+

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आह्वान

२३ बैशाख २०८३, बुधबार १३:४३

काठमाडाैं। सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ। परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहको विशेष निर्देशनपछि परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो।

संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको औपचारिक पत्रअनुसार उक्त बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ।

यस पटकको बैठकको मुख्य कार्यसूची सर्वोच्च अदालतको रिक्त नेतृत्वका लागि ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ गर्ने रहेको छ। बैठकमा सहभागी हुनका लागि परिषद्का सदस्यहरू सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलाई आमन्त्रण गरिएको छ।

त्यस्तै, प्रतिनिधि सभाका विपक्षी दलका नेता भिष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई पनि बैठकमा उपस्थित हुन पत्राचार गरिएको सचिवालयले जनाएको छ।

लामो समयदेखि सर्वोच्च अदालतको नेतृत्व चयनको विषय चर्चामा रहेको बेला बोलाइएको यो बैठकलाई न्यायपालिकाको भविष्यका दृष्टिले निकै महत्त्वपूर्ण मानिएको छ।