काठमाडौं । कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई जबर्जस्ती तानातान गर्ने तथा भाडादरमा मोलमोलाइ गर्दै बढी रकम असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार बिहान विशेष अभियान सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो। काउन्टर आसपासमा सक्रिय भई यात्रुलाई विभिन्न किसिमले हैरानी दिने कार्यमा संलग्न रहेकालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइने तयारी गरिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश सुवेदीका अनुसार यात्रुहरूलाई अनावश्यक दबाब दिने, सवारी साधनमा चढ्न बाध्य पार्ने तथा तोकिएकोभन्दा बढी भाडा असुल्ने प्रयास गर्ने गतिविधि बढेपछि विशेष निगरानीसहित कारबाही गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि सार्वजनिक हितविरुद्धको कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।


