काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाबाट आइतबार पारित गरिएको प्रतिनिधिसभा नियमावली, २०८३ प्रति गम्भीर असहमति जनाउँदै यसलाई लोकतान्त्रिक अभ्यास, संसदीय मर्यादा र विधिको शासनको भावना विपरीत भएको बताएको छ।
पार्टीका प्रवक्ता देवराज चालीसेद्वारा सोमबार जारी विज्ञप्तिमा नियमावली निर्माणको क्रममा विपक्षी दलहरूले उठाएका फरक मत, संशोधन प्रस्ताव, सुझाव तथा संवैधानिक प्रश्नहरूलाई बेवास्ता गर्दै बहुमतको बलमा नियमावली पारित गरिएको आरोप लगाइएको छ। कांग्रेसले सभामुखले समेत यस्तो प्रक्रियालाई प्रश्रय दिएको भन्दै आपत्ति जनाएको छ।
कांग्रेसले नियमावलीको प्रस्तावनामै ‘बाधा अड्काउ फुकाउने’ प्रावधान समावेश गरिएको विषयलाई अलोकतान्त्रिक अभ्यासको संज्ञा दिएको छ। लोकतन्त्रमा अपवादको व्यवस्था स्वीकार्य भए पनि अपवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्थापित गर्न खोज्नु उचित नभएको कांग्रेसको भनाइ छ।
विज्ञप्तिमा नियम २५९ मा समावेश गरिएको “प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि” भन्ने वाक्यांश संविधान, लोकतान्त्रिक मूल्य र कानुनी शासनको सिद्धान्तविपरीत रहेको उल्लेख गरिएको छ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायतका गम्भीर अभियोग लागेका सांसदहरूलाई निलम्बनबाट जोगाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको कांग्रेसको आरोप छ।
कांग्रेसले कुनै पनि नियमावली संविधानभन्दा माथि हुन नसक्ने र संसदले पारित गरेको ऐनलाई निष्प्रभावी बनाउन नसक्ने स्पष्ट गरेको छ। सार्वजनिक पद धारण गर्ने व्यक्ति वा सामान्य नागरिक सबैका लागि कानुन समान रूपमा लागू हुनुपर्नेमा पार्टीले जोड दिएको छ।
त्यस्तै, नियम १४० ले संविधान संशोधनसम्बन्धी संवैधानिक प्रक्रियाको अपव्याख्या गर्दै राष्ट्रिय सभाको विशेष अधिकारलाई कुण्ठित गर्ने प्रयास गरेको कांग्रेसको निष्कर्ष छ। उक्त व्यवस्था असंवैधानिक र अस्वीकार्य रहेको पार्टीले जनाएको छ।
कांग्रेसले नियमावलीमार्फत बहुमतको बलमा अल्पमतका तर्क, संवैधानिक मर्म र लोकतान्त्रिक मूल्यहरूको उपेक्षा गरिएको आरोप लगाउँदै संविधानको सर्वोच्चता, कानुनी शासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ।
“कानुन बनाउने संसदले आफ्ना लागि विशेष कानुनी संरक्षण खोज्नु आफ्नै मर्यादाको उपहास गर्नु हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाली कांग्रेसले नियमावलीका विवादास्पद प्रावधानहरू तथा त्यसलाई पारित गर्ने प्रक्रियाबारे आफ्नो असहमति कायम रहने जनाएको छ।


