+

विगतका सरकारले ल्याएका लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता नै छ :अर्थमन्त्री

२७ जेष्ठ २०८३, बुधबार १३:२६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले विगतदेखि सञ्चालनमा रहेका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले अघिल्ला सरकारले ल्याएका अधिकांश कार्यक्रमलाई यथावत् राखिएको बताए । विगतका कार्यक्रमको कुनै आधार नभएको वा गरिबमुखी नभएको निष्कर्षमा नपुगेसम्म ती कार्यक्रमलाई निरन्तरता दिनु स्वाभाविक भएको उनको भनाइ थियो ।

त्यस्तै कृषि क्षेत्रबारे बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले निर्वाहमुखी कृषिबाट व्यवसायिक तथा औद्योगिक कृषितर्फ रूपान्तरण गर्ने लक्ष्यसहित नयाँ कार्यक्रम ल्याएको बताए । उनले मल अनुदानका लागि ३२ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलाई पनि निरन्तरता दिइएको बताए ।

उनका अनुसार कृषिमा दुई करोड रुपैयाँसम्म लगानी गर्ने परियोजनालाई उत्पादनमा आधारित अनुदान उपलब्ध गराइने व्यवस्था गरिएको छ । विगतमा बीउ, मल तथा कृषि सामग्रीमा दिइने अनुदान वास्तविक किसानसम्म नपुगेको गुनासो आउने गरेको उल्लेख गर्दै उनले अब अनुदानलाई प्रत्यक्ष उत्पादनसँग जोड्ने नीति लिइएको बताए ।