संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले सुडानमा युद्धका क्रममा ड्रोनको प्रयोग तीव्र रूपमा बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार सन् २०२६ को पहिलो पाँच महिनामा मात्र ड्रोन आक्रमणका कारण एक हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ ।
जेनेभास्थित संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई सोमबार सम्बोधन गर्दै टर्कले सुडानको द्वन्द्व झन् जटिल र घातक बन्दै गएको बताए । उनले भने, “सुडानमा द्वन्द्वको विस्तारसँगै ड्रोन युद्धको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ । जनवरीदेखि मे २०२६ सम्म हाम्रो कार्यालयले ड्रोन आक्रमणबाट मारिएका एक हजारभन्दा बढी नागरिकको विवरण अभिलेखीकरण गरेको छ ।”
सुडानमा नियमित सेना (साफ) र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच अप्रिल २०२३ देखि जारी युद्धमा ड्रोनको प्रयोग क्रमशः प्रमुख सैन्य रणनीतिको रूपमा विकसित हुँदै गएको छ ।
टर्कले देशभर बलात्कार तथा यौन हिंसाका घटना व्यापक रूपमा फैलिएको उल्लेख गर्दै नागरिकमाथि भइरहेका मानव अधिकार उल्लङ्घनप्रति गहिरो चिन्ता व्यक्त गरे ।
सुडानको द्वन्द्वले हालसम्म दशौँ हजार मानिसको ज्यान लिइसकेको छ भने एक करोड १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसङ्घले यस अवस्थालाई विश्वकै सबैभन्दा ठूलो विस्थापन तथा भोकमरी सङ्कटमध्ये एकको रूपमा वर्णन गरेको छ ।


