प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–५ काँटेमा आकस्मिक रूपमा आएको बाढीले बगाउँदा दुई दाजुभाइको ज्यान गएको छ। विद्यालयबाट घर फर्कने क्रममा मंगलबार दिउँसो भेलमा परेका स्थानीय मिलन खत्री र बिमल खत्रीको शव फेला परेको हो।
जनता प्राथमिक विद्यालय, काँटेमा अध्ययनरत ती दाजुभाइ विद्यालयबाट घरतर्फ जाँदै गर्दा अचानक आएको बर्खे भेलमा परेका थिए। कक्षा १ मा अध्ययनरत बिमल खत्रीको शव घटनास्थल जोगीपँधेरामै फेला परेको छ भने कक्षा ३ मा अध्ययनरत उनका दाइ मिलन खत्रीको शव घटनास्थलबाट करिब एक किलोमिटर तल खोलामा फेला परेको स्थानीयले जानकारी दिएका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजतलास सुरु गरेको थियो। वर्षापछि एक्कासि आएको भेलले बगाउँदा उनीहरूलाई जोगाउन कठिन भएको थियो।


