काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ।
काठमाडौं महानगरपालिका-१७ ईन्द्रायणी मन्दिरस्थित सडकमा बा.९० प ३०८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक काभ्रे, भुम्लु गाउँपालिका-५ घर भएका ४९ वर्षीय प्रेम लामाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।
पर्साको वीरगंज महानगरपालिका-२२ जगरनाथपुर ढाँटस्थित सडकमा बिआर ०६ जिडि ४९११ नम्बरको ट्रकले ना.४१ प १६६१ नम्बरको मोटरसाइकललाई शुक्रबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-२८ बगही बस्ने ३८ वर्षीया मुर्ती देवीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको बिएण्डबि अस्पताल ललितपुरमा उपचार भइरहेको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।
बाँकेको कोहलपुर नगरपालिका-११ कृषि चोकस्थित सडकमा बर्दियाबाट कोहलपुरतर्फ आउँदै गरेको बा.प्र.०३-००१ क ०६५३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-११ बस्ने हुम्ला घर भएका ३८ वर्षीय खेम राज शाहीको शुक्रबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।
मोरङको रंगेली नगरपालिका-७ बसपार्कस्थित सडकमा मे.४ प ९०१२ नम्बर र बिआर ३८ टि ०२८० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मे.४ प ९०१२ नम्बरको मोटरसाइकल चालक हाल नाम, थर र वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूषको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले बिआर ३८ टि ०२८० नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


