+

पूर्णबहादुरले भने- प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परा तलमाथि नहोस्

२४ बैशाख २०८३, बिहीबार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई संवैधानिक परिषद्ले तलमाथि गर्न नहुने धारणा व्यक्त गरेका छन्।

प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्को बैठक बस्नुअघि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले झन्डै चार दशक लामो नियुक्तिको स्थापित परम्परालाई तोड्न नहुने धारणा राखेका हुन्।

‘संवैधानिक परिषद्का अध्यक्ष सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा परिषद्को बैठक आज बस्दै छ । जानकारीमा आएअनुसार सर्वोच्च अदालतको प्रधानन्यायाधीशको नियुक्ति आज गरिँदै छ। करिब चार दशकदेखिको प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई परिषद्ले तलमाथि नगरोस्,’ उनले भने।

प्रधानन्यायाधीश नियुक्तिको स्थापित परम्परालाई परिषद्ले तलमाथि गरे न्यायालयमा डरलाग्दो अस्थिरता आउने उनको भनाइ छ। यसले स्थापित लोकतान्त्रिक प्रणालीमा बहुआयामिक प्रभाव पार्ने खतरा उत्पन्न हुन सक्ने उनको चिन्ता छ। विशेष गरी परिषद्का अध्यक्षको गम्भीर ध्यानाकर्षण होस् भन्ने उनले धारणा राखेका छन्।