काठमाडाैं। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले आगामी जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्, जसअनुसार वैशाखको तुलनामा औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ।
बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर वैशाखको ४.४ प्रतिशतबाट घटेर जेठमा ४.३४३ प्रतिशत कायम भएको छ। त्यसैगरी, संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि ३.२२९५ प्रतिशतबाट थोरै घटेर ३.२०४ प्रतिशतमा झरेको छ।
बजारमा उपलब्ध विवरणअनुसार अधिकांश बैंकहरूले जेठका लागि आफ्नो ब्याजदर स्थिर राखेका छन् भने केही बैंकहरूले मात्र कटौती गरेका छन्। व्यक्तिगततर्फको ब्याजदर घटाउनेमा एनएमबि, एनआईसी एशिया, हिमालयन, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड र कुमारी बैंक रहेका छन्।
यीमध्ये एनआईसी एशिया, हिमालयन र नेपाल बैंकले सबैभन्दा धेरै अर्थात् ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्। अर्कोतर्फ, सिद्धार्थ बैंकले भने व्यक्तिगत निक्षेपको दरमा ०.०५ प्रतिशतको सामान्य वृद्धि गरेको छ।
संस्थागततर्फ सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो दरमा ०.५ प्रतिशत विन्दुले वृद्धि गरेको छ भने कुमारी र स्ट्याण्डर्ड चार्टर्ड बैंकले संस्थागत ब्याजदरमा उल्लेख्य कटौती गरेका छन्।
बैंकहरूमध्ये जेठ महिनाका लागि एनएमबि बैंकको ४.८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४.७५ प्रतिशत व्यक्तिगत ब्याजदर अन्यको तुलनामा उच्च देखिएको छ भने सबैभन्दा कम ब्याजदर कुमारी बैंकको ३.९६ प्रतिशत रहेको छ।
नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल एसबीआई, कृषि विकास, प्राइम कमर्सियल र एभरेष्ट बैंकले भने वैशाख महिनाकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन्। बैंकिङ प्रणालीमा रहेको तरलताको अवस्था र बजारको मागलाई मध्यनजर गर्दै बैंकहरूले यो सामान्य परिमार्जन गरेको देखिएको छ।



