काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ। अफ्रिकी मुलुकमा इबोला भाइरस सङ्क्रमण देखिएपछि त्यसको जोखिम नेपाल पनि हुनसक्ने भन्दै मन्त्रालयले सम्भावित जोखिम हुन नदिनका लागि उच्च सतर्कता अनपाएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।
उनका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र सीमानाकामा निगरानी तथा उच्च सतर्कता अपनाइएको बताए। ‘अहिले जहाँ सङ्क्रमण देखिएको त्यो देशभन्दा हामी टाढा रहेका छाँै। तर पनि हामी नेपालमा भाइरसको सङ्क्रमणको प्रवेश नगरोस् भनेर उच्च सतर्कता अपनाएका छौँ’, उनले भने, ‘स्वास्थ्यकर्मी अभिमुखीकरणसहित उपचार व्यवस्थापन तथा सङ्क्रमण नियन्त्रणका उपायबारे पनि छलफल गरिएको छ।’
उनले इवोला सङ्क्रमण भएको ठाउँमा जान सक्ने नेपालीको व्यवस्था र मापदण्डका विषयमा समन्वय भइरहेको बताए। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले अन्तरराष्ट्रिय सरोकारको जनस्वास्थ्य आपत्कालीन अवस्था घोषणा गरेको छ।
मन्त्रालयले सङ्क्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित प्रवेशविन्दुमा स्वास्थ्यकर्मी परिचालन गरी शङ्कास्पद बिरामीको परीक्षणसमेत गरिरहेको उनले बताए। नेपालमा अहिलेसम्म इबोला भाइरसको सङ्क्रमणको पृष्टि भएको छैन।
लक्षण
अचानक कडा ज्वरो आउने र अत्यधिक कमजोरी महसुस हुने, वान्ता हुने, पाखला लाग्ने र पेट दुख्ने, टाउको मासपेशी तथा घाँटी दुख्ने, छालामा डाबर देखिने, कलेजो तथा मिर्गौलाको कार्यमा असर पुग्ने, केही बिरामीमा आन्तरिक वा बाह्य रक्तश्राव हुने गर्दछ।


