+

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

३० बैशाख २०८३, बुधबार १४:४३

काठमाडौँ । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। कपिलवस्तु, गोरखा, सर्लाही, तनहुँ र बागलुङमा भएका यी दुर्घटनामा परी बालकदेखि वृद्धसम्मले ज्यान गुमाएका हुन्।

कपिलवस्तुको वाणगंगा नगरपालिका–८ चप्परगाउँमा मंगलबार राति लु. प्र.०१–००१ ज ००१३ नम्बरको हाइसले बा. प्र.०२–०४८ प ७१२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक बझाङका २१ वर्षीय रविनगुर धामी रहेका छन्। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सामुदायिक अस्पताल कपिलवस्तुमा उपचार भइरहेको छ। प्रहरीले हाइस चालकलाई नियन्त्रणमा लिएको छ।

गोरखामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ। भिमसेन थापा गाउँपालिका–२ रातामाटेमा ना. ६ त ६०५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १३ वर्षीय बिक्रम बस्यालको मृत्यु भएको छ। मंगलबार घाइते भएका उनको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।

त्यसैगरी गोरखा नगरपालिका–१३ तीनकिलोमा बा. ९९ प ५५९ नम्बरको मोटरसाइकलको ठक्करबाट अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको छ। उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो।

सर्लाहीको रामनगर गाउँपालिका–५ बैजनाथ चोकमा ज. ७ प २६१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा भारतीय नागरिक ३५ वर्षीय गौरब पटेलको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अर्का एक जनाको भारतको सीतामढीमा उपचार भइरहेको छ।

यता तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनिबसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। प्र.३–०१–००१ प १६०९ नम्बरको मिनिबसले ठक्कर दिँदा ७० वर्षीय बिर्ख बहादुर चुमीको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले मिनिबस चालकलाई नियन्त्रणमा लिएको छ।

बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ध. १ त ५७७ नम्बरको ट्याक्टर अनियन्त्रित भई गोठ माथि खस्दा १६ वर्षीय सुशिल कुमार बिकको मृत्यु भएको छ। मंगलबार भएको दुर्घटनामा घाइते सुशिलको बुधबार बिहान बुर्तिबाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।