+

मारवाडी समुदायमाथि भइरहेको अन्यायले स्वदेशी पूँजी निरुत्साहित : महन्थ ठाकुर

३१ बैशाख २०८३, बिहीबार १३:४९

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष एवं राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले मारवाडी समुदायमाथि अन्याय भइरहेको भन्दै स्वदेशी पूँजीलाई नै निरुत्साहित गरिएको बताएका छन्।

बिहीबार बसेको राष्ट्रियसभा समितिको बैठकमा बोल्दै उनले व्यवसायीमाथि बारम्बार कारबाही र पक्राउको वातावरण बनाइँदा स्वदेशी लगानीकर्ता डराएको टिप्पणी गरे। उनले भने, ‘मारवाडी समाज नामैले बदनाम भएको जस्तो बनाइएको छ। कहिले सम्पत्ति शुद्धीकरणको नाममा समात्ने, दुई दिनपछि छोड्ने, फेरि समात्ने भइरहेको छ। घर जलाउने, लुटपाट गर्ने जस्ता घटना पनि भए।’

उनले अर्थमन्त्रीले स्वदेशी, विदेशी र प्रवासी पूँजी भित्र्याउने कुरा गरिरहे पनि स्वदेशी व्यवसायीलाई नै त्रसित बनाइएको आरोप लगाए।

‘स्वदेशी पूँजी व्यवसायीहरूसँग छ, तर लगानी गर्न नपाउने, जेल हाल्ने अवस्था बनाइएको छ। धेरै व्यवसायी देश छोडेर गइसकेको सुनिन्छ। समस्या सहन नसकेर बाहिरिन बाध्य भएका छन्,’ भन्दै ठाकुरले चिन्ता व्यक्त गरे।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा मारवाडी समुदायको योगदान उल्लेख गर्दै उनीहरूलाई निरुत्साहित गरिए देशको आर्थिक विकासमा नकारात्मक असर पर्ने बताए।

‘शिक्षा, स्वस्थ्यको क्षेत्रमा मारवाडी समाजको योगदान छ। उनीहरुलाई नै भगाउने हो भने र आफ्नो थोरै, धेरै जे छ स्वदेशी पूँजी लगानी गर्न त्यसै डराएको छ,’ उनले भने।