काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार (आज) बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा ६ वटा एजेन्डा तय भएको प्रवक्ता मनीष झाले जानकारी दिए।
सभापति लामिछानेले आह्वान गरेको सचिवालय बैठकमा पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ।
बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल‚ महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका विषयमा निर्णय, पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनका लागि बैंक खाता सञ्चालन‚ पार्टीको संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूमा गरिने मनोनयनका विषयमा सचिवालयले निर्णय गर्नेछ।
यस्तै रास्वपाले यसपटक नयाँ प्रयोग गर्दै ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’ लाई पनि बैठकको मुख्य एजेन्डा बनाएको छ। बैठकले सांसदहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँटलगायत विषयमा पनि निर्णय गर्नेछ।


