काठमाडौं। राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाइएको हात्तीको दाह्रा चोरी गरेको आरोपमा प्रहरीले पाँच जना युवालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई दाह्राका टुक्राहरू र लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर नगरपालिका–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका–४ घर भई मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ र काठमाडौं महानगरपालिका–१७ का २७ वर्षीय आयुष महर्जन रहेका छन्।
यस्तै, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भई टोखा बस्ने २४ वर्षीय पुरन बोहरा र गोरखाको अजिरकोट गाउँपालिका–४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) शरद थापाका अनुसार मनमैजु क्षेत्रमा वन्यजन्तु हात्तीको दाह्रा बिक्री-वितरण हुन लागेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
‘प्रहरीले सुरुमा राजिव, आयुष र टेकप्रसादलाई नियन्त्रणमा लिएको थियो,’ एसपी थापाले भने, ‘उनीहरूले हात्तीको दाह्रालाई टुक्रा पारेर राजिवको घरको पूर्वतर्फ रहेको खाली जग्गामा गाडेर राखेको अवस्थामा फेला पारिएको हो।’ राजिवको घर खानतलासी गर्दा प्रहरीले हात्तीको दाह्राका दुई टुक्रा र लागूऔषध ‘ट्रामाडोल’ १५० ट्याब्लेट समेत बरामद गरेको छ।
पक्राउ परेका तीन जनासँगको सोधपुछका क्रममा टोखा बस्ने पुरन बोहराको पनि संलग्नता खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। पुरनकै बयानका आधारमा प्रहरीले मनमैजु बस्ने सन्तबहादुर भुजेलको कोठाको झ्यालबाट हात्तीको दाह्राका थप दुई टुक्रा बरामद गर्यो।
प्रहरीका अनुसार आरोपीहरूले चोरी गरेको हात्तीको दाह्रालाई आपसमा बाँड्नका लागि टुक्रा-टुक्रा पारेका थिए। पक्राउ परेका पाँचै जनामाथि लागूऔषध र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानका क्रममा बरामद गरिएको उक्त हात्तीको दाह्रा राष्ट्रपति कार्यालयबाट चोरी भएको पुष्टि भएको छ। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा नेपाली सेनाको कडा सुरक्षा घेराभित्र रहने शीतल निवासमा समेत प्रदर्शनकारी प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए।
त्यसबेला प्रदर्शनकारीले राष्ट्रपतिको कुर्सी र भित्तामा सजाइएका तस्बिरहरू समेत जलाएका थिए। सोही अस्तव्यस्तताको फाइदा उठाउँदै शीतल निवासको भित्तामा सजाइराखेका दुई थान हात्तीका दाह्रा चोरी भएको थियो। चोरी भएको करिब ९ महिनापछि प्रहरीले आरोपीहरूलाई फेला पार्न सफल भएको हो।


