काठमाडाैं। नेपाली बजारमा अघिल्लो दिन बढेको सुनचाँदीको मूल्यमा आज भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १० हजार १ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा झरेको छ।
यसअघि हिजो मात्रै सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९ सय रुपैयाँ पुगेको थियो। हिजोको तुलनामा आज सुनको मूल्यमा ठूलो गिरावट आएपछि बजारमा यसको प्रभाव देखिएको छ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट रेकर्ड गरिएको छ। महासंघका अनुसार चाँदीको भाउ प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँमा ओर्लिएको छ।
हिजो भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर ४ हजार ९२५ रुपैयाँ पुगेको थियो। पछिल्लो समय सुनचाँदीको मूल्यमा निकै ठुलो उतारचढाव आइरहेको बजार विश्लेषकहरू बताउँछन्।
नेपाली सुनचाँदी बजारको इतिहास हेर्ने हो भने गएको माघ १५ गते सुनको भाउ एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।
त्यस्तै, चाँदीको हकमा पनि माघ १५ गते नै इतिहासकै सबैभन्दा बढी प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो। त्यसको लगत्तै माघ १८ गते चाँदीको मूल्यमा इतिहासकै सबैभन्दा ठुलो गिरावट आउँदै तोलामा १५ सय ६५ रुपैयाँ घटेको रेकर्ड छ।


