ललित राजवंशी, विनोद भण्डारी, अर्जुन कुमाल र करण केसी जस्ता अनुभवी खेलाडीहरू समावेश छन्। वैकल्पिकमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, ईशान पाण्डे र देव खनाल रहेका छन्।


