काठमाडाैं। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ।
यस अधिवेशनको पहिलो दिनमै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मुख्य कार्यक्रम रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९५ बमोजिम अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन्।
संसद् सचिवालयले उक्त विशेष समारोहमा सहभागी हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई दिउँसो ३:४५ बजेअगावै उपस्थित हुन जानकारी गराइसकेको छ।
संयुक्त बैठकअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकहरू छुट्टाछुट्टै बस्ने तयारी छ। प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र मन्त्रिपरिषद् हेरफेर सम्बन्धी पत्रहरू पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यसैगरी सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गर्ने र नियमावलीअनुसार बाधा अड्काउ फुकाउ सम्बन्धी प्रस्ताव अनुमोदनका लागि पेस गरिनेछ। यसका साथै सरकारले जारी गरेका विभिन्न आठवटा अध्यादेशहरू पनि आजै दुवै सदनमा पेस गर्ने संसद् सचिवालयको तयारी छ।


