इरानका दिवङ्गत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि कार्यक्रमअन्तर्गत बुधबार इराकका पवित्र सहर नजफ र कर्बलामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा सहभागी हुन हजारौँ शोकाकुल मानिस नजफ पुगेका छन्।
इरानले शनिबारदेखि खामेनीको सम्मानमा ६ दिने सार्वजनिक अन्त्येष्टि कार्यक्रम सुरु गरेको हो। सोही कार्यक्रमअन्तर्गत बुधबार इराकमा एकदिने श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो। शिया समुदायका प्रमुख धार्मिक केन्द्रका रूपमा रहेका नजफ र कर्बलालाई यस कार्यक्रमका लागि विशेष महत्व दिइएको छ।
इरानले हालैको क्षेत्रीय युद्धपछि आयोजना गरिएको लामो अन्त्येष्टि कार्यक्रमलाई राष्ट्रिय एकता र शक्ति प्रदर्शनका रूपमा प्रस्तुत गरेको छ । उक्त युद्धमा खामेनीसहित उनका परिवारका केही सदस्यको मृत्यु भएको थियो।
इराकका विभिन्न क्षेत्रबाट आएका श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले खामेनीलाई क्षेत्रीय राजनीतिमा प्रभावशाली नेताका रूपमा स्मरण गरेका थिए। इरानी पवित्र सहर कोमबाट मङ्गलबार राति खामेनीको पार्थिव शरीर इराक ल्याइएको थियो। त्यसपछि बुधबार बिहान नजफस्थित इमाम अलीको पवित्र तीर्थस्थलमा श्रद्धाञ्जली अर्पण गरिएको थियो। चर्को गर्मीका बाबजुद हजारौँ श्रद्धालु पार्थिव शरीरको अन्तिम दर्शनका लागि भेला भएका थिए।
नजफपछि अन्त्येष्टि यात्रा करिब ६० किलोमिटर उत्तरमा रहेको कर्बलातर्फ लगिने कार्यक्रम छ। त्यहाँ इमाम हुसेन र अब्बासको पवित्र तीर्थस्थलमा श्रद्धाञ्जली अर्पण गरिनेछ। खामेनीको अन्तिम संस्कार बिहीबार इरानको उत्तरपूर्वी सहर मशहदस्थित उनको गृहक्षेत्रमा गरिने कार्यक्रम छ।
इराक र इरानबिच धार्मिक तथा राजनीतिक सम्बन्ध लामो समयदेखि घनिष्ठ रहँदै आएको छ। सन् २००३ मा सद्दाम हुसेनको शासन अन्त्य भएपछि दुई देशबिचको सम्बन्ध थप सुदृढ भएको मानिन्छ। हाल पनि इरानले इराकका केही राजनीतिक दल तथा शिया सशस्त्र समूहसँग निकट सम्बन्ध कायम राखेको छ।
यद्यपि, इराकले इरानसँगको सम्बन्धका साथै अमेरिकासँगको सहकार्यलाई पनि सन्तुलनमा राख्ने प्रयास गर्दै आएको छ। पछिल्ला क्षेत्रीय घटनाक्रमसँगै यो सन्तुलन कायम राख्ने चुनौती थप बढेको विश्लेषण गरिएको छ।


