काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सुकुमवासी बस्ती हटाउँदा भएका घटनाहरूको जवाफदेहिता गृहमन्त्री भएकोले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थिति अनिवार्य हुनुपर्ने माग गरेका छन् ।
बिहीबार बसेको समितिको बैठकमा बोल्दै नेता शाहीले सुकुम्बासी बस्ती व्यवस्थापनका नाममा प्रहरीले अमानवीय व्यवहार गरेको बताउँदै त्यस विषयमा गृहमन्त्रीले नै स्पष्टीकरण दिनुपर्ने बताए । ‘सुकुमवासीको समस्या समाधान गर्ने र प्रहरी परिचालन गर्ने जिम्मेवारी गृह मन्त्रालयको हो । सुत्केरी र नाबालकमाथि भएको व्यवहारको जवाफ हामीलाई कर्मचारीबाट होइन, गृहमन्त्रीबाटै चाहिन्छ,’ उनले भने ।
उनले सुकुमबासी बस्ती हटाउने क्रममा सुत्केरी महिलालाई घरबाट घिसारिएको र बालबालिकालाई पुस्तकसमेत ल्याउन नदिई उठाइएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै समिति सभापतिलाई यस विषयवस्तुलाई गम्भीरतापूर्वक लिन र ‘टालटुल’ गर्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे।


