+

प्रतिनिधिसभाः सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

२८ जेष्ठ २०८३, बिहीबार १५:२०

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै संसद्मा उठेका विषयमा सम्बन्धित मन्त्रालयले समाधान गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद ललिताकुमारीले बङ्गलादेशमा रहेका रोहिङ्ग्या नेपाल आएकाकाले उनीहरूलाई फर्काउन माग गरिन् । सांसद लक्ष्मीप्रसाद पोखरेलले शनिबार र आइतबार दुईदिने बिदा हटाउन माग गरे ।

सांसद लिमा अधिकारी आचार्यले विराटनगर एकीकृत बस्ती नाम मात्रको बनेको र यस्तो सुकुमवासीको आवास हुन नसक्ने भएकाले आवासको हक सुनिश्चित गरिनुपर्ने बताइन् । सांसद विपिनकुमार आचार्यले शून्य समयमा सांसदले उठाएका विषय तत्काल सम्बन्धित मन्त्रालयमा पठाएर समाधानको प्रयास हुनुपर्नेमा जोड दिए ।

सांसद शोभा खनालले प्रदेश अस्पताल गोरखामा स्वास्थ्य उपकरण पठाउन माग गरिन् । सांसद सन्दीप रानाले पाल्पामा औद्योगिक विकास हुँदा वातावरणमा समस्या आएको, सडक धुलाम्य भएर पशु चौपायाले घाँस खान नहुने अवस्था भएकाले औद्योगिक विकास गर्दा वातावरण नबिगार्न सरोकार भएका निकायको ध्यानाकर्षण गराए ।

सांसद समिना मियाँले स्वास्थ्य बीमा कार्यक्रम अझै उपक्षित भएकाले प्रभावकारी बनाउन माग गरिन् । स्वास्थ्यमा गरिएको खर्च लगानी भएकाले यसलाई प्रभावकारी बनाउनुपर्ने भनाइ उनले राखिन् ।

सांसद समीक्षा बास्कोटाले विगतमा भएका भ्रष्टाचारका काण्डको छानबिन गरी दोषीलाई कानुनी कारबाही गरिनुपर्ने बताइन् । सांसद सरस्वती लामाले सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर, गुम्बालगायत धार्मिक स्थलमा डोजर चलाएकामा विरोध गर्दै भूमिहीनलाई उचित व्यवस्थापन गर्न ध्यानाकर्षण गराइन् ।

सांसद सीता थपलियाले संसद्को गरिमा बढाउनेतर्फ सबै सदस्य गम्भीर हुनुपर्ने बताइन् ।

सांसद सुजाता तामाङले शिक्षालाई प्रकृति र कृषिसँग जोड्नुपर्ने बताउँदै बालबालिकाले प्रकृति, माटो र बाहिरी वातावरणसँग भिज्ने गरी पाठ्यक्रम निर्माण गरी अध्ययन, अध्यापनको व्यवस्था मिलाउन माग गरिन् ।

सांसद सुनिल केसीले बुधबार एक जना प्रतिपक्षी दलका नेताले प्रयोग गरेका शब्दप्रति विमति जनाउँदै त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरे । सांसद सुन्दर खरेलले मर्यादामा रहेर आफ्ना धारणा सदनमा प्रस्तुत हुन सुझाव दिए ।

सांसद सुशील खड्काले बागलुङको अस्पताललाई जनशक्ति र उपकरणको व्यवस्था गर्न माग गरे । सांसद सुशीला ढकालले रुग्ण उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिइन् भने सुषमा स्वर्णकारले स्थानीय पर्यटनलाई प्रवद्र्धन गर्नुपर्ने बताइन् ।

सांसद सोम शर्माले प्रहरी चौकी भवनको सुधार गरिनुपर्ने बताए । सांसद स्मृति सेन्चुरीले खरीढुङ्गा ‘म्याग्नेसाइट’ उद्योगको पुनःसञ्चालन गर्न माग गरिन् । दोलखाको सीमा नाका बिगु गाउँपालिकाको फलाक नाका खोल्न पनि उनले सरकारको ध्यानकर्षण गराइन् ।

सांसद हरिनादेवी कामीले बजेटमा बाल विकास शिक्षकको समस्या नसमेटिएकाले समावेश गर्न माग गरिन् । सांसद क्षितिज थेवेले २०८० असारमा ताप्लेजुङ बाढीमा बगेका ६५ घरका स्थानीयलाई पुनःस्थापना गर्न माग गरे ।

सांसद ज्ञानु पौडेलले नेपाली विद्यार्थी प्रकृति लम्सालको हत्याका विषयमा भारत उडिसा राज्य सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन सार्वजकि गराउन कूटनीतिक पहल गर्न माग गरिन् । सांसद श्रद्धा कुँवर क्षत्रीले महिलालाई सुरक्षित रुपमा बाँच्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) साजिदा खातुन सिद्धिकी श्रीधर पोखरेल, सुम्निमा उदास, सुरेशकुमार चौधरीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।