+

बालेन सरकारप्रति रास्वपाकै सांसदको असन्तुष्टि- ‘परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन’

५ जेष्ठ २०८३, मंगलवार १४:२०

काठमाडौँ ।प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैली र संसदीय परम्पराको क्रमभंगताप्रति संसद्‌मा सत्तापक्षकै सांसदले गम्भीर प्रश्न उठाएका छन् ।

बजेटका प्राथमिकतामाथिको महत्त्वपूर्ण छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएपछि सांसद अमरेश सिंहले संसद्‌मा चर्को आक्रोश व्यक्त गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले नयाँ र परम्परा तोड्ने नाममा स्थापित संसदीय प्रणाली र संसद्को स्थापित सिस्टम नै भत्काउन खोजिएको भन्दै कडा आपत्ति जनाए ।

‘बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि सदनमा बस्ने संसद्को नियम र प्रणाली छ,’ सिंहले आक्रोश पोखे, ‘परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन । म पछिल्लो २० वर्षदेखि पहिलोपटक अर्थमन्त्रीबिनाको यस्तो छलफल देख्दै छु ।

नयाँको नाममा सबै चिज भत्काउने नहु्नेमा उनले जोड दिए ।

सर्लाहीको क्षेत्र नं ४ बाट सिंहले कांग्रेस सभापति गगन थापालाई पराजित गर्दै प्रतिनिधिसभाको यात्रा तय गरेका हुन् ।

यसैबीच, सांसद सिंहले मधेशको बहुमत भोट लिएर बनेको वर्तमान सरकारले बजेट, नीति र कार्यक्रममा मधेशी जनतालाई पूर्ण रूपमा उपेक्षा गरेको भन्दै चर्को असन्तुष्टि व्यक्त गरे । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ यो सरकारलाई सबैभन्दा बढी भोट मधेशले दिए पनि सरकारले मधेशको अधिकार र भावनालाई प्राथमिकतामा नराखेको उनको आरोप छ ।