काठमाडौं । राहदानी विभागले त्रिपुरेश्वरस्थित कार्यालय परिसर अगाडि बिहीबार आत्मदाहको प्रयास गर्ने व्यक्ति विभागको सेवाग्राही नभएको स्पष्ट पारेको छ।
बिहीबार दिउँसो करिब १:३८ बजे काठमाडौं महानगरपालिका–११, त्रिपुरेश्वरस्थित विभागको कार्यालय अगाडि एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै विभागले सो जानकारी गराएको हो।
विभागले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीका बयान र सम्बन्धित निकायबाट प्राप्त प्रारम्भिक अनुसन्धानका आधारमा ती व्यक्ति राहदानी वा कन्सुलर सेवा लिन विभागमा नआएको पुष्टि गरेको छ।
घटना लगत्तै प्रहरी प्रशासनको सक्रिय सहयोगमा घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको र हाल उनको स्वास्थ्य उपचार भइरहेको विभागले जनाएको छ। यद्यपि, ती व्यक्तिले किन र के उद्देश्यले आत्मदाहको प्रयास गरे भन्ने बारेमा कुनै आधिकारिक तथ्य सार्वजनिक भएको छैन।
यस घटनालाई लिएर केही भ्रम सिर्जना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै विभागले सम्बन्धित सबै पक्षलाई सत्यतथ्य सूचनामा मात्र विश्वास गर्न अनुरोध गरेको छ। परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले घाइते व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको थप अनुसन्धान र समन्वयका लागि सम्बन्धित निकायसँग आवश्यक सहकार्य भइरहेको जनाएको छ।



