+

उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन : अर्थमन्त्री

२६ बैशाख २०८३, शनिबार १३:३३

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, “निजी क्षेत्रका व्यवसायीलाई थुन्ने धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन र होइन। तपाईहरु हल्लाको पछि नपर्नुस् तपाईहरु हाम्रो साझेदार हो।”

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.वाग्लेले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने योजनाको निजी क्षेत्र साझेदार रहेको पनि बताए । कार्यक्रममा बोल्दै उनले सरकारका पाँच प्राथमिकताहरू बारे पनि प्रस्ट्याए।

उनकाअनुसार सरकारको पहिलो प्राथमिकता सुशासन हो ।, दोस्रो, अर्थतन्त्रको पुनरुत्थान हो भने तेस्रो,मुलुकमा आन्तरिक र बाह्य कनेक्टीभिटी हो । यस्तै चौथो प्राथमिकता सामाजिक लगानी र पाँचौ पर्यटन, संसकृति र इतिहासमार्फत सौम्य शक्ति विस्तार हो ।

अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा मुलुक रहेको भन्दै उनले त्यसका लागि आगामी बजेटसम्म पर्खिन पनि उद्योगी व्यवसायीलाई आग्रह गरे । राजनीतिक स्थायित्व र इमानदारीपूर्वक देश अघि बढाउँदा छिमेकी मुलुक भारतले गरेको प्रगतिको उदाहरण दिंदै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्ने समय र अहिले नेपालको अर्थतन्त्रको केही सूचकहरु समान रहेको बताए ।

“सन् २०१४/०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रको केही सूचक नेपालकै अहिलेकै हाराहारी थियो। तर पछिल्लो १२ वर्षमा त्यो फड्को मारेर कहाँबाट कहाँ पुग्यो । हामी पनि सोहीबाटो लाग्ने बेला भएको छ,” उनले भने ।