+

पोखराबाट टाइम्स पाटी डटकम सुरु

१६ असार २०८३, मंगलवार २१:५८

पोखरा । टाइम्स मिडिया हाउस प्रालिको प्रस्तुति समाचार पोर्टल टाइम्स पाटी डटकम (www.timespati.com) सुरु भएको छ ।

मंगलबार आयोजित समारोहमा गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार बिमला भण्डारीले अनलाइनको शुभारम्भ गर्दै अहिलेको सूचना प्रवाहको युगमा भाइरल समाचारभन्दा भेरिफाइड समाचारलाई प्राथमिकता दिन सञ्चारमाध्यमलाई आग्रह गरिन् । उनले सत्य, निष्पक्ष र विश्वसनीय पत्रकारिताले मात्रै समाजमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरिन् ।

हिसान कास्की अध्यक्ष दिवाकर जैसीले ‘टाइम्स’ नाम आफैँमा विश्वव्यापी पहिचान बोकेको नाम भएकाले टाइम्स पाटी डटकम पनि भविष्यमा अन्तर्राष्ट्रियस्तरसम्म पुग्ने विश्वास व्यक्त गरे ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै टाइम्स पाटी डटकमले पर्यटन क्षेत्रको विकासमा प्रभावकारी योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

ग्रीन डेभलपमेन्ट बैंकका सहायक महाप्रबन्धक संयुक्त ढाख्वाले सत्य, तथ्य र विश्वसनीय समाचार प्रवाह गर्न यस्तो पोर्टलको आवश्यकता रहेको बताए ।

कार्यक्रममा टाइम्स मिडिया हाउस प्रालिले काठमाडौंस्थित जी टिभीसँग गण्डकी प्रदेश ब्युरोका रूपमा सहकार्य गरी गण्डकी प्रदेशका समाचार तथा कार्यक्रम प्रसारण गर्ने सहमति भएको जनाइएको छ ।

कम्पनी अध्यक्ष प्रेम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा टाइम्सका निर्देशक शिवराम तिवारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको उद्देश्य तथा सञ्चालनबारे कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील नेपालीले प्रकाश पारे ।