+

प्रतिनिधिसभा : समसामयिक विषयमा ध्यानाकर्षण

४ जेष्ठ २०८३, सोमबार १६:०७
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसदहरूले आ–आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रका समस्यासहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।
सांसद खगेन्द्र सुनारले समाचार सङ्कलन गर्ने पत्रकारका लागि संसद्मा सहज रुपमा काम गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। उनले संसदीय समाचार सङ्कलनमा खटिएका पत्रकारलाई घाममा बस्नुपर्ने बाध्यता भएकाले आवश्यक व्यवस्था गर्न तथा पिउने पानी र शौचालयको व्यवस्था गर्न सम्बद्ध पक्षसँग अनुरोध गरे।
सांसद खेमराज कोइरालाले पशुधन र पशु अधिकारको रक्षा गर्न आगामी वर्ष विशेष बजेट उपलब्ध गराउन माग गरे। सांसद गणेश कार्कीले मोरङ क्षेत्र नं ३ को भूमि समस्या समाधान गर्न माग गरे।
सांसद गणेश धिमालले पर्यटकीयस्थल सिम्रौनगढको विकासका लागि सडक पूर्वाधारको माग गरे। सांसद गणेश पराजुलीले काठमाडौँ चक्रपथको काम लामो समयदेखि अलपत्र भएकाले यथासक्य छिटो अघि बढाउन अनुरोध गरे।
सांसद गणेश पौडेलले रौतहट क्षेत्र नं ४ मा बाग्मतीको कटानले गर्दा लालपुर्जा भएका जग्गा धनी पनि सुकुमवासी हुन बाध्य हुनुपरेको उल्लेख गर्दै  ऐलानी जग्गामा बसेकालाई स्थानीय तहले छोड भनी सूचना टाँस गरेर आतङ्कित तुल्याएको भनी दुःख व्यक्त गरे।
सांसद गणेशबहादुर विश्वकर्माले दासप्रथाको अवशेषका रुपमा रहेका हरुवाचरुवा आदिलाई १०० बुँदे कार्यक्रममा नराखिएकाले अहिले राजधानीमा आइपुगेको बताउँदै उनीहरूको समस्या समाधान गर्न माग गरे।
सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाको दुम्लिङमा झोलुङ्गे पुल निर्माण गर्न माग गर्दै भरपर्दाे सञ्चार सेवा सुनिश्चित गर्न माग गरे।
सांसद गीता गुरुङले पदीय दुरुपयोग एवम् भ्रष्टाचार गर्ने जो कोहीलाई पनि सख्त कारवाही गर्नुपर्ने धारणा व्यक्त गरे।
सांसद गीताकुमारी स्याङ्दानले आगामी वर्षको बजेट भुइँमान्छेलाई पनि छुने गरी ल्याउन  माग गरे। सांसद गोपाल शर्माले मध्यपहाडी लोकमार्गको रुकुम पश्चिम क्षेत्रका केही पुल अलपत्र भएकाले समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद गोविन्द पन्थीले बेरोजगार युवा रोजगारीका लागि विदेश गएर काम गर्दा विभिन्न खालका असहज अवस्थामा पर्दा त्यहाँस्थित नेपाली राजदूतावास मुकदर्शक बनेको आरोप लगाए।
सांसद गङ्गा छन्त्यालले अपाङ्गता भएका दीपक भण्डारीले सामाजिक सञ्जालमार्फत इच्छा मृत्युको माग गरेकाले त्यस्ता किन आयो भनी छानबिन गरेर समस्या समाधान गर्न माग गरे।
सांसद गङ्गादेवी श्रेष्ठले प्रधामन्त्रीले काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा राखेको ‘ग्रेटर नेपाल’को नक्सा कता गयो भनी प्रश्न गरेकी थिइन्।
सांसद चन्दनकुमार सिंहले कृषि प्रधान देश भनिए पनि किसान सिँचाइ, मल र बीउबाट पीडित भएको, खेतीमा भविष्य नदेखेर युवा विदेशिएकाले कृषिमा आवश्यक व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए।
सांसद कमल सुवेदीले दाङको टरिगाउँ विमानस्थल उपेक्षामा परेको बताउँदै त्यस क्षेत्रका सडक पनि दयनीय अवस्थामा रहेर दुर्घटना बढेकाले सडक बनाउन पर्याप्त बजेटको व्यवस्था गरियोस् भनी माग गरे।
सांसद कुलभक्त शाक्यले काठमाडौँको सामाखुसी, रानीबारी क्षेत्रमा चार मिटरको मापदण्डका नाममा  डोजर आतङ्क सिर्जना भएको भनी दुःख व्यक्त गर्दै  भूमिहीन सुकुमवासीका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरे।
सांसद ऐनबहादुर महरले सडक दुर्घटनामा परी हरेक दिन नेपालीको ज्यान गइरहेको प्रसङ्ग उल्लेख गर्दै सडक दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि पहल होस् भने।