सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको घटनाको विरोधमा सोमबार सप्तरीको राजविराजमा विरोध प्रदर्शन गरिएको छ। सुनसरीसँग सिमाना जोडिएको छिमेकी जिल्ला भएकाले सप्तरी प्रशासनले त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ।
राजविराजको नेता चोकमा जम्मा भएका प्रदर्शनकारीहरूले टायर बालेर विरोध प्रदर्शन गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै चर्को नाराबाजी गरेका थिए।
स्थानीय युवा सुरेन्द्र दासको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा देवानगञ्ज घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कानुनी दायरामा ल्याउन, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन गम्भीर कदम चाल्न सरकारसँग माग गरिएको छ।
यसअघि सुनसरीको कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीका क्रममा दुई समूहबीच विवाद उत्पन्न भएपछि झडप भएको थियो। उक्त झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो।


